


लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप १७५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससंगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २५ हजार ३४३ पुगेको छ ।
यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ६ हजार ६०९ जना नयां संक्रमित थपिएका छन् । थपिएका नयांसंगै बेलायतमा संक्रमितको संख्या ४२ लाख ४८ हजार २८६ पुगेको छ ।
बेलायतका अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या घटेर ८ हजार ४०४ मा झरेको छ । भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या एक हजार १९४ छ ।
दुई करोड ४७ लाख भन्दा बढी खोप वितरण
बेलायतमा हालसम्म दुई करोड ४७ लाख भन्दा बढी डोज भ्याक्सिन वितरण भैसकेको छ । शुक्रबारसम्म खोपको पहिलो तथा दोस्रो डोज लगाउनेको कुल संख्या दुई करोड ४७ लाख ५९ हजार ६०३ पुगेको छ ।
बेलायतमा दुई करोड ३३ लाख १४ हजार ५२५ जनाले पहिलो र १४ लाख ४५ हजार ७८ जनाले दोस्रो डोज लिएका छन् ।
इंग्ल्याण्डमा सरकारद्वारा जारी कडा प्रतिबन्ध र खोपको प्रभावका कारण संक्रमणमा कमी आएको अधिकारीहरुले बताएका छन् ।
शुक्रबार सार्वजनिक सरकारी तथ्यांकले बेलायतमा कोरोना भाइरस संक्रमण फैलिने दर क्रमश घट्दै गएको जनाएको छ ।
पछिल्लो तथ्यांकअनुसार बेलायतमा संक्रमण दरको मापक ‘आर नम्बर’ शून्य दशमलव ६ देखि शून्य दशमलव ८ को बीचमा छ ।
त्यस्तै, अहिले बेलायतमा कोरोना संक्रमणको विकास दर माइनस ७ देखि माइनस ४ प्रतिशत छ । जसको अर्थ बेलायतमा संक्रमण हरेक दिन ४ देखि ७ प्रतिशतले घटिरहेको छ ।
‘आर नम्बर’ १ रहँदा हरेक संक्रमित एक जनाबाट अर्को एक मानिसमा संक्रमण फैलिने गर्छ, जसको अर्थ अहिले बेलायतमा संक्रमितको संख्या घटिरहेको छ ।



सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५