बिहीबार, वैशाख १३, २०८१
07:52 | १२:३७

लन्डन रोयल ग्रीनवीच बरोको डेपुटी मेयरमा निर्वाचित भए जीत रानाभाट

नेपाली लिङ्क मे ३१, २०२३

तस्वीर सौजन्य: राजन खकुराल

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको लन्डनको रोयल बरो अफ ग्रीनवीचमा नेपाली मूलका जीत रानाभाट उपमेयर (डेपुटी मेयर) निर्वाचित भएका छन्। 

एक वर्षअघि सो बरोमा नेपाली समुदायबाट पहिलो काउन्सिलर निर्वाचित उनले आगामी एक वर्षलाई उपमेयरको जिम्मेवारी प्राप्त गरेका हुन्। 

बुधबार बेलुका वुल्लीच टाउन हलमा आयोजित एक विशेष समारोहमा रानाभाटले उपमेयरको शपथ लिंदै औपचारिक पदभार ग्रहण गरे ।

बरोका नयाँ मेयर समेतको शपथ तथा पदभार ग्रहण समारोहमा शुभकामना दिन स्थानीय नेपाली समुदायका कयौं प्रतिनिधि तथा अभियन्ताहरु पनि सहभागी थिए। 

गत वर्ष लन्डनको रोयल बरोमा नेपाली मूलबाट पहिलोपटक काउन्सिलर निर्वाचित हुन सफल रानाभाटले अहिले फेरि पहिलो उपमेयरको रुपमा जिम्मेवारी ग्रहण गरेकोमा स्थानीय नेपाली समुदायले गौरव र उत्साह महशुस गरेको छ ।  

यसअघि रोयल बरो अफ ग्रीनवीचमा लेबर पार्टीका काउन्सिलरहरुबीच भएको प्रतिस्पर्धामा अन्यलाई पछि पार्दै रानाभाट उपमेयर निर्वाचित बनेका हुन् । 

उपमेयरमा निर्वाचित रानाभाटले बरोमा प्रमुख रहने मेयरको डेपुटीका रुपमा आफ्नो भूमिका निर्वाह गर्नेछन्। 

औपचारिक पदभार ग्रहणलगत्तै उनले नेपाली लिंकसँग भने, ‘मेयरले समग्रमा बरोको नेतृत्व गर्नुहुन्छ । उहाँको अनुपस्थितिमा उपमेयरको रुपमा त्यहि जिम्मेवारी सम्हाल्नेदेखि नियमित रुपमा पनि नगरको उपप्रमुखको रुपमा मेरो भूमिका रहनेछ।’ 

ग्रीनवीच बरोका नवनिर्वाचित उपमेयर रानाभाट बेलायतको नेपाली समुदायका एक चिरपरिचित सामाजिक अभियन्ता हुन्। रोयल ग्रीनवीच नेप्लिज सोसाइटी (आरजीएनएस) का अध्यक्ष समेत रहेका उनले यसअघि नेप्लिज प्रोफेसनल्स यूके, यती नेपाली एशोसिएसन यूके, क्षेत्री समाज यूके, पशुपतिनाथ मन्दिर लगायतका अन्य थुप्रै संघ संस्थामा नेतृत्व तहमा रहेर काम गरिसकेका छन् ।

त्यस्तै, एनआरएन यूकेको २०१७–१९ कार्यसमितिमा सदस्य तथा २०१९–२१ मा सचिवको जिम्मेवारी सम्हालेका उनले एनआरएनए यूकेको व्यापार प्रवर्द्धन विभागको संयोजकको भूमिका समेत निर्वाह गरेका थिए ।

नेपालमा कास्की घर भएका रानाभाट सन् २००८ मा बेलायत आएका थिए । श्रीमती र दुई छोरीको साथ उनी साउथ इस्ट लण्डनमा बस्दै आएका छन् ।

बेलायतमा बिल्डिङ र प्रपर्टीलगायतमा आफ्नै व्यवसाय गर्दै आएका रानाभाटले नेपालको पोखरा युनिभर्सिटीबाट एमफिलसम्मको अध्ययन पूरा गरेका छन् ।  

बेलायतका विभिन्न बरोहरुमा यसअघि नेपाली मूलका मेयर, उपमेयर र थुप्रै काउन्सिलर निर्वाचित भइसकेपनि लन्डनको कुनै रोयल बरोमा काउन्सिलर वा उपमेयर हुने भने रानाभाट पहिलो हुन्। 

@nepalilinkuk #nepali #uk#london#deputymayor#nepalilink #CapCut ♬ original sound – Nepalilinkuk

 

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू