शनिबार, वैशाख १५, २०८१
03:38 | ०८:२३

लन्डनका व्यवसायी लामिछानेको कोरोना कोषमा १५ लाख सहयोग

नेपाली लिङ्क अप्रिल १८, २०२०

लन्डन । लन्डनका एकजना नेपाली फेसन व्यवसायी रबिजंग लामिछानेले नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा १५ लाख रुपैयां प्रदान गरेका छन् ।

लन्डनस्थित रबि फेमस लिमिटेडका प्रवन्ध निर्देशक लामिछानेले संकटका बेला आफ्नो मातृभूमिलाई सहयोग गर्नु कर्तव्य भएकाले उक्त सहयोग गरेको बताए ।

बेलायतजस्तो विकसित राष्ट्रले समेत कोरोना महामारी नियन्त्रणमा सकस खेपिरहेको बताउंदै लामिछानेले नेपालमा पूर्व सावधानी अपनाउन र विदेश बसेका नेपालीलाई सक्दो सहयोग गर्न अपिल गरेका छन् ।

लामिछानेले महाभूकम्पका बेला पनि प्रधानमन्त्री कोषमा ५१ लाख १७ हजार ७ सय २७ रुपैयां दिएका थिए ।

उनले पर्वत जिल्ला अस्पताल र स्वास्थ्य चौकीमा दिन किनिएका मास्क लकडाउनले भारतमा रोकिएको बताएका छन् ।

दुई दशकदेखि बेलायतमा व्यवसाय गर्दै आएका लामिछानेले नेपाल र भारतका बोर्डिंग स्कुलमा ५० जना असहाय नेपाली बालबालिकालाई निशुल्क शिक्षा प्रवन्ध गरिरहेका छन् ।

धार्मिक तथा आत्याध्मिक व्यक्तित्व लामिछानेले मठमन्दिरमा पनि कयौं सहयोग गरेका छन् । उनले आफ्ना स्वर्गीय पिता चन्द्रजंग लामिछानेको सम्झनामा एक करोड ७० लाख रुपैयां लागतमा चन्द्रेश्वर महादेव हिन्दू मन्दिर र दुई तले रुक्बिना भजन किर्तन मण्डल भवन बनाइदिएका थिए । नवलपरासीको गैंडाकोटमा अवस्थित श्री मौलाकालिका मन्दिरमा भक्तजनहरुको सुविधाका लागि भान्सा, पानी ट्यांक र धारा बनाउन समाजसेवी लामिछानेले २० लाख रुपैयां पनि खर्च गरेका थिए ।

नेपालका बाढीपीडित, विद्यालय अक्षय कोष, धार्मिक अनुष्ठान र यज्ञमा समेत उनको निरन्तर सहयोग छ ।

बेलायतको अल्डरसटमा निर्माणाधिन शिव मन्दिर तथा सांस्कृतिक केन्द्र र प्लमस्टिडको पहिलो हिन्दू (पशुपतिनाथ) मन्दिरमा पनि उनले सहयोग गरेका थिए ।

उनले आर्थिक कूटनीतिमार्फत बेलायत नेपाल सम्बन्ध थप प्रगाढ बनाउन प्रयत्नशील रहेको पनि बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू