शनिबार, वैशाख ८, २०८१
08:48 | १३:३३

ओमानमाथि नेपालको शानदार विजय, सन्दीपले बनाए विश्व कीर्तिमान

नेपाली लिङ्क अप्रिल २१, २०२३

काठमाडौं । नेपालले एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको खेलमा शानदार जीत हासिल गरेको छ ।  

शुक्रबार घरेलु मैदानमा कुशल मल्लको विष्फोटक शतकमा नेपालले ओमानलाई ८४ रनले हराएको हो। टस हारेर पहिलो ब्याटिङ गर्दै नेपालले तयार पारेको ३ सय १० रनको विशाल लक्ष्य ओमानले पछ्याउन सकेन ।

नेपालको स्कोरमा कुशल मल्लले सर्वाधिक १ सय ८ रन  योगदान गरे भने सोमपाल कामीले ६३, भीम सार्कीले ३३, आरिफ शेख र करण केसीले २९, रोहित पौडेलले २३ र सन्दिप लामिछानेले ८ रन जोडेका थिए ।  

नेपालले ४६.३ ओभरमा ओमानको नवौं विकेट ढाल्दै ८४ रनको जित दर्ता गरेको हो । ओमानका दशौं नम्बरका ब्याट्सम्यान घाइते भएर क्रिजमा उत्रिन नसकेपछि ९ विकेटमै खेल समाप्तिको घोषणा गरिएका थियो । ओमानले २२६ रन मात्रै जोड्न सक्यो ।

नेपालका लागि ललित राजवंशीले जतिन्दर सिंहलाई आउट गर्दै नेपाललाई पहिलो विकेट दिलाएका थिए । सन्दीप लामिछानेले छोटो अन्तरालमा ३ विकेट लिएपछि ओमान खेलमा फर्किन सकेन । नेपालका लागि करण केसीले पनि ३ विकेट लिए भने ललितले २ र दिपेन्द्र सिंह ऐरीले पनि २ विकेट लिए ।

यसैबीच, यही खेलबाट सन्दीप लामिछानेले एक दिवसीय क्रिकेटमा सबैभन्दा थोरै खेलमा १ सय विकेटको विश्व कीर्तिमान बनाएका छन्।

सन्दीपले ४२ खेलमा सय विकेट पूरा गर्दै यसअघि अफ्गानिस्तानका राशिद खानको ४४ खेलमा सय विकेटको किर्तिमान तोडेका हुन्।

शुक्रबारकै खेलमा ५९ रनमा शतक पूरा गरेका कुशल मल्ल पनि एक दिवसीय खेलमा सबैभन्दा छिटो शतक बनाउने नेपाली खेलाडीको किर्तिमान राख्न सफल भएका छन्।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू