शनिबार, वैशाख ८, २०८१
03:20 | ०८:०५

बेलायतका व्यवसायले सरकारकै ग्यारेन्टीमा ५० हजार पाउण्डसम्मको ऋण पाउने

नेपाली व्यवसायी पनि लाभान्वित हुने

नेपाली लिङ्क अप्रिल ३०, २०२०

फाइल तस्विर: अर्थमन्त्री ऋषि सुनाकले साना व्यवसाय लक्षित सरकारको शत प्रतिशत ग्यारेन्टीसहितको ‘बाउन्स ब्याक लोन’ स्किम घोषणा गरेका छन् ।

लण्डन । कोरोना भाइरस महामारीका कारण संकटग्रस्त बनेका बेलायतका व्यवसायहरुलाई टिकाइराख्न यहाँको सरकारले विभिन्न सहायता उपलब्ध गराएको छ ।

यसैक्रममा दुई दिनअघि मात्रै साना व्यवसायहरुलाई लक्षित गर्दै सरकार आफै ‘ग्यारेन्टी’ बसेर ५० हजार पाउण्डसम्मको ऋण उपलब्ध गराउने नयाँ घोषणा गरिएको छ ।

अप्रिल २७ मा बेलायतका अर्थमन्त्री ऋषि सुनाकले घोषणा गरेको ‘बाउन्स ब्याक लोन’ स्किमअन्तर्गत साना व्यवसायहरुको लागि सरकारले शत प्रतिशत ग्यारेन्टी बसेर ऋण लिन सहयोग गर्ने भएको हो । जसअन्तर्गत व्यवसायहरुले २ देखि ५० हजार पाउण्डसम्मको ऋण प्राप्त गर्न सक्नेछन् ।

सरकार नै शतप्रतिशत ‘ग्यारेन्टी’ बस्नुका पछाडि व्यवसायहरुले ऋण प्राप्त गर्ने प्रक्रिया सहज बनोस् र ऋण उपलब्ध गराउने ‘लेण्डर’ लाई कुनै जोखिमको चिन्ता नरहोस् भन्ने उद्धेश्य छ ।

सरकारले नै पूर्ण ‘ग्यारेन्टी’ गरेपछि ऋण उपलब्ध गराउने बैंक तथा ‘लेण्डर’ हरुले पनि कुनै जोखिम उठाइरहनु पर्नेछैन । तर सरकार नै ‘ग्यारेन्टी’ बसेको भएपनि सम्बिन्धत व्यवसायले तोकिएको समयमा ऋण चुक्ता गराउनुपर्ने हुन्छ ।

‘बाउन्स ब्याक लोन’ अन्तर्गत ऋणको लागि आवेदन गर्ने व्यवस्था आउँदो मे ४ तारिखबाट शुरु गरिनेछ । आवेदन गरेपछि न्यूनतम २४ घण्टादेखि केहि दिनभित्रैमा रकम उपलब्ध गराउन सकिने बताइएको छ ।

यो ऋण लिएको पहिलो एक वर्ष कुनै ब्याज वा अन्य शुल्क लाग्नेछन् । यो ऋण चुक्ता गर्ने अवधि ६ वर्षको हुनेछ । पहिलो एक वर्षपछि कुन दरमा ब्याज लगाइने भन्नेबारे पूरै विवरण सरकारले अझै सार्वजनिक गरिसकेको छैन ।

यो स्किमका लागि  ‘इलिजिबल’ हुन कुनै पनि व्यवसायले बेलायतमै बेस भएको, कोरोना भाइरस महामारीका कारण प्रभावित बनेको र सन् २०१९ को डिसेम्बर अन्त्यसम्म प्रभावित भइनसकेको लगायतका शर्तहरु पूरा गर्नुपर्नेछ ।

नेपाली व्यवसायी पनि लाभान्वित हुने

लण्डनस्थित ‘एसएनपी प्लस एकाउन्टेन्ट्स एण्ड ट्याक्स एड्भाइजरर्स’ का  निर्देशक एवम चार्टर एकाउन्टेन्ट समिरनाथ प्याकुरेल

लण्डनस्थित ‘एसएनपी प्लस एकाउन्टेन्ट्स एण्ड ट्याक्स एड्भाइजरर्स’ का  निर्देशक एवम चार्टर एकाउन्टेन्ट समिरनाथ प्याकुरेल सरकारले घोषणा गरेको ‘बाउन्स ब्याक लोन’ को सुविधाबाट यहाँस्थित नेपाली व्यवसायीहरु पनि लाभान्वित हुनेमा आशावादी छन् ।

हुन त यसअघि पनि कोरोनाबाट प्रभावित व्यवसायहरुको लागि सरकार ८० प्रतिशत ग्यारेन्टी बसेर ऋण उपलब्ध गराउने ‘सिबिआइएलएस’ (कोरोना भाइरस बिजनेस इन्टरप्सन लोन स्किम) घोषणा भइसकेको थियो । तर त्यसअन्तर्गत आवश्यक ऋण प्राप्त गर्न साना व्यवसायहरुलाई असहज भएको ठानेर नयाँ ‘स्किम’ ल्याइएको चार्टर एकाउन्टेन्ट प्याकुरेलको भनाइ छ ।

‘अब यो नयाँ ‘स्किम’ मार्फत ब्युटी पार्लर, रेष्टुरेन्ट, पब लगायतका साना व्यवसायहरुलाई पनि सहजै ऋण प्राप्त गर्ने अवसर सिर्जना भएको छ’, प्याकुरेल भन्छन्, ‘जसबाट बेलायतमा नेपालीहरुले सञ्चालन गरेका धेरै व्यवसायले पनि अब लाभ लिन सक्नेछन् ।’

नयाँ ‘स्किम’ कत्तिको प्रभावकारी हुन्छ भनेर हेर्न भने यसको कार्यान्वयन चरण पर्खिनुपर्ने उनी बताउँछन् ।

यसअघि साना ठूला सबै व्यवसायहरुको लागि घोषित ‘सिबिआइएलएस’ (कोरोना भाइरस बिजनेस इन्टरप्सन लोन स्किम) मा पहुँच बनाउन नसकेका साना व्यवसायको लागि यो ‘बाउन्स ब्याक लोन’ स्किम विशेष उपयोगी हुने प्याकुरेलको विश्वास छ ।

‘सरकार शत प्रतिशत ग्यारेन्टी बसेपछि लेण्डरहरुले पनि ढुक्क भएर ऋण प्रदान सक्छन् । साथै, यो ऋणका लागि आवेदन गर्ने प्रक्रिया पनि छोटो र सरल बनाउने भनिएका कारण व्यवसायहरुलाई धेरै झञ्झटबिना नै ऋण प्राप्त गर्न सजिलो हुने देखिन्छ’, प्याकुरेलले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू