शुक्रबार, चैत १६, २०८०
18:19 | ००:०४

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २६ हजार बढी

नेपाली लिङ्क अप्रिल २९, २०२०

लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको कुल संख्या २६ हजार नाघेको छ ।

बेलायतमा पहिलोपटक ‘केयर होम’ लगायतका ‘कम्युनिटी’ मा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्यालाई समेत समावेश गर्दै यो तथ्यांक सार्वजनिक गरिएको हो ।

‘पब्लिक हेल्थ इंग्ल्याण्ड’ बाट जारी तथ्यांकअनुसार मार्चको शुरुदेखि हालसम्म बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको जम्मा संख्या २६ हजार ९७ पुगेको छ । यो संख्यामा मृत्युअघि कोरोना भाइरसको संक्रमण ‘पोजिटिभ’ देखिएकाहरु मात्र समावेश गरिएको छ ।

त्यस्तै, बेलायतमा अहिलेसम्म कुल १ लाख ६५ हजार २ सय २१ जनामा कोरोना संक्रमण भेटिएको छ ।

यो तथ्यांकपछि विश्वमै हालसम्म कोरोनाबाट सबैभन्दा बढी मृत्यु हुने मुलुकमा अमेरिका र इटालीपछिको तेस्रो स्थानमा बेलायत परेको छ । कोरोनाको संक्रमणबाट तीन दर्जन नेपालीहरुको पनि मृत्यु भइसकेको पुष्टी भइसकेको छ । कोरोनाबाट विश्वभरमा हालसम्म झन्डै २ लाख २५ हाजार भन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ ।

यसैबीच, सरकारको दैनिक ‘कोरोना ब्रिफिङ’ मा परराष्ट्रमन्त्री डोमिनिक राबले अझै बेलायतले महामारीको ‘पिक पोइन्ट’ पार गरिनसकेको बताएका छन् ।

‘हामी पिक पोइन्टतर्फ उन्मुख छौं, तर अझै पार गरिसकेका छैनौं । त्यसैले हामीले सोसल डिस्टेन्सिङको उपायलाई निरन्तरता दिइराख्नुपर्नेछ’, मन्त्री राबले  भने ।

‘केयर होम’ मा ज्यान गुमाउने समेतको तथ्यांक समावेश गर्न थालिएपछि अब बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेहरुको बारेमा बढी स्पष्ट जानकारी मिल्ने अपेक्षा गरिएको छ ।

‘पब्लिक हेल्थ इंग्ल्याण्ड’ ले पनि कोरोनाबाट हुने मृत्युको अभिलेख राख्ने प्रक्रिया थप व्यवस्थित गरिएको बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू