शुक्रबार, वैशाख ७, २०८१
07:07 | ११:५२

बेलायतमा कोभिड खोपको प्रारम्भिक प्रभाव सकारात्मक

नयाँ भेरियन्टमा पनि प्रभावकारी

नेपाली लिङ्क फ्रेब्रवरी २१, २०२१


लन्डन । कोभिडविरुद्धको खोपलाई आम प्रयोगको अनुमति दिने विश्वकै पहिलो देश हो बेलायत । फाइजर र एस्ट्रानजेनेका खोपको वितरण शुरु गरिसकेको बेलायतमा हालसम्म एक करोड ७० लाख बढीले खोप पाइसकेका छन् ।

बेलायतले पहिलो चरणमा संक्रमणको सबैभन्दा उच्च जोखिममा रहेका डेढ करोड मानिसलाई खोप प्रदान गर्यो । ७० वर्ष उमेर माथिका ज्येष्ठ नागरिक, हेल्थकेयरमा कार्यरतदेखि सामाजिक कार्यकर्तासम्मलाई प्राथमिकताको पहिलो समूहमा राखेर खोप दिइयो । आगामी मे महिनाभित्र ५० वर्ष माथिका मानिसहरुलाई खोप दिइसक्ने योजना गरेको बेलायतले अगस्टसम्ममा १८ वर्ष माथिका सबैलाई खोप दिने लक्ष्य राखेको छ ।

कोभिड महामारीबाट विश्वकै अति प्रभावित देशहरुको सूचीमा बेलायत अग्रस्थानमै छ । हालसम्म १ लाख २० हजार बढी संक्रमितले ज्यान गुमाएका छन् भने संक्रमण हुनेको संख्या पनि ४१ लाख नाघेको छ । तर पछिल्ला दिनमा दैनिक मृत्यु, संक्रमण र अस्पताल भर्नाका केस ओरालो लाग्दै गएका छन् ।

बेलायतमा अहिले कोभिड संक्रमण घट्दै जानुमा मुख्यतः महिनौंदेखि लागू देशव्यापी लकडाउनकै भूमिका रहेको विश्वास गरिएको छ । तर आम रुपमा वितरण भइरहेको कोभिडविरुद्धको खोपले पनि संक्रमण घटाउन सहयोग गरिरहेको ठानिएको छ ।

संकेत सकारात्मक, यकिन नतिजा बाँकी

डेढ करोड बढी जनसंख्यालाई खोप लगाइसक्दा समेत खोपको प्रभावकारिता अझै यकिन हुन सकेको छैन । प्रारम्भिक रुपमा खोपले काम गरिरहेको देखिएपनि यससम्बन्धी पूर्ण नतिजा आउन अझै केही हप्ता लाग्ने बताइन्छ ।

नेप्लिज डक्टर्स एशोसिएसन यूकेका अध्यक्ष समेत रहेका डा रमेश खोजु भन्छन्, ‘प्रारम्भिक रुपमा खोपले काम गरिरहेको छ भन्ने देखिएको छ । तर यसको प्रभावकारिताबारे यकिन गर्न सकिने पर्याप्त तथ्यांक अझै उपलब्ध छैन । केही हप्ता पर्खिनुपर्नेछ ।’

सामान्यतः खोपको प्रभाव देखिन तीन साता लाग्ने बताइएको छ । खोप लिइसकेका मानिसमा फेरि संक्रमण हुने सम्भावना कम रहने र संक्रमण भइहालेको अवस्थामा त्यसलाई जित्न सहज हुने ठानिएको डा खोजुले बताए ।

‘अघिल्लो साता बेलायतमा कोभिड खोप लिने ८० वर्ष माथिका मानिसमा एन्टीबडी १६ प्रतिशत पाइएको थियो । तर पछिल्लो हप्ता त्यो मात्रा बढेर ४१ प्रतिशत पुगेको तथ्यांक छ’, डा खोजु भन्छन्, ‘यसबाट के देखिन्छ भने ८० वर्ष नाघेका मानिसहरुमा पनि खोपले काम गरिरहेको छ ।’

खोप र यसको प्रभावकारितासम्बन्धी सम्पूर्ण तथ्यांक बेलायत सरकारले पारदर्शी रुपमा सार्वजनिक नगरेको गुनासो समेत कतिपयले गरिरहेका छन् ।

नयाँ भेरियन्टमा पनि प्रभावकारी

अहिले वितरण भइरहेका कोभिडविरोधी खोपले कोरोनाका नयाँ भेरियन्टको हकमा काम गर्छन् कि गर्दैनन् भन्ने चासो सर्वत्र छ । बेलायतको हडर्सफिल्ड युनिभर्सिटीमा कार्यरत पब्लिक हेल्थ विषयका प्राध्यापक डा पदम सिम्खडाका अनुसार खोपले नयाँ भेरियन्टमा काम गर्ने वा नगर्ने भन्ने भेरियन्टको प्रकृतिमा निर्भर रहन्छ ।

‘बेलायतमा फेला परेको नयाँ प्रकृतिको केन्ट भेरियन्टको केसमा फाइजर र एस्ट्राजेनेका दुवै खोपले काम गरेका छन् । ब्राजिलमा भेटिएको भाइरसको हकमा पनि यी दुवै खोप प्रभावकारी छन्’, डा सिम्खडाले भने, ‘तर साउथ अफ्रिकन भेरियन्टमा दुवै खोपले काम नगरेको रिपोर्ट छ ।’

उनका अनुसार कोरोना भाइरसको लागि निर्मित खोपलाई सोहि भाइरसको नयाँ भेरियन्टका पनि काम गर्ने बनाउन सकिन्छ । ‘शुरुमा खोप विकास गर्नु जति कठिन छ, पछि कुनै नयाँ भेरियन्टका लागि मोडिफाइ गर्नु त्यति कठिन हुँदैन’, उनले भने, ‘त्यसैले कुनै भेरियन्टमा काम नगर्दैमा पनि आत्तिहाल्नुपर्ने अवस्था छैन । मोडिफाइ गरेर उपयोगी बनाउन मिल्छ ।’

भारतमा उत्पादन भएर अहिले नेपालमा वितरण भइरहेको खोप बेलायतमा निर्मित एस्ट्राजेनेकाकै खोप हो । त्यसैले अहिले बेलायतमा देखिएको एस्ट्राजेनेकाको प्रभावकारिता नेपालमा बाँडिएको खोपबाट पनि अपेक्षा गर्न सकिने डा सिम्खडाको भनाइ छ ।

नेपालमा कोभिड संक्रमणमा आएको गिरावट भने विश्वकै लागि आश्चर्यजनक रहेको उनको भनाइ छ । ‘यो एउटा चाखलाग्दो अध्ययनको विषय बन्न सक्छ । नेपालको हावापानी, खानाको बानी, जीवनशैली जस्ता पक्षमध्ये कुन कारणले संक्रमण कम भयो भन्ने अध्ययन हुन सके त्यो विश्वका लागि पनि उपयोगी हुनसक्छ’ , उनले भने ।

किन हट्दैन लकडाउन ?

बेलायतमा अहिले तेस्रो चरणको देशव्यापी लकडाउन छ । पछिल्लो एक वर्षको अवधिमा आधा भन्दा बढी समय देशले लकडाउन व्यहोरेको छ । लकडाउन हटाइएको अवधिमा पनि अन्य थुप्रै प्रतिवन्धहरु कार्यान्वयनमा थिए ।

संक्रमण घट्न थालेपछि यतिबेला सरकार लकडाउनबाट बाहिरिने रणनीति बनाउन गृहकार्यमा जुटेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार लकडाउनबाट सामान्य जनजीवनतर्फ फर्किने चरणबद्ध योजना घोषणा गर्दैछन् । तर सरकारको लक्ष्यअनुसार पनि लकडाउन पूरै अन्त्य हुन अझै केही महिना लाग्ने निश्चित छ ।

व्यापक रुपमा कोभिड खोप वितरण भइरहँदा समेत बेलायतले तत्काल लकडाउनबाट मुक्ति पाउने सम्भावना देखिंदैन ।

अहिले संक्रमण नियन्त्रणउन्मुख छ । तर फेरि बढ्दैन भन्ने ग्यारेन्टी अझै छैन । ‘विगतमा बेलैमा कडाइ नगर्दा वा चाँडै लकडाउन हटाउँदा ठूलो क्षति व्यहोर्नुपरेको तथ्य सरकारले अनुभुत गरेको छ’, जनस्वास्थ्यविज्ञ समेत रहेका डा सिम्खडा भन्छन्, ‘अब यसपटक त्यो गल्ती दोहोर्याउने पक्षमा सरकार छैन । ढुक्क बनेपछि मात्रै लकडाउन हटाउने मनसाय देखिन्छ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू