शनिबार, वैशाख १५, २०८१
04:37 | ०९:२२

कहिले खुल्छ बेलायतको ‘लकडाउन’ ?

नेपाली लिङ्क अप्रिल २६, २०२०

लण्डन । कोरोना भाइरसको संक्रमण फैलिन नदिने प्रयासमा बेलायत सरकारले जारी गरेको ‘लकडाउन’ अहिले पाँचौं सातामा छ ।

पहिलो चरणमा लागू गरिएको तीन साताको ‘लकडाउन’को समिक्षापछि सरकारले कम्तीमा अरु तीन साताको लागि भन्दै ‘लकडाउन’ लम्ब्याउने निर्णय गरेको थियो ।

बेलायतबासीले ‘लकडाउन’ व्यहोर्न थालेको पाँच साता बित्नै लाग्दा समेत यो अवस्था अझै कति लम्बिन्छ र कहिलेदेखि ‘लकडाउन’ खुल्छ भनेर अनुमान गर्न गाह्रो छ ।

सरकारले यति नै समयपछि लकडाउन खोल्ने वा खुकुलो पार्ने भनेर कुनै ठोस मिति बताएको नभएपनि ‘लकडाउन’ हटाउनका निम्ति तयार हुनुपर्ने विभिन्न पाँच आधार भने सार्वजनिक गरेको छ ।

प्रधानमन्त्रीको समेत कार्यभार सम्हालिरहेका बेलायतका परराष्ट्रमन्त्री डोमिनिक राबले निम्नानुसारका पाँच आधार निर्माण भएपछि मात्रै ‘लकडाउन’ हटाउन वा खुकुलो पार्न सकिने स्पष्ट पारेका छन् ।

१ एनएचएसको क्षमतामा विश्वास

बेलायत सरकारले ‘लकडाउन’ हटाउने अवस्था सिर्जना हुनका लागि सबैभन्दा पहिलो आधार यहाँको ‘नेशनल हेल्थ सर्भिस’ (एनएचएस) को क्षमतालाई बनाएको छ ।

‘एनएचएस’ले देशभरमा पर्याप्त रुपमा ‘क्रिटिकल केयर ट्रिटमेन्ट’ उपलब्ध गराउन सक्छ भन्ने आत्मविश्वास नभएसम्म सरकारले ‘लकडाउन’को अन्त्यबारे सोच्न नसक्ने बताएको छ ।

२ ‘पिक पोइन्ट’को समाप्ती

बेलायतमा कोरोना महामारीको ‘पिक पोइन्ट’ पार नभएसम्मका लागि लकडाउन हटाउने सम्भावना नरहने सरकारले बताएको छ । जसका लागि दैनिक मृत्युको संख्या निरन्तर रुपमा ओरालो लाग्नु आवश्यक हुन्छ ।

त्यसैले दैनिक रुपमा भइरहेका मृत्युहरुमा स्थायी र स्थिर गिरावट नआउँदासम्म सरकारले ‘लकडाउन’ हटाउनेछैन ।

३ संक्रमण दरमा गिरावट

‘लकडाउन’को अन्त्यका लागि अर्को चुनौती कोरोना भाइरसको संक्रमण दर हो । देशभरमा संक्रमण दरमा उल्लेख्य गिरावट आएपछि मात्रै सरकारले ‘लकडाउन’बारे पुनर्विचार गर्नेछ । जसका लागि संक्रमणको दर घटेर नियन्त्रण गर्न सकिने तहमा आउनु आवश्यक छ ।

४ पर्याप्त परीक्षण र ‘पिपिई’ क्षमता

बेलायत सरकारले अहिले पनि पर्याप्त मात्रामा कोरोना भाइरसका परीक्षणहरु गराउन नसकेको आलोचना खेपिरहेको छ । त्यस्तै, ‘फ्रन्टलाइन’मा खटिएका स्वास्थ्यकर्मीहरुको लागि व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) हरु पनि पर्याप्त नभएको गुनासो छ ।

जबसम्म सरकारसंग आवश्यकताअनुसारको परीक्षण गराउन सक्ने क्षमता र पर्याप्त ‘पिपिई’ रहेको अवस्था बन्दैन, तबसम्म उसले ‘लकडाउन’ हटाउने निर्णय गर्नेछैन ।

५ दोस्रो ‘पिक पोइन्ट’को जोखिम बाँकी नरहनु

माथि उल्लेख गरेअनुसार ‘एनएचएस’को क्षमता पर्याप्त हुने, ‘पिक पोइन्ट’ पार हुने, संक्रमणदर घट्ने, परीक्षण क्षमता र ‘पिपिई’ पर्याप्त हुने लगायतका आधार मात्रै ‘लकडाउन’ अन्त्यको लागि पर्याप्त हुने छैनन् ।

बेलायतमा कोरोना महामारीको फेरि अर्को ‘पिक पोइन्ट’ आउन सक्ने कुनै जोखिम बाँकी नरहेको विश्वास सरकारलाई हुनु आवश्यक हुनेछ । त्यसपछि मात्रै ‘लकडाउन’ हटाउन सकिने सरकारको भनाइ छ ।

‘लकडाउन’ हटाउने अवस्था आइसकेपछि पनि कसरी हटाउने भन्नेबारे बेलायत सरकारले ‘एक्जिट नीति’ अझै सार्वजनिक गरेको छैन । सरकारले शुरुमा ‘लकडाउन’ खुकुलो पार्दै जाने र बिस्तारै पूरै ‘लकडाउन’ अन्त्यको अवस्थासम्म पुग्ने नीति अवलम्बन गर्ने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू