मंगलबार, वैशाख ४, २०८१
15:40 | २०:२५

माओवादी केन्द्रले विपक्षी दलसँग छलफल अघि बढाउने

रासस मार्च ९, २०२१


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सरकार र संसद्लाई अगाडि बढाउन प्रमुख प्रतिपक्षी दलसहित संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलसँग छलफल गर्ने भएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी स्थायी कमिटीको बैठकले सरकारसँगै संविधान कार्यान्वयनका सन्दर्भमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग परामर्श गर्ने निर्णय गरेको हो ।

बैठकले नेकपा (एमाले) सँग पनि वार्ताको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘मुख्यतः प्रमुख प्रतिपक्षी र जनता समाजवादी पार्टीसँग संसद् सञ्चालन, सरकार र आगामी राजनीतिक प्रक्रियाका बारेमा छलफल गर्ने निर्णय भएको छ’, उनले भने ।

बैठकले बदलिँदो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न यही फागुन २९ गते केन्द्रीय कमिटीको बैठक र आगामी चैत १ गते कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने-नलिने सन्दर्भमा कुनै निष्कर्षमा नपुगिएको प्रवक्ता श्रेष्ठले बताए । ओली माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

सर्वोच्च अदालतले गत आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नामका बारेमा परेको रिट निवेदनको सुनुवाइ गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेकपा पूर्ववस्थामा ब्यूँतिएको फैसला गरेको थियो ।

सोही फैसलाका आधारमा मंगलबार माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बसेको हो । बैठकमा पूर्वमाओवादी स्थायी कमिटी सदस्य रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह र लेखराज भट्ट सहभागी थिएनन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू