बिहीबार, वैशाख ६, २०८१
01:37 | ०६:२२

बेलायतमा कोभिड खोप लिंदा इमिग्रेसन स्टाटस जाँच नहुने, इलिगल इमिग्रेन्टलाई पनि ढुक्क

नेपाली पनि हुनेछन् लाभान्वित

नेपाली लिङ्क फ्रेब्रवरी ९, २०२१

फाइल तस्विर

लन्डन । बेलायतले कोभिड खोप वितरणको अभियानमा गैरकानूनी रुपमा बसेका विदेशीहरुप्रति पनि लचकता अपनाउने भएको छ ।  

कोभिड खोप लिन आउने क्रममा कुनै पनि गैरकानूनी विदेशीलाई पक्राउ गरी डिपोर्ट नगरिने सरकारले स्पष्ट पारेको छ । जसका लागि कोभिड खोप लिन आउने क्रममा कसैको पनि इमिग्रेसन स्टाटस जाँच नगरिने भएको छ ।  

पक्राउ परी देश निकाला हुने डरले गैरकानूनी इमिग्रेसन स्टाटसमा रहने हजारौं मानिसहरु कोभिड खोप लिन समेत नआउने जोखिम  देखिएपछि सरकारले खोप लिन आउंदा ‘डिपोर्टेसन्’ को खतरा नरहने स्पष्ट पारेको हो ।  

बेलायत सरकारका मन्त्रीहरुले देशभित्र रहेका सम्पूर्ण मानिसलाई खोप दिलाउने प्रयासमा गैरकानूनी आप्रवासीहरुलाई पनि समेट्न खोजिएको बताएका छन् । उनीहरुलाई आफू नजिकको जीपी सर्जरीमा नाम दर्ता गराउन आव्हान गरिएको छ ।  

इमिग्रेसन स्टाटस नहुनेहरु समेतलाई कोभिड खोप निशुल्क बांडिने बेलायत सरकारले घोषणा गरेको छ ।  

खोपका बेला अपनाइएको लचकता अन्य अवस्थामा भने लागू नहुने स्पष्ट पारिएको छ । कोभिड खोप लिएकै आधारमा इमिग्रेसन स्टाटस नहुनेहरुलाई सधैंको लागि डिपोर्टेसनबाट छुट मिल्ने छैन् ।  

यसअघि कोभिड महामारी शुरु भएपछि बेलायतले कोभिड परीक्षणका क्रममा पनि इमिग्रेसन स्टाटस जाँच नहुने प्रबन्ध गरिसकेको थियो ।  

नेपाली पनि हुनेछन् लाभान्वित 

कोभिड खोप वितरणका क्रममा इमिग्रेसन स्टाटस जाँच नहुने व्यवस्थाबाट बेलायतस्थित कयौं नेपालीले पनि लाभ लिने भएका छन् ।  

यकिन तथ्यांक नभएपनि बेलायतमा गैरकानूनी रुपमा बसिरहेका वा इमिग्रेसन स्टाटससम्बन्धी विभिन्ना समस्या रहेका सयौं नेपाली लाभान्वित हुने आँकलन छ ।  

‘गैरकानूनी रुपमा बसिरहेका मात्रै नभइ इमिग्रेसनसम्बन्धी समस्या भएका वा अदालतमा इमिग्रेसन मुद्धा चलिरहेका पनि धेरै नेपाली हुनुहुन्छ । उहाँहरु सबैमा कतै अनावश्यक लफडामा परिन्छ कि भनेर खोप लिन जान हिच्किचाहट देखिन्थ्यो’- बेलायतस्थित इमिग्रेसन एड्भाइजर एवम् भिजा क्वेस्ट यूकेका निर्देशक विष्णु खरेल भन्छन्, ‘इमिग्रेसन स्टाटस नै जाँच नहुने भएपछि इमिग्रेसन समस्या हुनेहरु पनि ढुक्क बनेर खोप लिन जान सक्नेछन् ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू