शुक्रबार, चैत १६, २०८०
08:23 | १४:०८

बेलायतको राष्ट्रिय जनगणनामा सहभागी बन्दा नेपालीलाई के फाइदा ?

कुमार केसी फ्रेब्रवरी १८, २०२१

संसारका प्राय सबै देशहरुले हरेक दश वर्षमा आफ्नो देशको जनसंख्याको गणना गर्ने गर्छन् । बेलायतको पहिलो आधिकारिक जनगणना १० मार्च १८०१ मा भएको देखिन्छ । त्यस यता दोस्रो विश्वयुद्धको समयमा बाहेक हरेक १० वर्षमा नियमित रूपमा जनगणना हुँदै आएको छ । यसभन्दा पहिले २७ मार्च २०११ भएको थियो भने यस वर्ष २१ मार्च २०२१ मा हुँदैछ ।

बेलायतका चारवटा राज्यहरूमध्ये इङ्गल्यान्ड, वेल्स र नर्दन आयरल्याण्डमा यस वर्ष जनगणना हुँदै छ भने स्कटल्याण्डले भने कोभिडको कारण देखाएर अर्को वर्ष २०२२ मा सारेको छ । यस लेखमा खासगरी बेलायतमा हुने राष्ट्रिय जनगणनामा नेपाली समुदायको सहभागिता किन आवश्यक छ भन्ने बारे छोटो चर्चा गरिएको छ ।

के हो राष्ट्रिय जनगणना ?

हरेक देशले जनगणनालाइ एउटा पर्वको रूपमा लिएको पाइन्छ । जनगणनामा हरेक घरमा बस्ने मानिसको अझै भनौं यस बर्ष बेलायतमा २१ मार्च २०२१ को राति बास बसेको प्रत्येक व्यक्तिको विवरण भरिन्छ । यस जनगणनामा घरायसी प्रश्नावलीमा ३२ पेज र तीन खण्डहरु हुन्छन्: पहिलो खण्डमा घर/डेराको बारेमा, दोस्रोमा उक्त ठेगानामा एकाघरमा बस्ने प्रत्येकको व्यक्तिगत र तेस्रो (अन्तिम पेज) मा मार्च २१ को दिन आएका पाहुनाको बारेमा विवरण भर्नु पर्ने हुन्छ ।

व्यक्तिगत विवरणमा हरेक व्यक्तिको नाम, जन्ममिति, वैवाहिक अवस्था, आफुले मान्ने  धर्म, एथ्निसिटी, स्वास्थ्य अवस्था, शैक्षिक अवस्था, यौनिकता, काम तथा रोजगारीको अवस्था आदि लगायतका विवरण भर्नु पर्ने हुन्छ। यो पटक डिजिटल फ्रस्ट कार्यक्रम अन्तर्गत अनलाइनमा नै फाराम भर्ने गरि कोड पठाइएको हुन्छ ।

तर अनलाइन फाराम नभरि कागजको फारम मगाएमा कतिजनाको विवरण भर्नु पर्ने हो सो अनुसार फाराम मगाउनु पर्ने हुन्छ । जनगणनाबाट सङ्कलित तथ्याङ्क सरकार, स्थानीय निकायहरू, च्यारिटी संस्थाहरू, अनुसन्धानकर्ताहरूले प्रयोग गर्ने अति नै विश्वसनीय सूचना हो । यसै तथ्यांकका आधारमा आवश्यकता पहिचान गर्ने नीति बनाउने, बजेट छुट्याउने गरिन्छ ।

यसै सूचनाबाट समुदायका लागि शिक्षा, स्वास्थ्य, रोजगार, यातायात लगायतका अत्यावश्यक सेवा आदिका बारेमा योजना बनाउने गरिन्छ । व्यापार, उद्योग, कलकारखानाहरू समेत खोल्ने योजना बनाउन यो तथ्यांक सहायक हुने भएकाले यसबाट स्थानीय समुदायमा रोजगारीको अवसर पनि उपलब्ध हुन सक्छ ।

बेलायतको राज्यहरुमा इङ्गल्यान्ड र वेल्सको जनगणना अफिस फर न्याशनल स्टाटिस्टिकस् (ओएनएस) ले स्कटल्याण्डको न्याशनल रेकर्ड अफिस अफ स्कटल्याण्डले गर्छ भने नर्दन आयरल्याण्डको जनगणना नर्दन आयरल्याण्ड स्टाटिटिक्स एण्ड रिसर्च एजेन्सीले गर्ने गर्दछ ।

नेपालीहरुको सहभागिता किन आवश्यक छ ?

पहिलो कुरा, बेलायतको जनगणना ऐन १९२० अनुसार बेलायतमा बसोबास गर्ने हरेक व्यक्तिले जनगणनामा सहभागी हुनै पर्छ । जनगणनामा भाग नलिएमा वा गलत सूचना दिएमा १ हजार पाउण्डसम्म जरिवाना हुनसक्छ । स्मरणीय कुरा के छ भने जनगणनाको फाराममा रहेका जवाफ दिए पनि हुने नदिए पनि हुने इच्छाधिन प्रश्नको जवाफ नदिएको अवस्थामा भने यस्तो जरिवाना हुँदैन (अहिलेको प्रश्नावलीमा यस्ता प्रश्न तीन ओटा मात्र छन्) ।

दोस्रो कुरा, गएको १० वर्षमा कुनै गणना नभएको र विगतको जनगणना पनि धेरै नेपालीहरू छुटेको हुँदा बेलायतमा अहिले रहेका नेपाली समुदायको ठ्याकै संख्या यति नै भनेर भन्न सकिन्न । यद्यपी यो संख्या करिब १ लाख भन्दा बढी रहेको यो क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था सेन्टर फर नेपाल स्टडिज युकेको रहेको छ ।

तर यसको आधिकारिक पुष्टि जनणनाले मात्र गर्न सक्छ जसको लागि कोही पनि गणनामा छुट्नु हुँदैन । ओएनएसका अनुसार जन्मेको देशका आधारमा सन २००१ को जनगणनामा नेपालीहरूको संख्या ५ हजार ९४३ रहेको थियो भने २०११ मा इङ्गल्यान्ड र वेल्समा गरी ६० हजार २०२ र  स्कटल्यान्डमा  १२९८ रहेको देखिन्छ तर २००८ मा नै सिएनएसले गरेको तथ्यांक संकलनमा करिब ७२ हजार जनसंख्या रहेको उल्लेख छ । यस पटक नेपालीको ठ्याकै संख्या निकाल्न पनि यसमा सहभागी हुन आवश्यक छ ।

तेस्रो कुरा, नेपालीहरू बेलायतमा प्राय: पहिलो पुस्ताका आप्रवासीका रूपमा छौं । बेलायतको विभिन्न स्थानमा रोजगारी, पेसा व्यवसाय गरी बसोबास गर्ने नेपालीहरू विभिन्न संघ संगठनमा आवद्ध पनि छौं तर निकै निम्न संख्याको कारण हामी बेलायतको सरकारी तथ्यांकमा हाम्रो पूर्व लिखित पहिचान नहुँदा हामीले अन्य एसियाली समूह अन्तर्गत खाली कोठामा आफैंले नेपाली लेख्नु परिरहेको अवस्था छ ।

अर्को शब्दमा हाम्रो आफ्नै मान्यता प्राप्त ‘इथ्निक क्याटागोरी’ छैन । त्यसैले यो जनगणना हाम्रो वास्तविक जनसंख्या पत्ता लगाएर नेपाली समूहमा वर्गीकृत हुनका लागि आधार तयार गर्ने राम्रो अवसर हो । त्यसको लागी हरेक दश वर्षमा एकपटक मात्र आउने यस्ता दुर्लभ अवसरहरूको भरपूर उपयोग गर्न सक्नुपर्दछ ।

यस जनगणनामा नेपाली समुदायको यथार्थ विवरण आउन सकेमा यसबाट नेपाली समुदायलाई बेलायतका स्थानीय काउन्सिलहरू, स्वास्थ्य सेवा, शैक्षिक क्षेत्र लगायतबाट पर्याप्त सेवाहरू उपलब्ध हुन सक्नेछन् । सरकारले जारी गर्ने स्वास्थ्य लगायतका महत्वपूर्ण सूचनाहरू नेपाली भाषामा प्रकाशन हुनेछन् । विभिन्न निकायमा लिइने अभिलेखहरूमा आफ्नो पहिचानमा नेपाली लेख्ने महल खडा हुन सक्नेछ । यसबाट हाल युकेमा रहिरहेका नेपालीलाई मात्र होइन भविष्यका नेपाली पुस्तालाई पनि फाइदा पुग्नेछ ।

कसरी सहभागी हुने ?

नेपाल अध्ययन केन्द्र (सिएनएस) सँग यस जनगणनाका लागि सहकार्य गरिरहेका नेपाल पत्रकार महासंघका अध्यक्ष्य नरेश खपांगी मगरका अनुसार ओएनएसले मार्च महिनाको सुरुतिर हरेक घरघरमा एउटा विशेष कोड समावेश भएको पत्र पठाउने छ सो संकेतको प्रयोग गरी इन्टरनेटबाट सजिलै आफ्नो परिवारको विवरण भरेर पठाउन सकिन्छ ।

इन्टरनेटको सुविधा नभएका वा उपकरण चलाउन नजान्नेहरूका लागि कागजको फाराम पनि मगाउन सकिन्छ । एउटा फाराममा परिवारका पाँच जनासम्मको विवरण भर्न सकिन्छ । त्यसमा परिवारका सबै सदस्यको विवरण नअटाएमा थप फाराम मगाउन सकिन्छ ।

प्रश्नावली नबुझिएमा हेर्नका लागि नेपाली भाषामा पनि फाराम र निर्देशिका मगाउन वा डाउनलोड गर्न सकिन्छ । तर जनगणना फाराम भने अंग्रेजीमा हुन्छ र अंग्रेजीमै भर्नुपर्ने हुन्छ । यदि कसैलाई अंग्रेजी भाषामा समस्या पर्यो भने मद्दत गर्नका लागि खटाएका व्यक्तिहरू, आफूले चिनेको भरपर्दो अन्य कुनै मानिस वा हामी विभिन्न संघ संस्थाका व्यक्तिहरुले सघाउन सक्छौं।

जनगणनाको समय तालिका

सिएनएसका पूर्व निर्देशक तथा अक्सफोर्ड विश्वबिद्यालयका मानव शास्त्र विभागमा कार्यरत डा. कृष्ण प्रसाद अधिकारी भन्नुहुन्छ- ‘जनगणनाको कागजी फाराम मेसिनले पढ्ने भएकाले फाराम भर्दा सफा र प्रष्ट हुनुपर्दछ । यदि भर्दाभर्दै फाराम धेरै केरमेट भयो वा च्यातियो भने अर्को फाराम मगाउन सकिन्छ ।’

जनगणनाको फाराम आफैँले भर्न नसके आफ्नो विश्वासिलो अरुलाई पनि भर्न लगाउन सकिन्छ । जनगणना भर्नका लागि कोड आएपछि तुरुन्त भर्न मिल्छ मार्च २१ सम्म नै कुरिरहन पर्दैन । तर मार्च २१ भित्र कुनै कारणवश फाराम भर्न सकिएन भने पनि धन्धा नमान्नुहोस् कोरोना महामारीका कारण त्यसको केही सातासम्म पनि ओएनएसले तथ्याङ्क संकलन जारी राख्ने भएको छ ।

स्मरणीय कुरा के छ भने बेलायतमा कानुनी रूपमा बसेका नागरिक बाहेक गैरकानुनी रूपमा बसिरहेको, कुनै भत्ता वा सुविधा पाइरहेको तथा कर तिर्न बाँकी रहेको भएपनि जनगणनामा सामेल हुँदैमा त्यसले कुनै असर पर्दैन । जनगणना सम्पन्न भएपछि प्रकाशन गरिने तथ्यांकमा कतै पनि कसैको व्यक्तिगत विवरण प्रकाशन गर्न पाइँदैन ।

जनगणनामा लगत लिने राष्ट्रिय तथ्यांक कार्यालय स्वतन्त्र निकाय भएकाले सरकारले उसलाई दबाब दिएर व्यक्तिगत तथ्यांक लैजान पाउँदैन ।
यस वर्ष २१ मार्चमा हुने यस जनगणनामा सबै नेपालीहरु सहभागी बनौँ । हाम्रा समुदायका सबैजना सक्रियता र सचेततापुर्बक सहभागी बनेर वास्तविक तथ्यांक ल्याउने कोसिस गरौँ । दश वर्षमा एकपटक मात्र आउने यस्तो दुर्लभ अवसरहरूको भरपूर उपयोग गर्न जरुरी छ ।

श्रोतहरु:

  • Adhikari, K.P., & Laksamba, C.K. 2018. Counting Ourselves: CNSUK’s Survey of Nepalis in the UK 2008. In D.N. Gellner and S.L. Hausner (eds.), Global Nepalis: Religion and Culture in a New Diaspora, Delhi: Oxford University Press, pp. 303–31.
  • बेलायतको राष्ट्रिय जनगणना र नेपालीको सहभागिता – नरेश खपांगी मगर
  • नेपाल अध्ययन केन्द्र (सिएनएस) को तथ्यांक संकलन प्रतिबेदन २००८
  • https://census.gov.uk/
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू