शनिबार, वैशाख ८, २०८१
09:16 | १४:०१

लन्डनमा मेयर बालेनसंग एनआरएनए यूके अध्यक्ष गाहामगरको भेट, सहकार्यको प्रस्ताव

नेपाली लिङ्क मार्च १७, २०२३

लन्डन । एउटा अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन लन्डन आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसंग एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले भेटघाट गरेका छन् । बिहीबार बिहान सेन्ट्रल लन्डनमा करिब एक घण्टा लामो भेट भएको हो ।

मेयर शाह विश्वका झण्डै ५० प्रमुख शहरका मेयर सहभागी ‘पार्टनरसीप फर हेल्दी सिटीज् समिट’ सम्मेलनमा सहभागी हुन यतिखेर लन्डनमा छन् ।

भेटमा अध्यक्ष गाहामगरले आफ्नो २८ वर्षको बेलायत अनुभव, यहांको स्मार्ट सिटी अवधारणा, वायु प्रदुषण न्यूनीकरण, फोहरमैला व्यवस्थापन र ट्राफिक चाप नियन्त्रणमा बेलायतले अपनाइरहेको ‘सिस्टम’, ब्रिटिश गोर्खा इतिहास, परिवर्तनका लागि युवा नेतृत्व आदिबारे कुराकानी गरेको जनाए ।

गाहामगरले काठमाडौंलाई स्मार्ट सिटी बनाउन मेयर बालेनसंग के कस्ता योजना छन् र एनआरएनए यूकेले कसरी सहकार्य गर्न सक्छ भन्ने चासो समेत व्यक्त गरेका थिए ।

प्रत्युत्तरमा मेयर शाहले आफूले भर्खर काम शुरु गरेको र यसमा अनेक चुनौति रहेका बताएका थिए । आफ्नो नीति तथा कार्यक्रम बमोजिम सुरक्षित, प्रदुषण र फोहररहित स्वच्छ पर्यावरणयुक्त शहर, भौतिक पूर्वाधार विकास, सुविधायुक्त सार्वजनिक यातायात, काठमाडौंमा पुराना सवारी साधन हटाएर विद्युतीय सवारी साधनलाई प्रोत्साहन आदि योजना सुनाउंदै मेयर शाहले बेलायतका गैर आवासीय नेपालीको ज्ञान र सीप पनि जरुरी हुने धारणा राखेका थिए ।

गाहामगरले बालेनलाई एनआरएनए आइसीसी पूर्व अध्यक्ष डा. शेष घलेले अगाडि सारेको ‘ग्रीन हाइड्रोजन प्रोजेक्ट’ सवारी प्रदुषण न्यूनीकरणमा प्रभावकारी हुन सक्ने सुझाउंदै युवा जनशक्ति परिचालनमा आफूहरुले सहयोग गर्न सक्ने अठोट व्यक्त गरेको बताए ।

उक्त भेटमा मेयर शाहले लन्डनको जनसंख्या, नेपालीसहित आप्रवासीको अवस्था आदिबारे पनि जिज्ञासा राखेका थिए । शाहले सम्मेलनबाट पनि आफूले धेरैकुरा सिकेको बताएका थिए ।

बेलायत भ्रमणमा मेयर शाहसँगै स्वास्थ्य सल्लाहकार डा. जगदिश अग्रवाल, वडा २४ का अध्यक्ष विनोद राजभण्डारी र स्वकीय सचिव भूपदेव शाह पनि छन्।

मेयर बालेन टोली शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू