शुक्रबार, वैशाख ७, २०८१
16:52 | २१:३७

कोरोनाबाट मृत्यु हुनेका परिवारले बिदाई भेटको मौका पाउने

नेपाली लिङ्क अप्रिल १५, २०२०

आफ्ना कोरोना संक्रमित पितालाई भेट गर्दै कलाकार सोफिया माइल्स । (तस्विर: एजेन्सी)

लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणका कारण उपचारकै क्रममा ज्यान गुमाउनेहरुका परिवारलाई बिदाई भेटको अवसर दिइने भएको छ ।

बेलायत सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानककले अस्पताल तथा ‘केयर होम’हरुमा प्राण त्याग्दै गरेका आफन्तलाई भेट्ने अवसरको व्यवस्था गरिने बताएका छन् ।

बुधबार सरकारको दैनिक ‘कोरोना ब्रिफिङ’लाई सम्बोधन गर्दै मन्त्री ह्यानककले भने, ‘सरकारले संक्रमणको जोखिमलाई कम गर्दै बिदाईको अवसर दिन नयाँ कदम चाल्दैछ ।’ अहिलेसम्म संक्रमणको जोखिमका कारण जीवनको अन्तिम क्षणमा समेत कोरोना संक्रमितहरुका परिवारले आफ्ना प्रियजनहरुलाई भेट्ने अवसर पाइरहेका छैनन् ।

‘लकडाउन’संगै मार्च २३ बाट सरकारले नयाँ कडाईका नियमहरु लागू गरेपछि मृत्युको मुखमा समेत संक्रमितहरुलाई आफन्तले भेट्न पाएका छैनन् ।

हालै लण्डनमा निधन भएका एक १३ वर्षीय बालकलाई उनका परिवारले भेट्न नपाएको सन्दर्भ मन्त्री ह्यानककले उल्लेख गरेका थिए ।

बेलायतमा अहिलेसम्म करिब १ दर्जन नेपालीले पनि कोरोना संक्रमणका कारण उपचारकै क्रममा अस्पतालमा ज्यान गुमाएका छन् । उनीहरुको निधनअघि पनि मुख हेर्ने मौका नपाएको परिवारले बताएका छन् । कतिपय केसमा भिडियो कलमार्फत परिवारलाई आफ्नो प्रियजनले प्राण त्याग्दै गरेको अन्तिम पल समेत देखाइने गरेको छ ।

यसैबीच, बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ हजार ८ सय ६८ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ सय ६१ जना मृतक थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ले जनाएको छ ।

संक्रमितहरुको संख्या पनि १ लाखको नजिक पुगेको छ । पछिल्ला एक दिनमै ४ हजार ६ सय ३ जनामा संक्रमण फेला परेपछि कुल संक्रमित संख्या ९८ हजार ४ सय ७६ पुगेको छ ।

अहिलेसम्म जारी मृतकको तथ्यांक अस्पतालमा ज्यान गुमाउनेहरुको मात्रै हो । अबदेखि ‘केयर होम’मा हुने मृत्युलाई पनि समेट्ने तयारी सरकारले गरिरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू