बिहीबार, चैत १५, २०८०
09:21 | १५:०६

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष मन्त्रिपरिषद्को सिफारिस

रासस मे २८, २०२३

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आइतबार प्रधानमन्त्रीको अध्यक्षतामा भएको मन्त्रिपरिषद बैठक । तस्बिर- प्रदीपराज वन्त/रासस

काठमाडौं, १४ जेठ– सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को वैठकले नेता चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्रीमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् निर्णयबारे जानकारी दिँदै गणतन्त्र दिवसका अवसरमा नेता चौधरीको बाँकी सजाय मिनाहासँगै आममाफी दिन सिफारिस गरिएको बताइन् ।
“सोमबार गणतन्त्र दिवस छ, गणतन्त्र दिवसका सन्दर्भमा केही कैदीको बाँकी सजाय माफी गर्ने र ५० प्रतिशत सजाय काटिसकेकाको हकमा जुन निर्णय गर्ने प्रचलन छ, त्यसका निम्ति निर्णय भएको छ, मुख्य निर्णय रेशम चौधरीको निवेदनका आधारमा र राष्ट्रपति कार्यालयले सोधिएका केही विषयलाई पनि सम्बोधन गरेर राष्ट्रपति कार्यालयमा सिफारिस गर्ने भन्ने आजको निर्णय छ”, उनले भनिन् ।
सरकारको सिफारिसअनुसार राष्ट्रपति कार्यालयले निर्णय गरेको खण्डमा नेता चौधरी सोमबार गणतन्त्र दिवसका अवसरमा जेलमुक्त हुनेछन् । विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुनेगरी भएको हिंसात्मक घटनाका आरोपित चौधरी जेल चलान भएका थिए । उनलाई जिल्ला अदालत कैलाली, उच्च अदालत दिपायल र सर्वोच्च अदालत समेतले जन्मकैदको सजाय सुनाएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको तयारी अन्तिम चरणमा पुगेको र सोमबारको मन्त्रिपरिषद्को वैठकले विषयवस्तु (एजेण्डा) को अन्तिम टुङ्गो लगाउने जनाइएको छ ।
पत्रकारको एक  प्रश्नमा प्रवक्ता शर्माले भनिन्, ‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा को को जाने भन्ने अहिलेसम्म टुङ्गिएको छैन, भ्रमणका एजेण्डा मन्त्रालयहरुले तयारी गररहेका छन्, त्यो अन्तिम चरणमा पुगिसकेको छ । ऊर्जासँगै सीमा समस्याका कुरा पनि छन्, ती विषयमा छलफल भइरहेको छ, औपचारिक निर्णय भने भएको छैन ।’
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू