बिहीबार, कार्तिक ६, २०७७
22:30 | ०३:१५

लकडाउन डायरी

फडिन्द्र भट्टराई मे ३, २०२०

फडिन्द्र भट्टराई

कोरोना संक्रमण फैलिनबाट बचाउन विश्वका अधिकांश देशले लकडाउन गरेपछि मान्छेको समग्र दैनिकी फेरिएको छ । बिहान उठेदेखि साँझ सुत्नेबेला सम्मको हाम्रो समग्र जीवन तालिका नै उथलपुथल भएको छ ।

बेलायतमा पनि झन्डै ६ हप्तादेखि लकडाउनको दैनिकी हामीहरुले झेल्दै आएका छौं । मलाई लाग्छ अहिलेको तपाईं हाम्रो दैनिकी सामान्यतया उस्तै हो । लकडाउनका समग्र दिनहरु कसरी बित्दैछन् भनेर मैले गरेको एकदिनको टिपोट मात्रै हो यो । शेयर नगर्दा पनि हुने यो नितान्त व्यक्तिगत कुरा तपाईंहरु माझ राख्दाको क्षमायाचना भने पहिले नै गर्न चाहन्छु ।

०१ मे २०२०
हिजोराती अबेरसम्म निद्रा परेन । विस्तरामा पुगेपछि मोबाईल चलाउने बानीले पनि होला ढिला सुत्ने र ढिलै उठ्ने दिनचर्या बनेको छ आजकाल । आँखा खुल्नासाथ उही छामछुम पार्ने मोबाईल नै हो । यहि मोबाईल अहिले पुस्तक, टेलिभिजन, खेलौना सबै चिज बनेको छ । बिहान मोबाईल खोल्ने र नेपालको समाचार हेर्ने त पुरानै दैनिकी हो । कहिलेकाहिं अचम्म के लाग्छ भने समाचारको रुपमा बीबीसीको साइट खोल्ने र पढ्ने भनेको नेपाल र विदेशका नेपालीका सामुदायिक खबर पढिसकेपछि मात्रै हो । ईमेल इनबक्स खोलेर संस्थागत र व्यक्तिगत पत्रचारको छोटो क्रम पनि यतिखेरै चल्छ । कतिपय ईमेलहरुको जवाफ थाँती राख्दै झन्डै ४५ मिनेट समाचार र विचारको विचरण गरेपछि ओछ्यानले मेरो तौलको भारी बिसाउँछ अनी बाथरुमले पालो पाउँछ ।

समाचारहरुले उत्साहित र निरुत्साहित दुवै बनाउँछन् । नेपाली राजनीतिको फोहोरी खेलका समाचारको त कुरै नगरौं । स्थानीय रुपमै पनि मानवीय संवेदनालाई दुत्कारेर उम्रेका कतिपय घृणित सम्प्रेषणहरु देख्दा दिक्दार लाग्छ । अहिलेसम्म नेपालमा कोरोनाको न्यून प्रभाव देख्दा यस्तै रहोस् भन्ने कामना मिश्रित खुशी अव्यक्त मनमा छचल्किन्छ । हिजो बेलायती प्रधानमन्त्रीले कोरोनाको ‘पिक पोइन्ट’ पार भएको कुरालाई जोडेर संक्रमितको संख्या घट्दै गरेको खबरले भने केही आशावादी बनाएको छ ।

अधेरी र उजेली जस्तै व्यायाम गर्नु पनि मेरो लागि धरै तलमाथी भइरहने दिनचर्या हो । सायद शरीरलाई प्रतिरक्षात्मक बनाउनुपर्छ भन्ने मेरो चक्षुमा घुसेर होकी लकडाउन पछि बिहानी व्यायामको सवालमा उजेली मात्रै भएको छ । केहीबेरको कार्डियो र अर्धज्ञानको प्राणायामपछि नित्यकर्म शुरु हुन्छ ।

जीवनमा यात्रा गर्दा वा अन्य कुनै अप्ठ्यारो परिस्थिति बाहेक बिहानको नुहाई मलाई अनिवार्य हो । तत्पश्चात मेरो केही समय पुजापाठमा बित्छ । अध्यात्ममा म रमाउने मान्छे हुँ । मलाई लाग्छ मान्छेको जुनसुकै आस्थामा पनि एउटा विश्वासको शक्ति हुन्छ जसको मनोवैज्ञानिक प्रभाव हाम्रो जीवनमा पर्दछ । तसर्थ ज्ञान, ध्यानले एउटा मानसिक स्फुर्ती र शारीरिक ताजगी सिर्जना गरेको पाउँछु । ब्राह्मण त्यसमा पनि पण्डित परिवारको पृष्ठभूमि कारक भएर होला बिहानी पुजापाठको साइनो ब्रतवन्ध गरेको ८ बर्षे उमेर देखि नै छ । तर अध्यात्ममा सतहको पाखण्ड भन्दा गहिराईको वैज्ञानिकता खोज्न मन पर्छ । यसरी पुजापाठको प्रक्रियामा एकाग्रता र ध्यानको समिश्रणपछि फुर्ती शरीर लिएर चिया चुस्कीतर्फ लम्किनु पुरानै दिनचर्या हो ।
…… …….. …….

बिहानको ११ बजिसकेछ । लकडाउनपछि चियाको प्रतिस्थापन मह राखेको तातो कागतीपानीले गरेको छ । सीताको जोड छ यसमा । उनी सोच्छिन् मैले आफ्नो स्वास्थ्यमा सबैले भन्दा धेरै बिशेष ध्यान दिनुपर्छ । मेरो जीवनशैलीका उतार चढावहरुको साक्षी बसे पछिको निश्कर्ष होला भन्दै म सहर्ष कागतीपानी स्वीकार्छु । मेरो हिजो रातीकै घोषणा अनुसार आजको ब्रेकफास्ट मैले बनाउनुपर्ने थियो । मलाई खाना पकाउन मन पर्छ तर भान्सामा नछिरेको महिनौ भएको छ । एकातिर आफ्नो व्यस्तता र अर्कोतिर उनको छनौट । आजको बिहानी मेनु नेपाली स्टाईलको अंग्रेजी ब्रेकफास्ट । खुर्सानी, लसुन प्याज धनिया इत्यादीले बेक बिन्समा पनि ठाउँ पायो । पकाउनुमा पनि कला र मजा भेटाउँछु म तर उनी भन्छिन् किचन अलि भद्रगोल बनाउछु रे । छोराको र मेरो अनि छोरीको र आमाको किचन जब तुलना गरेर हेर्दा हामी अलि पछाडी नै हुनु कतै प्राकृतिक पनि रहेछ कि भन्ने लाग्छ ।
…….. ………… …………

अघिल्लो हप्तासम्म कस्तो राम्रो घाम लागेको थियो । तर अस्ति देखी मौसम बदलियो । बाहिर घाम ताप्दै हुने फोनकलहरु भित्र सरुवा भएका छन् । सामान्यतया मेरो पहिलो फोन कल नेपालमा आमालाई हुन्छ । लकडाउन पछि त कुनैदिन छुट्यो भने अर्को नलाग्दै आमा आफै फोन गर्नुहुन्छ ‘हिजो कुरा भएन यस्तो बेला मनमा कुरा खेलिरहेका हुन्छन्’, बेलायतमा कोरोना महामारीको दैनिक खबर सुनेपछिको आमाको छटपटी यसरी व्यक्त हुन्छ । ‘हामी सकुशल छौं, यहाँ उतातिर सुने जस्तो केही खतरा छैन’ भनेर आमालाई आश्वस्त तुल्याउनु अहिलेको अर्को दैनिकी बनेको छ । ‘यो कलियुगमा के रोग आयो यस्तो संसारलाई तर्साउने’, आमा प्रलयको संकेत गर्नुहुन्छ । ‘होईन होईन शास्त्रहरुको प्रलय आउन त हजारौं बर्ष बाँकी छ’, मैले आमाकै बुझाईमा समस्याको सामान्यीकरण गर्छु । आधाघण्टा बढी चल्ने भिडियोकलमा धेरै कुरा हुन्छन जीवन जगतका पनि, हाँसो ठट्टाका पनि, खुशी र गम पनि यस्तै यस्तै ।
…….. ………… …………

दिनको १ बजेको छ । घामपानी, घामपानी मै चलेको छ आजको अपरान्ह । अबको धेरै समय ल्यापटप र फोनबीचमै बित्छ । सामाजिक उत्तरदायित्व बोकेको पदमा बसेपछि क्रियाहरुको परिणाममा सन्तुष्ट वा असन्तुस्ट दुवै अवस्थामा निरन्तर क्रियाशील रहनु हाम्रो कर्तव्य हो । म पनि यसमै अलमलिएको छु । एनआरएनएसंग सम्बन्धित धेरै फोन कलहरुलाई इन्टरटेन गर्दा दिनको अधिकांश समय व्यतित हुन्छ । कतै सहयोगका कुरा, कतै राहतका कुरा, पत्राचारका कुरा, बैठक तयारी, सूचनाको सम्प्रेषण, संस्थागत गतिविधि तथा कार्ययोजनाका कुरा आदि इत्यादीले बिहान उठेपछिको समय धेरै नै लिएको हुन्छ । मध्यान्हपछि झन्डै सन्ध्या सम्मको अहिलेको समय यसमै पूर्णकालिन बनेको छ । प्रायजसो एउटा न एउटा अनलाईन मिटिंग परेकै हुन्छ तर आज कुनै मिटिंग छैन । त्यसैले केही फुर्सदिलो छु । अलिकति व्यक्तिगत रुपमा साथीहरु संगपनि गफिने मौका मिल्यो । आजकल ईष्टमित्र तथा भाईसाथीलाई फोन गर्न भ्याएको छैन । पिर लाग्छ यो बेला धेरैसंग बोल्ने, कुरा गर्ने समय हो भन्ने लाग्छ तर सकिरहेको हुंदिन । सकेसम्म सम्पर्कमा रहने कोशिश गर्छु । यसैबीचमा नेपालतिर दाजु दिदी तथा अन्य आफन्त संगपनि ‘क्याच अप’ हुन्छ । सीता, बिदुर र विद्याले बृहत्तर परिवारमा समूहगत कुराकानी गरेका हुन्छन, म पनि फुत्त मिसिएर कर्तव्यबोधको महसुस गर्छु ।

…….. ………… …………

दिनको ४ बजेको छ । अघि भर्खर घाम लागेको थियो फेरी बादल मडारिएर कति छिटो पानी परिसकेछ । हाम्रो नियन्त्रण बाहिरको यो प्रकृति पनि अचम्मको छ । यो मौसम बडो दिक्दार लाग्दो हुन्छ । जाडो, गर्मी, घाम पानि त सामान्य नै भयो प्राकृतिक विपत्ति समेतमा हाम्रो के नियन्त्रण छ र सिवाय साक्षी बस्नु बाहेक । अहिले लाग्छ यो भाइरसको महामारीको पनि त एक हिसावले मानव जाति साक्षी मात्रै त बस्ने भयो । कहिले यो रोग हराउला र पिंजडामा थुनिएका हामी फुक्काफाल बाहिर निस्किएको खुशी साट्न पाइएला भन्ने भावना सबैमा जस्तै आइरहन्छ ।

दैनिक बीबीसीले राख्ने मृतक संख्याको ‘अपडेट’ हेर्छु । आजपनि बेलायतमा ७३९ जनाले कोरोनाको कारण ज्यान गुमाएछन् । यो संख्या पहिले नजोडेको र अहिले जोड्ने गरिएको केयर होम समेतको गरेर हो । पैसा गने जस्तै मृत्युपनि सय र हजारमा दैनिक आउँदा जिउ सिरिंग हुन्छ । लाग्छ त्यो संख्या कुनै वस्तुको होइन, एक एक मान्छेको जीवनको हो । उनीहरु सबैको परिवारमा कस्तो वेदना होला अकल्पनीय कल्पनामा कहिलेकाहिं मन हराउँछ । सकारात्मकता उच्च मनोवलमा छ, यस्तो कुरामा धेरै सोच्नुहुदैन भन्दै मनको यात्रा अन्तै मोडेर हामीले यो बिर्सिने गर्छौ, म पनि त्यसै गर्छु । संख्यात्मक रुपमा रोग लागेर सन्चो भएकाहरु, रोग नै नलागेकाहरु जस्ता कुराहरु हेर्यो भने यति धेरै मृत्युको बीचबाट जीवन भेटाउने कोशिस गर्दछु ।
…….. ………… …………

बिहानको ब्रेकफास्ट हेभी भएपछि हाम्रो आजको लन्च स्किप भयो । टमाटरको चटनी र समोसाको खाजा अनि चियाको चुस्कीले शरीरमा साँझको ताजगी निकाल्यो । हिजोमात्र बिदुरलाई साइकलको ट्युब फेर्न भनेको थिएँ । गतवर्ष देखी थन्किएको साइकल तन्ग्रिएको देखेपछी मेरो हुटहुटी जागिहाल्यो । गार्डेनमा फुल रोप्दै गरेकी उनलाई अलिकति सघाएपछि मैले साइकल टिपेर बाहिर जान तम्सिए । दिनको एउटा कसरत गर्न घर नजिकैको पार्कमा जान सक्ने छुट सरकारले पनि दिएको छ । हिजोअस्ति हुने हिडाईको ठाउँ आज साइकल सवारीले लिने भयो । साइकलिंग मेरो एउटा रुची पनि हो । म साइकलमा पार्कको फन्को मारें । पार्कमा पातलो गरी केही मान्छेहरु हिडेका छन । तुलनात्मक रुपमा पार्कमा निकै कम गतिविधि देखिन्छ । मान्छेहरु तर्केर दुरी कायम गर्दै हिड्छन् । बेलायतमा जनताहरु अनुशासनमा छन् भन्ने कुराको छनक चाहे पार्क होस्, चाहे सुपरमार्केट जता गए पनि देख्न सकिन्छ । सरकारको निर्देशन राम्रै पालना भएको छ । पार्क चक्कर मारेर फर्किदा केही साथीहरुसंग पनि भेट भयो । हामीले टाढैबाट सन्चो विसन्चो गर्यौं । यो सिजनमा पहिलो दिनको छोटो साइकल यात्रा रमाइलो भयो ।
…….. ………… …………

हात धुन जीवनमा बल्ल सिके जस्तो लागेको छ । बाहिरबाट आएपछि अमेरिकामा कार्यरत भान्जा डाक्टर रामु खरेलले बनाएको एउटा गित गुनगुनाउदै २० सेकेन्ड हात धुने गर्छु ‘धुन्छौ हात साबुन र पानीले बन्छौं स्वस्थ्य यो राम्रो बानीले, मनको रहर कोरोना मुक्त होस् हाम्रो गाउँघर’ टिंगटिंग । आज डिनरमा चिकेन सुप, घरको बारीमा फलेको साग, चटनी सहित भात रहेछ । सबै परिवारसंगै बसेर डीनर गर्दा झन्डै साँझको ८ बजेको छ । अबको समय सामन्यतया मेरो लेखनको हो तर आज लेख्ने मुड छैन । अरु धेरै काम कुराले गर्दा मेरो लेखन अलि सुस्ताएको छ । लेखन सुस्ताएको मात्र हो मरेको त छैन नि भनेर चित्त बुझाउदै गर्दा झनै अल्छी बनिन्छ कि भन्ने लाग्छ ।

…….. ………… …………

फेरी उही विस्तरा ल्यापटप र मोबाईल । फोन, सामाजिक संजाल, ईमेल इत्यादी । बिहान जसरी दिन शुरु भयो उसैगरी दिनको अन्त्य हुदैछ । जीवनको अन्त्य मृत्यु भए जसरी सारा दिनको अन्त्य विस्तरा नै होकी जस्तो लाग्ने । दिनभरको मानसिक र शारीरिक यात्राले यहिनेर आएर विश्राम पाए जस्तो । तर यहाँपनि जीवनका रन्काहरु बाँकी भएर न होला निद्रादेवीको आगमन पूर्व घन्टौंको के न केको व्यस्तता ।
…….. ………… …………

श्रव्यदृश्यमा फिल्महरु भन्दा यथार्थपरक डकुमेन्ट्रीहरु हेर्न मन पर्छ । आज मैले दुबईको ‘जुमेरा पाल्मबिच’ जस्तो अति महत्वाकांक्षी परियोजना कसरी सफल रुपमा निर्माण सम्पन्न गरिएको थियो भन्ने हेरें । समुद्रमा ७० किलोमिटर वाटरब्रेक गरेर बनाईएको यो संरचनाको परिकल्पना र यसको निर्माण प्रक्रिया नै अद्भुत लाग्यो । एकातिर मान्छेले आँट्यो भने के नहुने रहेछ र भन्ने सोच्दै थिए भने अर्कोतिर जाबो एउटा भाइरसलाई ठेगान लगाउन नसक्ने मान्छेले जत्रो संरचना बनाए पो के भन्ने पनि लाग्यो । तातो सोयामिल्कको चुस्कीसंगै मेरो जिउले निद्राको आलस्य देखाउदै थियो । ल्यापटप थन्काएर मोबाईलले पालो पायो । सधैजसो कानमा ओशोको प्रवचन लगाएर सुन्दासुन्दै कतिबेला निदाएछु पत्तै भएन ।

(लेखक पत्रकार तथा एनआरएनए यूकेका महासचिव हुन् ।)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू