शुक्रबार, चैत १६, २०८०
18:49 | ००:३४

बेलायतमा विदेशी स्वास्थ्यकर्मीको भिसा स्वतः १ वर्ष थप गरिने

नेपाली लिङ्क अप्रिल ३०, २०२०

लण्डन । बेलायतमा ‘कोभिड १९’ विरुद्ध ‘फ्रन्टलाइन’ मा कार्यरत विदेशी स्वास्थ्यकर्मीहरुको भिसा स्वतः १ वर्ष थप हुने भएको छ ।

आउँदो अक्टोबर १ तारिखभन्दा अगाडि नै भिसा सकिने स्वास्थ्यकर्मीहरुको लागि निशुल्क रुपमा १ वर्ष भिसा थप गरिने घोषणा विहीबार गृहमन्त्री प्रीति पटेलले गरेकी छन् ।

यो सुविधा ‘नेशनल हेल्थ सर्भिस’ (एनएचएस) र ‘सोसल केयर’ मा कार्यरत स्वास्थ्यकर्मी र उनीहरुका परिवारका सदस्यलाई समेत लागू हुने उनले स्पष्ट पारेकी छन् ।

‘मिडवाइफ’, ‘रेडियोग्राफर’, ‘सोसल वर्कर’, ‘फार्मासिस्ट’ लगायत भूमिकामा कार्यरत ‘फ्रन्टलाइनर’ हरुलाई यो सुविधा मिल्नेछ ।

‘हामीले एनएचएस डाक्टर, नर्स र प्यारामेडिकको लागि यसअघि नै भिसा थप गर्ने व्यवस्था गरिसकेका थियौं’, मन्त्री पटेलले भनेकी छन्, ‘अब यो सुविधा एनएचएस र इन्डिपेन्डेन्ट सेक्टर दुवै मार्फत हेल्थ एण्ड केयरमा कार्यरत अरु सयौंको लागि पनि बिस्तार गरेका छौं ।’

यसरी भिसा थप गर्दा पूर्ण रुपमा निशुल्क हुने र ‘हेल्थ सर्चाज’ समेत नलाग्ने बताइएको छ । साथै, गत मार्च ३१ देखि आगामी अक्टोबर १ तारिखभित्र भिसा सकिने स्वास्थ्यकर्मीहरुको भिसा ‘अटोमेटिक’ थप हुनेछ ।

यो सुविधाबाट कमसेकम तीन हजार विदेशी स्वास्थ्यकर्मी र उनीहरुका परिवार लाभान्वित हुने सरकारको अपेक्षा छ ।

सरकारले ल्याएको नयाँ सुविधाबाट यहाँ कार्यरत केहि नेपाली स्वास्थ्यकर्मीहरु समेत लाभान्वित हुने ठानिएको छ ।

बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्याककले ‘कोभिड १९’ विरुद्धको लडाईंमा विदेशी स्वास्थ्यकर्मीहरुको उल्लेखनीय योगदान रहेको भन्दै भिसा स्वतः थपको सुविधाले उनीहरुलाई सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू