शनिबार, वैशाख १५, २०८१
00:15 | ०५:००

युवराज चार्ल्सको ‘सेल्फ आइसोलेसन’ सकियो, स्वास्थ्य अवस्था सामान्य

नेपाली लिङ्क मार्च ३०, २०२०

युवराज चार्ल्स

लण्डन । कोरोना भाइरसबाट संक्रमित बेलायती युवराज चार्ल्स ‘सेल्फ आइसोलेसन’ बाट बाहिरिएका छन् ।

कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएपछि उनी चिकित्सकको सल्लाहमा १ सातादेखि स्कटल्याण्डस्थित निवासमा सेल्फ आइसोलेसनमा बसेका थिए ।

७१ वर्षीय युवराज चार्ल्सलाई कोरोना संक्रमण भएपनि उनमा सामान्य लक्षणहरु देखिएका थिए र उनको स्वास्थ्य अवस्था खासै बिग्रिएको थिएन ।

मार्च २५ मा स्कटल्याण्डमै गराइएको परिक्षणमा युवराज चार्ल्सलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो । सरकारले जारी गरेको मार्गनिर्देशनअनुसार नै उनी एक साता सेल्फ आइसोलनमा बसेको उनका प्रवक्ताले जनाएका छन् ।

युवराज चार्ल्ससंगै उनकी पत्नी प्रिन्सेस क्यामेलिया पनि सेल्फ आइसोलेसनमै बसेकी थिइन् । युवराज संक्रमित भएपछि प्रिन्सेस क्यामेलियामा गरिएको परिक्षणमा भने कोरोना भाइरसको संक्रमण नेगेटिभ देखिएको थियो ।

बकिंगहम प्यालेसका अनुसार कोरोनाको संक्रमण पुष्टी हुनुपूर्व युवराज चार्ल्सले आफ्नी आमा बेलायती महारानी एलिजावेथलाई मार्च १२ तारिखमा भेटेका थिए । तर, महारानीमा कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ ।

बेलायतमा कोरोनाको संक्रमण तीव्र दरमा फैलिरहेको छ । आइतबार अपरान्हको तथ्यांकअनुसार बेलायतभर कुल संक्रमतिको संख्या १९ हजार ५ सय २२ र मृत्यु हुनेको संख्या १२ सय २८ पुगेको छ । प्रधानमन्त्री बोरिस जोनसन, स्वास्थ्यमन्त्री म्याट हयानकक लगायत पनि कोरोना संक्रमित भएर आइसोलेसनमा बसिरहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू