बाबुआमा गुमाएर बेसहारा बनेका गुल्मीका बालबालिकालाई बेलायतबाट सहयोग


लन्डन । बाबुआमा गुमाएर बिचल्लीमा परेका गुल्मीका दुई बालबालिकाका लागि बेलायतबाट सहयोग पठाइएको छ ।
एक महिनाको अन्तरालमा निधन भएका जिल्लाको आँपचौर धुमीका गोपाल विक दम्पतिका छोराछोरीलाई बेलायतबाट २ हजार ६ सय ८ पाउण्ड पठाइएको सहयोग अभियानकी संयोजक राधा खरेलले जानकारी दिइन् ।
एक महिनाअघि ट्याक्टर दुर्घटनामा आमा गुमाएका बालबालिकाका बाबु गोपालले पनि केही दिनअघि डिप्रेसनबाट पीडित भइ आत्महत्या गरेपछि बालबालिकाको बिचल्ली भएको खरेलले बताइन् ।
उनका अनुसार बेसहारा बनेका बालबालिकाको सहयोगमा बेलायतका साथै न्यूजिल्याण्ड र फिनल्याण्डबाट समेत क्रमशः २ हजार ८ सय ३० र २ हजार ८० डलर पठाइएको छ ।
सबैतिरबाट जुटेको कुल ९ लाख रुपिया बालबालिकाको नाममा बैंकमा जम्मा गराइएको छ । उपलब्ध गराइएको सहयोग दिगो होस् भनेर कोष व्यवस्थापनका लागि ६ जना स्थानीयको समिति पनि बनाइएको छ ।
उनीहरु १८ वर्ष पुग्ने बेलासम्म बैंकबाट साँवा निकाल्न नमिल्ने र वर्षको दुई पटक विद्यालयका प्रधानाध्यापकको अनुमतिमा ब्याज निकाल्न पाइने व्यवस्था मिलाइएको छ ।
बेलायतमा सहयोग संकलनका लागि राधा खरेलका साथै स्कटल्याण्डमा माधव भण्डारी, शिवकान्त खराल, बर्मिंगहममा भोजराज भण्डारी, विष्णु खराल, कर्नवालमा रामकृष्ण अर्याल लगायतले संयोजन गरेका थिए । न्यूजिल्याण्डमा जीवन अर्याल र फिन्ल्याण्डमा भरत गिरीको संयोजनमा सहयोग जुटाइएको थियो ।