शनिबार, वैशाख ८, २०८१
09:56 | १४:४१

इंग्ल्याण्डमा लकडाउन खुलाउने चरणबद्ध योजना घोषणा हुँदै

नेपाली लिङ्क फ्रेब्रवरी २२, २०२१


लन्डन । इंग्ल्याण्डमा महिनौँदेखि कायम लकडाउन खोल्ने सम्बन्धमा बेलायत सरकारको योजना आज घोषणा हुँदैछ ।  

प्रधानमन्त्री बोरिस जोन्सनले बेलुका ७ बजे विशेष सम्बोधनमार्फत् लकडाउनबाट बाहिरिने सरकारका चरणबद्ध योजना सार्वजनिक गर्दैछन् ।  

सोमबार दिउंसो प्रधानमन्त्री जोन्सनले सरकारका वरिष्ठ मन्त्रीहरुसँग छलफल गरी लकडाउन खोल्ने सरकारको योजनालाई अन्तिम रुप दिनेछन् । देशवासीलाई  सम्बोधन गरी घोषणा गर्नुपूर्व उनले सरकारको योजनाबारे सांसदहरुलाई जानकारी गराउनेछन् ।  

कहिलेबाट खुल्छ लकडाउन ?

प्रधानमन्त्री जोन्सनले सोमबार घोषणा गर्न लागेको लकडाउन खोल्ने योजना चरणबद्ध  हुनेछ । पहिलो चरणको पहिलो फेजमा मार्च ८ देखि स्कुलहरु खुल्नेछन् भने केयर होमका बासिन्दाले एक जनासम्म आफन्त भेट्न पाउनेछन् । पार्क जस्ता आउटडोर ठाउँमा दुई व्यक्ति भेट्ने, बस्ने र चिया, कफी लिने वा पिकनिक गर्ने छुट दिइनेछ ।  

पहिलो चरणको दोस्रो फेज मार्चको २९ देखि शुरु हुनेछ । यो चरणमा आउटडोर (पार्क, प्राइभेट गार्डन) ६ जनासम्म वा दुई परिवारको  जमघटलाई अनुमति दिइनेछ ।  

टेनिस, बास्केटबल लगायतका आउटडोर खेलस्थल सुचारु गरिनेछ । त्यस्तै, आफ्नो क्षेत्रभन्दा फरक क्षेत्रसम्मको यात्रामा लगाइएको रोक फुकुवा हुनेछ ।  

लकडाउन खुकुलो पार्ने एक चरणदेखि अर्को चरणसम्म ५ साताको अन्तराल रहनेछ । दोस्रो चरणमा अत्यावश्यकबाहेकका ‘रिटेल’ हरु संचालनमा ल्याउने र तेस्रो चरणमा पब, रेष्टुरेन्टहरु खुलाउने सरकारको योजना छ ।  

लकडाउन खुकुलो पार्न ४ शर्त 

लकडाउन खुकुलो पार्ने सरकारको योजना कार्यान्वयन हुनुअघि विभिन्न ४ आधार तयार भएको हुनुपर्ने भनिएको छ ।

सरकारको योजनाअनुरुप नै कोभिड खोप वितरण निरन्तर भएको, खोपको कोरोनाबाट ज्यान गुमाउने र अस्पताल भर्ना हुनेको संख्या घटाएको प्रमाण देखिएको, संक्रमणदरले अस्पतालहरुलाई चापमा पार्ने जोखिम नरहेको र भाइरसको नयाँ भेरियन्टले जोखिम नबढाएको अवस्थामा मात्र सरकारले लकडाउन खुकुलो पार्न तय गरेका योजना लागू गरिनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू