शुक्रबार, वैशाख ७, २०८१
18:09 | २२:५४

कुन अवस्थामा पुग्छन् बिरामी ‘भेन्टिलेटर’मा ?

'भेन्टिलेटरमा राखिएका बिरामी बाँच्ने सम्भावना कम'

डा रमेश खोजु अप्रिल १९, २०२०

नेप्लिज डक्टर्स एशोसिएसन यूकेका अध्यक्ष डा रमेश खोजु

कोरोना भाइरसका कारण बेलायतमा मात्र हजारौंले ज्यान गुमाएका छन् । हाम्रै नेपाली समुदायका कतिपय सदस्यहरुको समेत कोरोनाकै संक्रमण भएर मृत्यु भएको छ ।

अहिलेसम्मको तथ्यांकलाई हेर्दा धेरै उमेर भएका, ‘फ्रायल्टी स्कोर’ (जोखिमपूर्ण अवस्थाको सूचक) धेरै भएका, दिर्घ रोगले सताएका व्यक्तिहरुमा मृत्युदर बढि देखिएको छ ।

अहिलेसम्मको तथ्यांकअनुसार कोरोना भाइरसको संक्रमण हुने ८० प्रतिशत मानिसहरु घरमै ठीक हुन्छन्, उनीहरु अस्पताल जान पर्दैन । अस्पताल जाने २० प्रतिशतमध्ये ५ प्रतिशत मात्रै आइसियूमा जाने अवस्थामा पुग्छन् । आइसियूमा पुग्नेमध्ये पनि सबै भेन्टिलेटरमा जाँदैनन् ।

अहिलेसम्म मृत्यु भएकाहरु सबैले ‘आइसियू’मा उपचार पाएका छैनन् । किनकी उपचार पाउनुभन्दा पहिले नै कतिको ज्यान गइसकेको हुन्छ भने कति बिरामीहरुलाई आइसियूमा उपचार गर्दा फाइदा नहुने भएकोले ‘वार्ड’मै राखेर उपचार गरिन्छ ।

‘कोभिड- १९’ले मुख्यत श्वासप्रश्वासको प्रक्रिया अथवा फोक्सोमा असर गर्छ जसले गर्दा रगतमा अक्सिजनको मात्रा कम हुन जान्छ । त्यसकारण, उपचारका क्रममा पहिलो प्राथमिकता भनेको अक्सिजन दिनु हो । बिरामीहरुलाई अक्सिजन दिने पनि फरक फरक तरिका हुन्छन् । जस्तै, साधारण ‘अक्सिजन मास्क’ लगाएर वा ‘सिप्याप’ (कन्टिनियस पोजिटिभ एअरवे प्रेसर) मार्फत ।

साधारण ‘अक्सिजन मास्क’ वार्डमै दिन सकिन्छ । ‘सिप्याप’ भने वार्ड वा ‘आइसियू’ दुवैमा दिइन्छ । ‘सिप्याप’ले पनि काम नगरेको अवस्थामा बिरामीको श्वासनलीमा ‘ट्युब’ राखेर ‘भेन्टिलेटर’मा राखिन्छ । अवस्था हेरेर सबै बिरामीलाई ‘भेन्टिलेटर’मा राखिंदैन । किनकी ‘भेन्टिलेटर’का बिरामी बाँच्ने सम्भावना कम रहन्छ ।

अहिलेको तथ्यांकअनुसार बेलायतमा ‘आइसियू’मा ज्यान गुमाउनेहरुमध्ये ७० प्रतिशत ‘भेन्टिलेटर’मा राखिएका बिरामीहरु छन् ।

बिरामीको स्थिति, उमेर, ‘फ्रायल्टी स्कोर’ (जोखिमपूर्ण अवस्थाको सूचक ) र दिर्घ रोगहरु जस्ता आधारलाई ध्यानमा राखेर समग्र ‘स्कोर’ निश्चित भन्दा कम भए मात्रै ‘भेन्टिलेटर’मा राखिन्छ ।

फोक्सोमा ‘कोभिड-१९’ ले नराम्रो असर पारिसकेको अवस्थामा ‘भेन्टिलेटर’को काम बाँकी रहेको राम्रो भागलाई श्वासप्रश्वास दिने हो । फोक्सोमा आएका समस्याहरु सुधार भएर सामान्य अवस्थामा नआउँदासम्म अस्थायी रुपमा श्वासप्रश्वास दिने काम ‘भेन्टिलेटर’ले गर्छ ।

फोक्सोमा हावा चल्ने कोठाहरुमध्ये ‘अल्भेलाइ’ बोहक साना केशिका (क्यापिलरी) हरु पनि हुन्छन् । भाइरसको कारणले गर्दा शरीरमा ‘इन्फलामेटरी मिडिएटर’हरु ( साइटोकाइन्स ) बढेर फोक्सोमा ‘इन्फ्लामेसन’ हुन जान्छ । त्यस्तै, कोशिकाहरुमा रगत जमेर अक्सिजनलाई रगत ( हेमोग्लोबिन) ले लिएर मुटु हुँदै शरीरका विभिन्न भागमा जान नपाउने हुन्छ । जसले गर्दा शरीरको कोशहरुमा अक्सिजन पुग्दैन ।

अहिलेका तथ्यांकहरुलाई ध्यान दिंदै डाक्टरहरुले रगत जमेको कम गर्ने औषधी ‘हेपारिन’ पनि दिनुपर्ने भन्ने राय व्यक्त गरेका छन् ।

कोरोना भाइरस भनेको सानो प्रोटिन हो । जसको ‘आरएनए’ मान्छेको शरीरको ‘आरएनए’संग मिलेर संख्यात्मक रुपमा बढ्दै जान्छ । फलस्वरुप शरीरमा ‘साइटोकाइन्स’ (एन्फ्लामेटरी मेडिएटर) हरु बढ्छन् र यीनले शरीरुका प्रत्येक अंग र कोशहरुमा पुगेर हानी पुर्याउँछन् । जस्तै, मुटुको मांशपेशी, फोक्सो, कलेजो, मृगौला आदि । त्यसकारण कतिपय बिरामीलाई मुटुको मांशपेशीमा खराबी (मायो कार्डाइटिस), ‘मृगौला फेल’ लगायतका समस्या उत्पन्न हुन्छन् । अन्ततः धेरै अंगले काम नगर्ने (मल्टी अर्गान फेलर) हुन्छ र बिरामीको मृत्यु हुन्छ ।

त्यसैले त सर्वप्रथम त रोग सर्न नदिनु नै बेस हो । बेलायत सरकारका तर्फबाट सुरक्षित रुपमा घरभित्रै बस्न गरिएको आग्रहलाई पछ्याउनु नै अहिलेको लागि महत्वपुर्ण सावधानी हुन्छ ।

बेलायतमा ‘लकडाउन’ भएको तीन साता पूरा भइसक्यो । अहिले जति पनि संक्रमितहरु छन्, कि उनीहरु ‘लकडाउन’अघि नै संक्रमित भएका हुनुपर्छ कि त उनीहरु असिम्पटोम्याटिक (लक्षणहरु नदेखिएका) बाट सारिएका वा अस्पताल,केयर होममा काम गर्ने स्वास्थ्यकर्मीहरु हुन् ।

‘आइसोलेसन’मा बस्दा बस्दै पनि, ‘एनएचएस’को नियमित सल्लाहमा रहँदा रहँदै पनि किन बिरामीहरु कठिन स्थितिमा पुग्छन् भन्ने कुरा ध्यान दिन जरुरी छ । मुख्य कुरा बिरामीले आफू कुन अवस्थामा छु र कति बेला ‘जिपी’ वा १११ मा फोन गर्ने वा आफै ‘इमेर्जेन्सी’मा जाने भन्ने कुरा जान्न जरुरी छ ।

श्वासप्रश्वासको चाल २० भन्दा बढि हुनु, श्वास फेर्न गाहे हुनु र अक्सिजनको मात्रा नाप्ने यन्त्र (पल्स अक्सिमिटर) मा अक्सिजनको मात्रा ९० प्रतिशतभन्दा कम देखिए तुरुन्त अस्पताल जानुपर्छ ।

‘आइसोलेसन’मा बस्दा पनि प्रशस्त मात्रामा झोल पदार्थ, पौष्टिक आहारा जरुरी हुन्छ । कोरोनाको कारणले अहिले ह्दयघात, ‘स्ट्रोक’ लगायतका अरु बिरामीहरु पनि अस्पताल जान डराउने गर्दा मृत्युको जोखिम झन् बढेको छ ।

त्यसैले पनि हामी सबैले कुन अवस्थामा अस्पताल पुग्ने भन्ने कुरा बुझ्न नितान्त आवश्यक छ । ‘नेप्लिज डक्टर्स एशोसिएसन यूके’ को वेबसाइट ( www.ndauk.org) भिजिट गरेर पनि आफूलाई आवश्यक जानकारी र परामर्श लिन सक्नुहुनेछ ।

( नेप्लिज डक्टर्स एशोसिएसन यूकेका अध्यक्ष डा रमेश खोजुसंगको संवादमा आधारित)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू