शुक्रबार, चैत १६, २०८०
09:55 | १५:४०

इंग्ल्याण्डको जनगणनामा सहभागिताबारे डाटफोर्ड नेप्लिज सोसाइटीमा छलफल

नेपाली लिङ्क फ्रेब्रवरी १९, २०२१

लन्डन । इंग्ल्याण्डको राष्ट्रिय जनगणनामा नेपालीको सहभागिता बढाउने अभियानअन्तर्गत डाटफोर्डमा एक कार्यक्रम सम्पन्न भएको छ । डाटफोर्ड नेप्लिज सोसाइटी र गैरआवासीय नेपाली संघ यूके इंग्ल्यान्ड राज्य परिषदको सहकार्यमा मंगलबार आयोजित भर्चुअल कार्यक्रममा जनगणनामा सहभागिताको महत्वबारे छलफल भयो । ‘हामी नेपालीको पहिचानको लेखांकन, हाम्रो अभियान’ भन्ने मूल नारासहित जनगणनामा नेपालीको सहभागिता कसरी बढाउने भन्नेबारे छलफल गरिएको थियो ।

कार्यक्रममा बेक्स्ली नेप्लिज कम्युनिटी, मेडिस्टन गोर्खा नेप्लिज कम्युनिटी, फोकस्टन नेप्लिज कम्युनिटी, सगरमाथा गोर्खा नेप्लिज कम्युनिटी आसफोर्ड, क्यान्टेबरी नेप्लिज कम्युनिटी, संखुवासभा समाज र सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् लगायतका संस्थाहरुको सहभागिता थियो ।

आगामी जनगणनामा सम्पूर्ण नेपालीहरुलाई सहभागी गराएर नेपालीको पहिचान र लेखांकनलाई स्थापित गर्ने अभियानका रुपमा उक्त सचेतना कार्यक्रम आयोजना गरिएको  डाटफोर्ड नेप्लिज सोसाइटी यूकेका अध्यक्ष गजेन कटवालले बताए । बेलायतमा रहेका नेपालीहरुको वास्तविक उपस्थितिलाई जनगणनामा समावेश गरि सामाजिक सेवा सुविधावापतको हक अधिकार कायम गर्न आफूहरु अभियानको रुपमा लागेको भन्दै उनले सबैलाई सहयोग पुर्याउन आग्रह गरे ।

कार्यक्रममा अफिस फर नेश्नल स्टाटिस्टिकस् (ओएनएस) का एड्भाइजर  समिर गुरुङ,  सेन्टर फर नेप्लिज स्टडिजका संस्थापक तथा अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक डा. कृष्ण अधिकारी, एनआरएनए इंग्ल्याण्ड राज्य परिषद्का अध्यक्ष दीपक श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

ओएनएसका एड्भाइजर समिर गुरुङले जनगणनाको विधि र प्रक्रियाका बारेमा स्पष्ट पारेका थिए । जनगणनामा सहभागी हुन सम्पूर्ण नेपालीहरुलाई आग्रह गर्दै उनले यसबाट नेपाली समाजलाई प्रशस्त फाइदा हुने बताए । नेपालीको आफ्नो पहिचान स्थापना गर्न सके शिक्षा, स्वास्थ्य, यातयात लगायत विभिन्न क्षेत्रमा निर्माण हुने सामाजिक नीति नियम निर्माणको लागि सहयोग पुग्ने गुरुङले बताए ।

जनगणनामा उल्लेख गरिएका व्यक्तिगत विवरणहरु गोप्य रहने र एक सय वर्षसम्म सुरक्षित राखिने र त्यसपछि मात्र इतिहासको रुपमा शेयर गरिने भएकोले ढुक्कले आफ्नो विवरण उल्लेख गर्न उनले आग्रह गरे । यसका साथै भिसा समस्यामा रहेकाको पनि तथ्याँक गोप्य रहने हुँदा निर्धक्कसंग सहभागी हुन उनले सल्लाह दिएका छन् ।

त्यसअवसरमा प्राध्यापक कृष्ण अधिकारीले पनि बेलायतमा यसअघिका जनगणना र नेपाली सहभागितासम्बन्धि तथ्यांक प्रस्तुत गरेका थिए ।  सन् २००१ को जनगणना, सिएनएस यूके जनगणना २००८, सन् २०११ को जनगणना, लगायतका अनुभव सुनाउँदै उनले आगामी जनगणनामा नेपालीको सहभागिताका सवालमा रहेका चुनौती र लिनुपर्ने रणनीतिबारे प्रष्ट्याएका थिए ।

गैरआवासीय नेपाली संघ यूके, इंग्ल्याण्ड राज्य परिषद्का अध्यक्ष दीपक श्रेष्ठले पनि जनगणनाको तयारी र अभियानबारे बताए । थप प्रभावकारी बनाउन विभिन्न सेलिब्रेटीहरुको पनि सहयोग प्राप्त भएको उनले बताए । बिबिसी मास्टर सेफका उपविजेता सन्तोष साह, गौरीका सिंह लगायतको भिडियो तथा गीतहरु पनि तयार भइरहेको श्रेष्ठले जानकारी दिए ।

विभिन्न संघसंस्थाले पनि सहयोगको प्रतिबद्धता जनाएको भन्दै उनले अन्य सम्पूर्ण बेलायतवासीलाई सक्दो सहयोग गर्न र जनगणना अभियान सफल पार्न अनुरोध गरेका छन् ।

बेलायतका चारवटा राज्यहरूमध्ये इंग्ल्यान्ड, वेल्स र नर्दन आयरल्याण्डमा यसै वर्ष जनगणना हुँदैछ भने स्कटल्याण्डमा सन् २०२२ मा मात्र हुनेछ । इंग्ल्यान्ड र वेल्सको जनगणना अफिस फर नेश्नल स्टाटिस्टिकस् (ओएनएस) ले र नर्दन आयरल्याण्डको जनगणना नर्दन आयरल्याण्ड स्टाटिटिक्स एण्ड रिसर्च एजेन्सीले गर्ने गर्दछ ।

सन् २०२१, मार्च २१ मा हुने जनगणनाका लागि नेपाली भाषामा पोष्टर, लिफलेट र आवश्यक परेमा नेपाली भाषा बोल्न सक्ने दोभाषेको पनि व्यवस्था गरिएको छ । हालसम्म नेपालीको कुनै पनि ‘इथ्निक क्याटगोरी’ नभएको हुँदा ‘हामी नेपालीको पहिचानको लेखांकन, हाम्रो अभियान’  भन्ने नारासहित आगामी २१ मार्चमा हुने जनगणना २०२१ सफल पार्न सबै बेलायतवासी नेपालीलाई आग्रह गरिएको छ  ।

बेलायतको जनगणना ऐन १९२० अनुसार बेलायतमा बसोबास गर्ने हरेक व्यक्तिले जनगणनामा सहभागी हुनैपर्छ । जनगणनामा भाग नलिएमा वा गलत सूचना दिएमा १ हजार पाउण्डसम्म जरिवाना हुनसक्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू