शुक्रबार, चैत १६, २०८०
21:21 | ०३:०६

तथ्यांक कार्यालयको नतिजाप्रति किराया बेलायतको आपत्ति, त्रुटी सच्याउन माग

नेपाली लिङ्क जनवरी २४, २०२३

लन्डन । किरात राई यायोख्या (किराया) बेलायतले राष्ट्रिय तथ्यांक कार्यालयको नतिजाप्रति आपत्ति जनाएको छ । किरायाले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा प्रकाशन भइसकेर अन्तिम नतिजा प्रकाशन हुनै लाग्दा गम्भीर त्रुटी औंल्याउंदै सच्याउन जोडदार माग समेत गरेको छ ।

किराया बेलायत अध्यक्ष चन्द्रबहादुर राई र महासचिव चन्द्रवती राईद्धारा हस्ताक्षरित ज्ञापन लन्डनस्थित नेपाली दूतावासमार्फत नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गत राष्ट्रिय तथ्यांक कार्यालय (थापाथली काठमाडौं, नेपाल) का प्रमुख तथ्यांक अधिकारी/महानिर्देशक समक्ष पठाइएको हो ।

ज्ञापनपत्रमा राष्ट्रिय तथ्यांक कार्यालयले किरात राई जातिको सबै भाषाहरुलाई पहिचान गरी भाषिक कोड प्रदान नगरेको, किरात राई जातिको विभिन्न भाषिक समुदायहरुलाई गलत नामांकरण गरेको जस्ता त्रुटी औंल्याएको छ ।

राष्ट्रिय जनगणना–२०७८ को प्रतिवेदनमा किरात राई जातिभित्रका १२ भाषिक-थरगत समुदायहरु आठपहरिया, कुलुङ, खालिङ, चाम्लिङ, थुलुङ, नाछिरिङ, नेवाहाङ, बान्तवा, बाहिङ/बायुङ, याम्फु, लोहोरुङ, र साम्पाङलाई स्वतन्त्र जातिको रुपमा प्रकाशन गर्दै राष्ट्रिय तथ्यांक कार्यालयले गम्भीर गल्ती गरेको भन्दै किराया बेलायतले त्यस्ता त्रुटीहरु सच्याउन ध्यानाकर्षण गराएको छ ।

साथै, संस्थाले किरात राईसम्वद्ध विभिन्न संघसंस्था, सरोकारवाला ब्यक्ति तथा संस्थाहरु, बौद्धिक वर्ग, सचेत शुभेच्छुक सबैमा किरात राई जातिलाई एकढिक्का राख्ने आफ्नो साझा उद्देश्यप्रति ऐक्यबद्धता जनाउंदै खबरदारी तथा दबाब बढाउन पनि आव्हान गरेको छ ।

तथ्यांक कार्यालयले जनगणनाका क्रममा यदि उल्लेखित त्रुटीहरु गरेकै भए किरात राई जातिको वास्तविक तथ्यांक प्रकाशमा नआउने संस्थाको ठहर छ । ‘किरात राई जातिको गलत तथ्यांक सार्वजनिक गरिए त्यसको आधारमा किरात राई जातिको हितमा बन्ने राष्ट्रिय तथा संघीय योजनाहरु असफल बन्छन् । परिणाम बेगरका जाली दस्तावेजहरुको चा ङ लाग्छ तर यसले किरात राई जातिको जनजीवनमा कुनै अन्तर ल्याउंदैन बरु पछिल्तिर धकेल्नेछ’, ज्ञापनमा भनिएको छ, ‘अन्तमा तथ्यांक मिथ्यांकमा परिणत हुन्छ । फेरी उल्लेखित त्रुटिहरु नसच्याई तथ्यांक सार्वजनिक गरिए राष्ट्रिय तथ्यांक कार्यालय अर्थात राज्य नै जानीजानी किरात राई जाति टुक्राउन उद्दत रहेको हो कि भन्ने आशंका उत्पन्न हुनेछ । जसले स्वत टकरावको स्थिति उत्पन्न गर्नेछ ।’

किरात राई जातिको इतिहास, संस्कृति र भाषाको अध्ययन गर्दै उल्लेखित सबै त्रुटी सुधार गरेर किरात राई जातिको सही र वास्तविक तथ्यांक सार्वजनिक गर्न पनि ज्ञापनमा माग छ ।

लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले किराया बेलायतको ज्ञापनपत्र प्राप्त भएको र त्यसलाई सम्बन्धित निकायमा प्रेषित गरिदिनका लागि परराष्ट्र मन्त्रालयमा प्रेषित भइसकेको जनाएकी छन् ।

ज्ञापन-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू