शुक्रबार, चैत १६, २०८०
01:57 | ०७:४२

बेलायत आउने तयारीमा हङकङका बीएनओ नेपाली

नेपाली लिङ्क फ्रेब्रवरी २, २०२१

लन्डन । ब्रिटेनले आइतबारदेखि हङकङका वासिन्दाहरुलाई आफ्नो मुलुकमा बसोबास गर्न दिने नयां नियम लागू गरेपछि त्यहां रहेका नेपाली समेत लाभान्वित हुने भएका छन् ।

त्यहां बसोबास गरिरहेका झन्डै तीन लाख मानिसले आवेदन दिन सक्ने अनुमानबीच नेपाली पनि बेलायतलाई कर्मथलो बनाउने तयारीमा लागेका हुन् ।

विगत दुई दशक भन्दा बढी समयदेखि हङकङ र हाल वानचाई बस्दै आएकी सोनी प्रधान श्रीमान र दुई छोरासहित बेलायत आउने तयारीमा छिन् । कोरोना महामारी र केही आफन्तले अहिले बेलायतमा काम पाउन समस्या छ भनेपछि आफू अलिकति सोचमग्न भएपनि छिट्टै बेलायत आउन आतुर रहेको उनले नेपाली लिंकसंग बताइन् ।

‘वास्तवमा हामी बच्चाहरुको पढाइका लागि बेलायत आउन लागेका हौं’, उनले भनिन् ‘बच्चाले पनि हङकङ भन्दा बेलायतको पढाइ नै राम्रो हुन्छ जाउं भनेर रहर गरे । कोरोना महामारी कम हुने बित्तिकै बेलायत आउंछौं ।’

हङकङ नेपाली मञ्च यूकेका अध्यक्ष ह्यारी गुरुङले बेलायत आउने तयारी गरिरहेका कयौं साथीले आफूलाई सम्पर्क गरेको बताए । ति नेपालीलाई आफ्नो संस्थाले मार्गनिर्देशन गरिरहेको ह्यारीको भनाइ छ ।

उनका अनुमानमा हङकङमा बीएनओवाहक नेपाली करिब ३ सय परिवार बांकी हुन सक्छन् । हङकङबाट बीएनओ लिएर बेलायत आइसकेका नेपाली र तिनका परिवारको संख्या भने अहिले करिब २० हजार हाराहारी रहेको ह्यारीले बताए । ‘निशुल्क स्वास्थ सेवा, भेदभावरहित समाज, राम्रो शिक्षा र धेरै अवसरले गर्दा हङकङभन्दा बेलायतमा नेपाली आकर्षित हुनु स्वभाविक हो’ उनले भने ।

हयारी बेलायतको नयां अफरले विभिन्न कारणवश दुईतिर अल्झिन वाध्य नेपाली पनि अब बेलायतमा पुनर्मिलन गर्न सक्ने विश्वास व्यक्त गर्छन् ।

नयां नियम अनुसार ब्रिटिश नेशनल ओभरसिज 
(बीएनओ) राहदानी वाहक तथा तिनमा आश्रित सन्तानले द्रुत गतिमा ब्रिटिश नागरिकता प्राप्त गर्न सक्नेछन् । बेलायतको गृह मन्त्रालय (होम अफिस) ले जुलाईयता हङकङबाट करिब ७ हजार जना बेलायत आएर ’सेटल्ड’ भइसकेका जनाएको छ ।

आइतबारदेखि खुल्ला गरिएको विशेष भिसा स्किम अफरको लाभ पहिलो ५ वर्षमा करिब तीन लाख जनाले लिने अपेक्षा गरिएको छ । यद्यपि, हङकङका २९ लाख नागरिक र करिब २३ लाख तिनका आश्रित (डिपेन्डेन्ट्स) बेलायत आउन योग्य रहेका बीबीसीले जनाएको छ ।

चीनले हङकङमा नयां सुरक्षा कानून लागू गरे पछि ब्रिटेनले नयां भिसा योजना शुरु गरेको हो । हङकङमा गत जुलाई १ तारिखदेखि सुरक्षासम्बन्धी नयां कानून लागू गरिएको छ जसमा पृथकतावाद, राज्यद्रोह, आतंकवाद र विदेशी शक्तिसंगको सांठगांठजस्ता गतिविधिमा संलग्नलाई मृत्युदण्डसम्मको सजाय दिन सक्ने प्रावधान छ ।

हङकङमा सन् १९९७ अघि रहेका नागरिकप्रति बेलायतको विशेष जिम्मेवारी र दायित्व रहने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू