बिहीबार, वैशाख १३, २०८१
16:52 | २१:३७

घरकै सदस्यबाट संक्रमणको जोखिममा छन् बेलायतमा गोर्खाहरु

नेपाली लिङ्क अप्रिल २९, २०२०

फाइल तस्विर : बेलायतमा बसोबासरत पूर्व गोर्खाहरु

लण्डन । लण्डनको हन्सलोमा बस्दै आएका भूतपूर्व गोर्खा दोर्जे तामाङ र उनकी पत्नी मीनमाया तामाङ कोरोना भाइरसको डरलाग्दो संक्रमणबाट भर्खर तंग्रिन थाल्दैछन् ।

करिब ७७ वर्ष उमेरका उनीहरु दुवैले कोरोनाबाट पार लाग्नका लागि कठिन संघर्ष गर्नुपर्यो । मीनमाया त झन अवस्था गम्भीर बनेर अस्पतालसम्मै पुगिन् पनि ।

जीवनको आशा नै मार्ने चरणसम्म पुगेका उनीहरुलाई अब भने बाँचिन्छ कि भन्ने आशा पलाउन थालेको छ ।

कोरोना महामारीको हल्ला चल्न थालेपछि महिनौंदेखि घरभित्रै थुनिएर बस्दा पनि तामाङ दम्पतिलाई किन कोरोनाको संक्रमण भयो त ? कारण उनीहरुकै छोरी सम्झना तामाङ हुन् ।

लण्डनको एक केयर होममा कार्यरत छोरी सम्झना कामको शिलशिलामा कोरोना संक्रमितहरुको सम्पर्कमा पुगिन् । उनलाई संक्रमण भयो तर उनलाई संक्रमणको लक्षणहरु देखिनुअघि नै उनीबाट बाबुआमालाई पनि संक्रमण हुन पुग्यो । वृद्धावस्था र कमजोर स्वास्थ्यअवस्थाका बाबुआमालाई संक्रमणले बढि गलायो ।

तामाङ परिवारको यो केस केबल उदाहरण मात्र हो । घरबाहिरै ननिस्किने वृद्धावस्थाका धेरैजसो गोर्खाहरुलाई काम वा अन्य शिलशिलामा घर बाहिर निस्किने छोराछोरी र परिवारका अन्य सदस्यबाट संक्रमण सर्ने समस्या अहिले साझा जस्तै बनेको छ ।

बेलायतमा अस्पताल, केयर होम लगायतमा काम गर्ने पूर्व गोर्खा परिवारका सदस्यहरु धेरै छन् । कामकै शिलशिलामा कोरोना संक्रमितहरुको सम्पर्कमा पुग्ने उनीहरुलाई संक्रमण भएपछि संगै घरमा बस्ने वृद्धावस्थाका बाबुआमालाई पनि संक्रमणको उच्च जोखिम सिर्जना भएको छ ।

गेसोका उपसभापति धर्म तामाङको अनुभवमा पनि धेरै पूर्व गोर्खाहरु आफ्नै छोराछोरी र परिवारका सदस्यबाटै संक्रमित बनेका छन् ।

गोर्खा भूतपूर्व सैनिक संघ ( गेसो) का उपसभापति धर्म तामाङको अनुभवमा पनि धेरै पूर्व गोर्खाहरु आफ्नै छोराछोरी र परिवारका सदस्यबाटै संक्रमित बनेका छन् ।

‘युवा उमेरका छोराछोरी काममा जानेआउने गर्छन् । बाहिरी सम्पर्कमा रहने उनीहरुलाई संक्रमण भयो भने संगै घरमा बस्ने वृद्ध बाबुआमा जोगिने सम्भावना नै रहन्न’, तामाङले भने, ‘हाम्रो समुदायमा यस्ता धेरै केसहरु हामीले देखिसकेका छौं ।’

छोराछोरी नेपालमै हुने र बेलायतमा बुढाबुढी मात्रै बस्ने गोर्खाहरुको संख्या पनि उल्लेख्य छ । तर उनीहरु सबैजसो अरुसंग घर ‘शेयर’ गरेर बस्ने गरेका छन् । जसकारण घरमा संगै बस्ने अन्य मानिसहरुबाट पनि उनीहरुलाई संक्रमणको जोखिम छ ।

डाक्टरको सुझाव

डा सुदर्शन गुरुङ

किंग्स कलेज अस्पताल, लण्डनमा कार्यरत डा सुदर्शन गुरुङ बेलायतमा रहेको गोर्खा समुदायसंग राम्रैसंग परिचित छन् । उनकै नजरमा पनि गोर्खाहरु आफ्नै कारणले भन्दा पनि बढी घरबाहिर निस्किने परिवारका अन्य सदस्यका कारण संक्रमित बन्ने गरेका छन् ।

‘यदि तपाईंको घरमा वृद्ध र बढी जोखिम भएका बाबुआमा हुनुहुन्छ भने तपाईं उहाँहरुको नजिक पर्दै नपर्नुस्’, डा गुरुङको सुझाव छ, ‘काम वा बाहिरबाट आउनेबित्तिकै राम्रोसंग नुहाउने, बाहिर जाँदा लगाएको कपडा फुकालेर अर्को लगाउने, घरमै बस्दा पनि मास्क लगाउने, घरका अरु सदस्यसंग २ मिटरको दूरी कायम गर्ने, छुट्टै कोठामा बस्ने लगायतका सावधानी अपनाउनुहोस् ।’

‘हेल्थ केयर’ मा कार्यरत सबैले आफूलाई संक्रमण भइसकेको छ भन्ने ठानेर परिवारका अन्य सदस्यलाई कसरी जोगाउनेतर्फ सोच्नु जरुरी रहेको उनको भनाइ छ । ‘मास्क’ को प्रयोगले संक्रमित व्यक्तिबाट अरुमा संक्रमण फैलिन रोक्छ भन्नेमा पर्याप्त प्रमाणहरु जुटिसकेको भन्दै उनले ‘हेल्थ केयर’ मा कार्यरत सबैलाई घरमा बस्दा अनिवार्य रुपमा ‘मास्क’को प्रयोग गर्न सल्लाह दिएका छन् ।

कतिपय संघसंस्था र स्वयमसेवकहरुले गोर्खाहरुलाई राहत बाँड्दा समेत थप सतर्कता आवश्यक ठान्छन् डा गुरुङ ।

‘कसैले तपाईंको लागि खानेकुरा, औषधि ल्याएर आएको छ भने पनि तपाईले उनीहरुसंग निश्चित दूरी राख्नुहोस् । अरुले ल्याइदिएको खानेकुरा केहि दिन प्रयोग नगर्ने र प्रयोग गर्नुअघि राम्रोसंग सफा गर्दा पनि संक्रमणको जोखिम कम गर्न सकिन्छ’, उनको सुझाव छ ।

लण्डनस्थित नेपाली दूतावासका अनुसार बुधबारसम्म बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपाली तीन दर्जन पुगिसकेका छन् । जनसमध्ये २७ जना भूतपूर्व गोर्खा र उनीहरुकै परिवारका सदस्य छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू