शनिबार, वैशाख ८, २०८१
16:17 | २१:०२

कोरोना प्रभावित व्यवसायको सहयोगमा जुट्दै एनआरएनए यूके बिजनेस विभाग

नेपाली लिङ्क मे ५, २०२०

लण्डन । एनआरएनए यूकेको ‘बिजनेस प्रवर्द्धन विभाग’ को पहिलो बैठक ‘भिडियो कन्फ्रेन्स’ मार्फत आइतबार सम्पन्न भएको छ ।

विभागका संयोजक एवम् एनआरएनए यूके सचिव जीत रानाभाटको अध्यक्षतामा सम्पन्न बैठकले विभागलाई पूर्णता दिनुका साथै अन्य केहि निर्णय समेत गरेको छ ।

संयोजक रानाभाटका अनुसार बैठकले कोरोना महामारीका बेला समस्यामा परेका बेलायतस्थित नेपाली व्यवसायीहरुको सहयोगका लागि विभिन्न निर्णयहरु गरेको छ । जसको लागि आवश्यक सूचना सम्प्रेषण, समन्वय र संयोजनका लागि क्षेत्रगत रुपमा ‘फोकल पर्सन’ हरु तोकिएको छ ।

स्कटल्याण्डमा मनिष खत्री, मिडल्याण्डमा राजेशमणि लामिछाने र राम भट्टराई, ह्यारोमा काशीराज बोहोरा, केन्टमा भरत लामिछाने, नर्दन आयरल्याण्डमा लक्ष्मण चिमोरिया, अल्डरसटमा लक्ष्मी राई, वेल्समा मेमराज न्यौपाने र साउथ ईष्ट लण्डनमा जीत रानाभाट, राजु न्यौपाने र पुण्य रेग्मी ‘फोकल पर्सन’ तोकिएका छन् ।

बैठकले ‘कोभिड १९’ को चपेटामा परेका व्यवसायीको सहयोगका लागि विभिन्न सूचना, जानकारी र परामर्शसहितको श्रव्यदृश्य सामग्री उत्पादन गरी प्रचारप्रसार गर्ने, बेलायतभरका सम्पूर्ण नेपाली व्यवसायीको तथ्यांक संकलन गरी सहयोगको आवश्यकता पर्नेहरुको पहिचान गर्ने लगायतका निर्णय गरेको छ ।

त्यस्तै, नेपाली समुदायमा रहेका पाँचदेखि ७ जनासम्म वित्तीय क्षेत्रका विज्ञ (फाइनान्सियल एक्सपर्ट) समेटेर एक टिम बनाउने र सोहि टिममार्फत सहयोगको आवश्यकता पर्ने व्यवसायीलाई परामर्श उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।

साथै, महामारीका कारण व्यवसायहरु बन्द भएर समस्यामा परेका कामदारहरुको सहयोगका लागि एनआरएनए यूकेको सम्बन्धित विभागहरुसंग समन्वय गर्ने निर्णय विभागले गरेको छ ।

बैठकमा विभागका अधिकांश पदाधिकारीका साथै विशेष अतिथिका रुपमा एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराई सहभागी भएका थिए ।

बैठकले पूर्णता दिएको विभागमा संयोजक जीत रानाभाट र सचिव पुण्य रेग्मी छन् भने सदस्यहरुमा काशीराज बोहोरा (ह्यारो), भरत लामिछाने (केन्ट), लक्ष्मी राई (अल्डरसट), राजु न्यौपाने (साउथ ईष्ट लण्डन), राम भट्टराई (मिडल्याण्ड), मेमराज न्यौपाने (वेल्स), मनिष खत्री (स्कटल्याण्ड), लक्ष्मण चिमोरिया (नर्दन आयरल्याण्ड) र राजेशमणि लामिछाने (मिडल्याण्ड) छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू