शुक्रबार, वैशाख ७, २०८१
06:30 | ११:१५

विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काइने

रासस मे ४, २०२०

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली

काठमाडौँ । सरकारले कोभिड–१९ का कारण रोजगार गन्तव्यमा अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् । 

श्रम रोजगार पत्रकार समूहले सोमबार  गरेको कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड–१९ का कारण रोजगारी गुमाएर तथा भिसा सकिएर अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउन सरकारले तयारी थालेको बताए । 

नेपालीलाई फर्काउने विषयमा अध्ययन गर्न परराष्ट्र मन्त्रालयको नेतृत्वमा सरोकारवाला सहभागी रहेको टोली गठन गरिएको उनको भनाइ छ ।

विदेशमा समस्यामा परेका नेपालीको तथ्यांक संकलन शुरु भइसकेको, तत्कालै ल्याउनुपर्नेको हकमा प्राथमिकताको आधार छुट्याइएको र आवश्यक प्रबन्ध मिलाएर स्वदेश फिर्ता गरिने मन्त्री ज्ञवालीले बताए ।

महामारीको बेला आपतमा परेका नागरिकलाई उद्धार गरेर स्वदेश ल्याउनु निकै चुनौतीपूर्ण रहेको भन्दै उनले भावनामा बगेर सरकारले केही गरेन भनेर दोषारोपण नगर्न पनि आग्रह गरे 

‘हाल अन्तर्राष्ट्रिय हवाई उडान बन्द छ, सबैलाई एकैचोटी नेपाल फिर्ता ल्याउन सक्ने अवस्था छैन’, मन्त्री ज्ञवालीले भने, ‘उडान खुलेसँगै विदेशमा रहेकालाई सुरक्षित र व्यवस्थित हुने गरी प्राथमिकताका आधारमा नेपाल ल्याउँछौं ।’

विदेशी भूमिमा रोजीरोटी गुमाएका नेपालीलाई खान बस्न तथा कोरोना संक्रमण भएकालाई उपचार गर्न सरकारले सम्बन्धित मुलुकसँग कूटनीतिक पहल गरिएको बताउँदै उनले गन्तव्य मुलुकमा रहेका दूतावासलाई चनाखो रहन निर्देशन दिइएको जानकारी दिए ।  

सम्बन्धित देशका सरकारसँग प्रधानमन्त्रीको तहमा कुराकानी भइरहेको र नेपालीलाई थप सहजीकरणका लागि आग्रह गरिएको मन्त्री ज्ञवालीले बताए ।

‘कतिपयको करार अवधि सकिएको छ, भिसा अवधि सकिएको छ, ती देशले तत्काल समाधान गरी भिसा थप गरिदिएका छन्’- उनले भने, ‘संक्रमितलाई आफ्ना नागरिकसरह उपचार सुविधा दिन अनुरोध गरिएको छ र ती देशले आफ्ना नागरिकसरह नै उपचार गरेका छन् । कहिं कतै असुविधा भएको जानकारी आएको छैन ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू