शुक्रबार, चैत १६, २०८०
09:07 | १४:५२

बेलायतमा विदेशी विद्यार्थीले ‘फुलटाइम’ काम गर्न पाउने

नेपाली विद्यार्थीहरु पनि लाभान्वित हुने

नेपाली लिङ्क अप्रिल २१, २०२०

फाइल तस्विर

लण्डन । कोरोना भाइरसको संक्रमणका कारण निम्तिएको महामारीका बेला बेलायतमा अध्ययनरत विदेशी विद्यार्थीहरुले ‘फुलटाइम’ काम गर्ने छुट पाउने भएका छन् ।

‘होम अफिस’ले हालै जारी गरेको नयाँ निर्देशिकाअनुसार विदेशी विद्यार्थीहरुले यसअघि तोकिएको २० घण्टाभन्दा बढि समय काम गर्न पाउने भएका हुन् ।

कोरोना महामारीको कारण विश्वविद्यालयमा पठनपाठन बन्द रहने अवधिसम्मको लागि ‘अस्थायी व्यवस्था’ गरिएको होम अफिसले बताएको छ ।

नयाँ व्यवस्था बेलायतको ‘नेशनल हेल्थ सर्भिस’ (एनएचएस) मा डाक्टर, नर्स र प्यारामेडिकका रुपमा कार्यरत रहनेहरुको लागि मात्र नभएर अन्यत्र काम गर्ने सबै विदेशी विद्यार्थीको हकमा लागु हुनेछ ।

होम अफिसको नयाँ निर्णयबाट बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरु पनि लाभान्वित हुने ठानिएको छ ।

‘विद्यार्थी भिसामा रहेका धेरै नेपाली एनएचएसमा कार्यरत छन् । होम अफिसको नयाँ व्यवस्था एनएचएसबाहेक अरु ठाउँमा काम गर्ने विद्यार्थीमा पनि लागू हुनेछ । ‘त्यसैले यसबाट झन् धेरै नेपाली विद्यार्थीहरुले फाइदा लिन सक्नेछन्’, शैक्षिक परामर्शदाता कम्पनी ‘युनी ल्याडर’का निर्देशक खणेश खड्का बताउँछन् ।

तर २० घण्टा भन्दा थप समय काम शुरु गर्नुअघि आआफ्नो विश्वविद्यालयमा सम्पर्क गरेर आवश्यक परामर्श लिन विद्यार्थीहरुलाई खड्काको सुझाव छ ।

कोरोना भाइरसको महामारीको कारण अहिले बेलायतमा अध्ययनरत दशौं हजार विदेशी विद्यार्थी अलपत्रजस्तै बनेका छन् ।

विश्वविद्यालयहरुले ‘फेस टु फेस’ पठनपाठन अनिश्चितकालका लागि बन्द गरेका छन् भने ‘लकडाउन’का कारण विद्यार्थीहरु आफ्नो देश फर्किन समेत पाएका छैनन् ।

धेरै विश्वविद्यालयहरुले अनलाइनमार्फत ‘भर्चुअल अध्ययन’ को व्यवस्था भने शुरु गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू