मंगलबार, १ जुलाइ, २०२५
19:10 | २३:५५

अनुग्रह निर्देशक सुमन राईले आरोहण गरे साढे ६ हजार मिटरको मेरा पिक

नेपाली लिङ्क जुलाइ १, २०२५

लन्डन- बेलायतस्थित नेपाली सफल व्यवसायी तथा सामाजिक अभियन्ता समुन राईले मेरा पिकको सफल आरोहण गरेका छन् ।

अनुग्रह ज्वेलर्स यूके तथा च्यारिटी संस्था अनुग्रह फाउन्डेसनका निर्देशक राईले ६ हजार ४ सय ७६ मिटर अग्लो मेरा पिकको सफल आरोहण गरेका हुन् ।

पाँच दिन लगाएर गत सोमबार बिहान ८ बजेर २० मिनेटको समयमा आफू सफलतापूर्वक शिखरमा पुगेको उनले नेपालीलिंकलाई बताए ।

राईले आफूद्वारा स्थापित अनुग्रह फाउन्डेसनका लागि च्यारिटी कोष जुटाउने र वातावरण संरक्षणका लागि चेतना फैलाउने दुई मुख्य लक्ष्यका साथ मेरा पिक आरोहण गरेका हुन् ।

उनले आफ्नो अभियानमा साथ र हौसला प्रदान गर्ने सबै शुभेच्छुकसंगै एनसिसीए यूके, एनसिसी यूके, तमुधिं यूके, किरात राई यायोख्या यूके, खोटाङ समाज यूके, थुलुङ राई समाजसहित सबै संघसंस्था र समुदायप्रति आभार प्रकट गरेका छन् ।

आफ्ना च्यारिटी अभियानलाई सहयोग जुटाउन उनले विश्वको सर्वोच्च शिखर सगरमाथा समेत आरोहणको योजना बनाएका छन् । अब पहिला ७ हजार मिटरमाथिको हिमाल चढ्ने र त्यसपछि सगरमाथा आरोहणको तयारी गर्ने उनको सोच छ ।

राई नेतृत्वको अनुग्रह ग्रुप बेलायतमा व्यवसाय र सामाजिक उत्तरदायित्व दुवैमा सक्रिय रहँदै आएको छ । समूह अन्तर्गत अनुग्रह ज्वेलर्स, न्यू अनुग्रह ज्वेलर्स, अनुग्रह बुलियन, अनुग्रह वाच लिमिटेड, अनुग्रह ट्राभल, अनुग्रह होम, अनुग्रह गोल्ड हाउस तथा अनुग्रह फाउन्डेसन सञ्चालनमा छन्।

सामाजिक सेवामा पनि उत्तिकै क्रियाशील अनुग्रह फाउण्डेशनले आफ्नो आम्दानीको १० प्रतिशत हिस्सा शिक्षा, स्वास्थ्य, खानेपानी, वृद्ध, बालबालिका तथा ग्रामीण विकासका क्षेत्रमा लगानी गर्दै आएको छ।

‘शून्यदेखि सगरमाथा सम्म’ भन्ने नाराका साथ सुरु गरिएको अभियान अन्तर्गत अबको चरण सगरमाथा आरोहण र वातावरणीय सचेतना फैलाउने अभियानमा केन्द्रित हुने राईले बताएका छन्।

उनले ग्लोबल वार्मिङविरुद्ध जनचेतना जगाउन, वातावरण जोगाउन र भविष्यका पुस्ताका लागि सुरक्षित पृथ्वीको सन्देश दिन आफ्नो अभियान केन्द्रित गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू