शुक्रबार, चैत १६, २०८०
22:08 | ०३:५३

बन्दाबन्दीले दुई पुस्तक विमोचन प्रभावित

नेपाली लिङ्क अप्रिल ११, २०२०

२९ चैत्र २०७६, काठमाडौं । कोविड-१९ महामारी र बन्दाबन्दीले नेपालयको ‘महिला श्रृंखला २०२०’ अन्तरगत मार्चमा हुने दुईवटा पुस्तकहरूको विमोचन प्रभावित भएको छ ।

विमोचनको ढिलाई र वर्तमान विश्व परिवन्दका बारेमा आफ्नो धारणा राख्दै पब्लिकेशन नेपालयका प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्- ‘कोविड-१९ ले संसारमा पुर्‍याएको प्रभाव बारे हामी सबै जानकार छौं, यसबाट प्रकाशन उद्योग पनि प्रभावित हुनु स्वाभाविक हो । संसारले ई-बुक्सलाई अङ्गाल्न थालेको लामै समय भयो तर नेपालमा भने हामी कागजमा छापिएका प्रतिमै भरपर्दै आएका छौं । आजका मितिसम्म पनि हामी देवनागरी अक्षरका नेपाली किताबहरूलाई ई-बुक्सका रुपमा सरल र भरपर्दो मध्यमबाट प्रकाशित गर्न संघर्ष गरिनै रहेका छौं । यस्तो अवस्थामा ‘भर्च्युअल’ माध्यम को महत्व झन् टड्कारै महसुस भएको छ । हामी हाम्रा नेपाली पुस्तकहरू सक्दो चाँडो ई-बुकको रुपमा उपलब्ध गराउन प्रयत्नशील छौं ।’

सार्वजनिक गर्नका लागि तयार पारिएका दुई पुस्तकहरू ‘नेपालय महिला श्रृंखला २०२०’ अन्तरगतकै पुस्तकहरू हुन, जसमा नेपाली महिला लेखकहरूको शैलीगत विशेषता र कथाभिव्यक्तिको विविधता समेट्ने प्रयत्न गरिएको छ । यो शृंखलाको पहिलो पुस्तक दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’ पहिले नै विमोचन भइसकेको छ ।

शृंखलाको दोस्रो पुस्तकमा भुवन ढुंगानाको आख्यान ‘परित्यक्ता’ छ । एकालाप शैलीमा बाधिएको यस पुस्तकमा एउटी महिलाको अन्तर चेतनाको परिदृश्यलाई उजागर गरिएको छस जसले छोरी, प्रिया, पत्नी अनि आमाको बहुआयामिक भूमिकामा अभिनय गर्दै बाँचेकी हुन्छे र पनि निरन्तर एकाकीपनको भावमा ठोक्किँदै बगेको झरना जस्तै हुन्छे । पुस्तकले एउटी महिला जो वास्तवमा समाजद्वारा तोकिएको भूमिकामा मात्र समाहित हुन बाध्य छेस समाजमा उसको निजत्वको पनि कुनै भूमिका छ कि छैन भन्ने प्रश्न गर्दछ । यो कृतिले महिलाले आफ्ना उद्देश्यलाई आफैंले पूरा गर्ने प्रयत्न गर्नु पर्छ भन्नेतर्फ संकेत गर्छ ।

सन् १९७० ताकाको नामी साहित्यिक पत्रिका मधुपर्कबाट कथा लेखनमा प्रवेश गरेकी भुवन ढुंगानाको यो पहिलो उपन्यास हो । ढुंगानाले विश्वभारती महाविद्यालय (जसलाई अहिले शान्ति निकेतनको नामले पनि चिनिन्छ) बाट शास्त्रीय नृत्यमा स्तानक गर्नुका साथै त्रिभूवन विश्वविद्यालयबाट अँग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी छन् । उनका ‘धर्म बिम्ब’ र ‘युद्धको घोषणा अघि’ शीर्षकका कथा सँग्रहहरू प्रकाशित छन् । ढुंगाना विपि कोइराला साहित्यिक सम्मान लगायत विभिन्न पुरस्कारबाट अलंकृत भइसकेकी छिन् ।

‘नेपालय महिला श्रृंखला २०२०’ को तेस्रो पुस्तक डा. सुधा शर्माको ‘सिंहदरवारको घुम्ने मेच’ छ । यस पुस्तकले २००६ को आन्दोलनपछिको समयमा सरकारी सेवामा कार्यरत एउटी महिला सचिवको साहसिक कार्यसम्पादन र चुनौतिहरूको कथा बोकेको छ । तत्कालिन परिवर्तनले नेपाली समाजमा महिलाको समानुपातिक प्रतिनिधित्वको मुद्दालाइ स्थापित गरेको थियो । डा. शर्मा योग्यताले प्रसुति तथा स्त्री रोग विशेषज्ञ हुन् । उनले अक्टुबर २००८ देखि डिसेम्बर २०११ सम्म स्वास्थ तथा जनसंख्या मन्त्रालयमा सचिवको रुपमा कार्यसम्पादन गरिन् ।

त्यही समयावधीमा उनले स्वास्थ्य रेखदेखका निम्ति महत्वपूर्ण नीतिको परिकल्पना र तर्जुमा गर्दै तिनलाई लागू पनि गरिन् जसमा नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रम कार्यान्वयन योजना (एनएचएसपी (२) २०१०-०१५ सामिल छ । समानुपातिक प्रतिनिधित्वका निम्ति जनादेश पाएको सरकारले एउटी सक्षम र सबल महिलाको नेतृत्वलाई स्वागत गर्नु पर्थ्यो तर नेपाली राजनीति पुरानो बिमारीबाट मुक्त थिएन । डा. सुधाले त्यही परिवेशको भोगाइलाई आकर्षक कथ्यशैलीमा पुस्तकमा उतारेकी छन् ।

आगामी प्रकाशनका बारेमा नेपालय पब्लिकेसन्सकी सम्पादक भूषिता वशिष्ठ भन्छिन्- ‘यी दुबै कृतिहरूले नेपालमा विद्यमान लैंगिक पहिचानको विचारविमर्शमा अर्थपूर्ण आयाम थप्नेछन् । ढुंगानाको पुस्तकले लिंगको निर्धा्रित भूमिकाभन्दा माथि उठेर उत्पन्न हुने वैयक्तिक अस्तित्वमाथिको ध्यानलाई उजागर गरेको छ । अर्काेतिर डा. शर्माको पुस्तक एउटी त्यस्ती महिलाको कथा हो जो पितृसत्ताको असक्षम संरचनालाई नै संचालन गरेर पूरानो र पिल्सिएको प्रवृत्तिलाई प्रहार गर्न सफल भएकी हुन्छे ।’

दुवै पुस्तक वर्तमान बन्दान्दीको अन्त्यपछि सार्वजनिक गरिनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू