बुधबार, कार्तिक १२, २०७७
02:53 | ०८:३८

पाँच वर्षमा ४ सय २ सम्पदा पुनःनिर्माण

रासस मे ५, २०२०

काठमाडौँ । पाँच वर्षअघिको भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवं पुरातात्विक महत्वका ४ सय २ सम्पदा पुनःनिर्माण सम्पन्न भएको छ ।

पाँच वर्षमा भूकम्पले क्षति पुर्याएका सम्पदामध्ये आधा पनि पुनःनिर्माण सम्पन्न हुनसकेको छैन । भूकम्प प्रभावित ३२ जिल्लाका ९२० सम्पदामा क्षति पुगेको तथ्यांक राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सार्वजनिक गरेको छ । हाल १ सय ४१ सम्पदा पुनःनिर्माणको क्रममा रहेको प्राधिकरणका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले जानकारी दिए ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले काठमाडौँ उपत्यकाभित्रका विश्व सम्पदा क्षेत्रमा सूचीकृत १ सय ७० सम्पदामा क्षति पुगेको थियो । उपत्यकामा क्षतिग्रस्त बनेकामध्ये १ सय १ अर्थात् ५९ प्रतिशतको पुनःनिर्माण सम्पन्न भएको छ । बाँकी ५४ अर्थात् ३२ प्रतिशत पुनःनिर्माणको क्रममा रहेको प्राधिकरणले जनाएको छ ।

भूकम्पले क्षति पुगेका सम्पदा पुनःनिर्माण पुरातत्व विभागले गरिरहेको छ । बजेट व्यवस्थापन र समन्वयको काममात्र प्राधिकरणले गरेको हो । धरहरा र रानीपोखरी भने प्राधिकरणले पुनःनिर्माण गरिरहेको छ । यसैगरी पशुपति क्षेत्रका सम्पदा भने पशुपति क्षेत्र विकास कोषले नै गरिरहेको पुरातत्व अधिकृत बाँस्कोटाले बताए ।

पशुपति क्षेत्रमा डेढ महिनादेखि पुनःनिर्माणका काम हुन नसकेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए । कोषले पाँच वर्षमा ५५ प्रतिशत पुनःनिर्माण सम्पन्न गरेको जनाएको छ । बन्दाबन्दी नसकिएसम्म काम शुरु गर्न नसकिने पनि उनले बताए ।

स्थानीय तह सञ्चालन ऐन २०७४ अनुसार उपत्यकाका केही नगरपालिकाले पनि सम्पदा पुनःनिर्माण गरिरहेका छन् । स्थानीय तहले सम्पदा पुनःनिर्माण गर्दा विभागको समन्वयमा गर्ने गरेका छन् । काष्ठमण्डप काठमाडौँ महानगरपालिकाको संयोजनमा पुनःनिर्माण समितिले बनाइरहेको छ । यसैगरी रातोमच्छिन्द्रनाथ पुनःनिर्माण ललितपुर महानगरपालिकाले गर्ने निर्णय प्राधिकरणलगायत सरोकार भएका निकायको बैठकले गरेको छ ।

पशुपति क्षेत्रका सम्पदा पुनःनिर्माण गर्दा पुरातात्विक विषय भने विभागले नै हेर्ने गरेको छ । काष्ठमण्डप, रानीपोखरी, धरहरा, रातो मच्छेन्द्रनाथ, पशुपति क्षेत्रका जयवागेश्वरी, विश्वरुप मन्दिरलगायत संरचना पुनःनिर्माणमा ढिलाइ भएको भन्दै सम्पदाप्रेमीले दबाब दिँदै आएका छन् ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीले पनि सम्पदा पुनःनिर्माणमा प्रभाव परेको छ । डेढ महिनादेखि धेरै सम्पदा पुनःनिर्माणको काम ठप्प छ । भूकम्पलगत्तै नाकाबन्दीका कारण पनि सम्पदा पुनःनिर्माणमा ढिलाइ भएको थियो ।

परम्परागत निर्माण सामग्री, काठ, कालिगढलगायत पाउन कठिन हुँदासमेत सम्पदा पुनःनिर्माणमा ढिलाइ हुने गरेको छ । सम्पदा भत्किनुअघिकै अवस्थामा पुनःनिर्माण गर्नुपर्ने भएकाले पनि काममा ढिलाइ हुने गरेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू