शुक्रबार, चैत १६, २०८०
14:57 | २०:४२

इंग्ल्याण्डमा केयर होममा बस्ने सबै वृद्ध-वृद्धाले पाए कोभिड खोप

बेलायतमा झण्डै ९० लाखले लगाए कोभिड खोप

नेपाली लिङ्क फ्रेब्रवरी १, २०२१

लन्डन । इंग्ल्याण्डमा केयर होममा बस्दै आएका सबै वृद्ध-वृद्धाले कोभिड खोप पाएका छन् । एनएचएस इंग्ल्याण्डले कोभिड खोप पाउनको लागि योग्य केयर होमका हरेक बासिन्दालाई खोप दिइसकिएको जनाएको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले केयर होम बासिन्दाका लागि लक्ष्य राखेअनुसारकै गतिमा खोप वितरण पूरा हुनुलाई निकै महत्वपूर्ण ‘माइलस्टोन’ (कोशेढुंगा) भनेका छन् ।

महामारीबाट बाहिरिने बाटो नै कोभिडविरुद्धको खोपको वितरण रहेको बताउँदै प्रधानमन्त्री जोन्सनले संक्रमण र अस्पताल भर्नाका केस अझै पनि उच्च रहेकाले अवस्था सहज भइनसकेको बताएका छन् ।

एनएचएस इंग्ल्याण्डका अनुसार वृद्धवृद्धाहरु बस्दै आएका झण्डै १० हजार केयर होमहरुमा खोप बाँडिएको छ । झिनो संख्याका केही क्षेत्रमा मात्रै संक्रमण बढी फैलिएका कारण खोप वितरणमा ढिलाई गरिएको छ । ती क्षेत्रमा अवस्था सहज हुनेवित्तिकै खोप वितरण गरिनेछ ।

बेलायतले फेब्रुअरी १५ भित्रमा केयर होमका सम्पूर्ण बासिन्दा र त्यहाँ कार्यरत स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई कोभिड खोप दिइसक्ने लक्ष्य लिएको छ ।

गत शनिबार मात्रै बेलायतमा करिब ६ लाख मानिसलाई कोभिड खोपको पहिलो डोज दिइएको थियो । हालसम्म झण्डै ९० लाख मानिसले कोभिड खोप लगाएका छन् । खोपका दुवै डोज पाउने मानिसको संख्या पनि ५ लाख पुग्नै लागेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू