बुधबार, वैशाख १२, २०८१
21:42 | ०२:२७

बेलायतमा ‘लकडाउन’ ३ साता थपियो

नेपाली लिङ्क अप्रिल १६, २०२०

परराष्ट्रमन्त्री डोमिनिक राबले विहिबारको दैनिक ‘कोरोना ब्रिफिङ’लाई सम्बोधन गर्दै ‘लकडाउन’को म्याद थपको घोषणा गरेका हुन् ।

लण्डन । कोरोना भाइरस संक्रमण फैलिन नदिने प्रयासमा बेलायतमा लागू गरिएको ‘लकडाउन’ तीन साता थप हुने भएको छ । परराष्ट्रमन्त्री डोमिनिक राबले विहिबारको दैनिक ‘कोरोना ब्रिफिङ’लाई सम्बोधन गर्दै ‘लकडाउन’ म्याद थपको घोषणा गरेका हुन् ।

सरकारले विगत तीन साताको लकडाउन समिक्षा गर्दै कम्तीमा अरु तीन साता बढाउने निर्णय गरेको उनले बताए । तत्काल ‘लकडाउन’ खुकुलो पार्दा जनस्वास्थ्य र अर्थतन्त्रमा हानी पुग्ने ठहर सरकारले गरेको मन्त्री राबको भनाइ थियो । अझै पनि बेलायतमा कोरोना भाइरस संक्रमणको दर नघटेका कारण ‘लकडाउन’ निरन्तरताको विकल्प नरहेको उनले बताए ।

‘हामीले समिक्षा गर्दा पछिल्लो तीन साताको लकडाउनले काम गरेको पायौं । तर, अझै पनि संक्रमणको दर घट्न शुरु नभएकोले लकडाउनलाई निरन्तरता दिने निर्णय लिएका छौं’, मन्त्री राबले भने ।

यसअघि प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका मन्त्री राबकै नेतृत्वमा विहिबार बसेको मन्त्रीपरिषद बैठकले ‘लकडाउन’ म्याद बढाउने निर्णय गरेको थियो ।

बेलायतको पछिल्लो तथ्यांक

यसैबीच, बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो एक दिनमै थप ८ सय ६१ जनाले ज्यान गुमाएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जारी गरेको तथ्यांकअनुसार हालसम्म मृत्यु भएकाहरुको कुल संख्या १३ हजार ७ सय २९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा इंग्ल्याण्डमा ७ सय ३१, स्कटल्याण्डमा ८०, वेल्समा ३२ र नर्दन आयरल्याण्डमा १८ जनाको मृत्यु भएको हो ।

त्यस्तै, बेलायतमा कोरोना संक्रमण भएकाहरुको संख्या १ लाख नाघेको छ । विहिबार बिहानसम्म कुल १ लाख ३ हजार ९३ जनामा संक्रमण पुष्टी भएको छ । पछिल्लो एक दिनमा मात्रै ४ हजार ६ सय १७ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू