शुक्रबार, वैशाख २१, २०८१
04:54 | ०९:३९

किरात राई यायोक्खा बेलायतले मनायो उधौली

नेपाली लिङ्क डिसेम्बर २७, २०२३


लण्डन- किरात राई यायोक्खा बेलायतले उधौली-२०२३ धुमधामसँग मनाएको छ । किरात राई हाउस ग्याम्बल्स लेन वकिङमा २६ डिसेम्बरका दिन आयोजना गरिएको उधौली उत्सवमा प्रकृति पूजक किरात राईहरुले किरात राई परम्पराअनुसार भूमिको पूजा गर्दै सिलीसहित उत्सव मनाए ।

किरात राई जातिले यो चाडलाई पृथ्वीमा कृषि युगको शुरुवात भएदेखि नै मान्दै आएको विश्वास गरिन्छ । किरात राई जातिले यो चाडलाई ऋतु परिवर्तनसँगै वर्षमा दुईपटक धुमधामका साथ मनाउंदै आएको पाइन्छ । 

बैशाख शुक्ल पूर्णिमा अर्थात वसन्त ऋतुमा उभौली र मंसिर शुक्ल पूर्णिमा अर्थात शरद ऋतुमा उधौली उत्सवको रुपमा मनाउने चलन रहेको उधौली-२०२३ का संयोजक तथा किराया बेलायत उपाध्यक्ष मेजर (रि) दिलकुमार राईले बताए । सरल अर्थमा, किरात राईहरुले हरेक वर्ष अन्नबाली लगाउने बेलामा उभौली र अन्नबाली पाक्ने बेलामा खुशीयाली मनाउँदै उधौली उत्सव मनाउने गर्छन् ।    

वहुभाषिक वहुथरी किरात राई जातिले उभौली र उधौलीलाई आआफ्नो भाषा अर्थात थरी अनुसार, वाम्बुले भाषिकले खाउमो, कुलुङ भाषिकले तोस, थुलुङ भाषिकले तोसी, दुमी भाषिकले तोसु, खालिङ भाषिकले वास, चाम्लिङ भाषिकले साकेला, बान्तवा भाषिकले साकेवा/साकेन्वा, पुमा भाषिकले साकेन्वा, साम्पाङ भाषिकले साकेवा, बाहिङ/बायुङ भाषिकले हङ/सेग्रो, मेवाहाङ भाषिकले हाङ आदि फरक फरक नामले पुकारेको पाइन्छ ।


किरात राई यायोक्खा बेलायतले बेलायतको प्रतिकूल मौसमका कारण प्रत्येक साल उभौली उत्सव मात्र ब्यापक तामझाम र भब्यताका साथ मनाउदै आएकोमा यसपटक ऐतिहासिक रूपले सबै विधि पुरयाउंदै सिलीसहित बेलायतमा मनाइएको पहिलो उधौली उत्सव रहेको र आउने बर्षहरुमा यसलाई ब्यापकतासहित निरन्तरता दिंदै लगिने किरात राई यायोक्खा बेलायतका संस्थापक तथा वर्तमान अध्यक्ष चन्द्र बहादुर राईले बताए ।

किराया बेलायतको अध्यक्ष चन्द्र बहादुर राईको अध्यक्षतामा उधौली उत्सव समारोह भएको थियो । समरोहको प्रमुख अतिथिमा पूर्खा तथा किरात राई चाम्लिङ खाम्बातिम नेपालका संस्थापक अध्यक्ष जगत राई थिए । 

विशेष अतिथिहरुमा मंगोल नेशनल अर्गनाइजेसन क्रान्तिकारीका अध्यक्ष शक्ति चाम्लिङ राई र गैरआवासीय नेपाली संघ यूके महासचिव प्रमिला लाबुङ राई थिए । यसैगरी अतिथिहरुमा किराया बेलायत स्थानीय समन्वय परिषद अर्थात प्रा का स ग्रेटर रस्मोर अध्यक्ष ध्रुवसरी राई, किराया बेलायतका  नाक्छुङ किताबसेर राई आदि थिए । समारोह अवधिभरका लागि जन-स्वास्थ्य र सुरक्षा सम्बन्धि सचेतना ब्रिफिङ उपाध्यक्ष क्या (रि) सुमनचन्द्र राईले दिएका थिए । उक्त उधौली उत्सव समारोह संस्थाका महासचिव चन्द्रवती राईले संचालन गरेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू