शनिबार, वैशाख ८, २०८१
08:24 | १३:०९

बेलायतको अल्डरसटमा ७० कटेका नेपालीलाई बिना अपोइन्ट्मेन्ट कोभिड खोप

नेपाली लिङ्क जनवरी ३०, २०२१


लन्डन । बेलायतको अल्डरसटमा बस्दै आएका नेपाली समुदायका ज्येष्ठ नागरिकहरुलाई अग्रिम अपोइन्टमेन्ट बुकिङ बिनै कोरोना खोप वितरण गरिने भएको छ ।

आउंदो सोमबार फेब्रुअरी १ देखि शुक्रबार फेब्रुअरी ५ तारिखसम्म ७० वर्ष उमेर माथिका नेपालीहरुले अल्डरसट प्रिन्सेस हल खोप केन्द्रमा सिधै लाइनमा बसेर खोप लगाउन पाउने ग्रेटर रश्मोर नेपाली कम्युनिटीका पूर्व अध्यक्ष जीव बेल्वासेले जानकारी दिए ।

अल्डरसट क्षेत्रको खोप वितरण अभियानको नेतृत्व गरिरहेका प्राइमरी केयर नेट्वर्क (पिसिएन) डाइरेक्टर डा लुइस पेन र स्वयमसेवक लिडर एवम् काउन्सिलर उम्मेद्वार शाम ट्रस्लरसँग शनिबार बिहान भएको छलफलपछि स्थानीय नेपालीको लागि विशेष व्यवस्था गरिएको बेल्वासेले बताए ।

बेलायतमा नेपालीहरु र अझ विशेष भूतपूर्व गोर्खाहरुको सबैभन्दा बाक्लो बसोबास रहेको अल्डरसटमा नेपालीहरुको लागि गरिएको यो व्यवस्थाबाट धेरै लाभान्वित हुनेछन् ।

‘पूर्व गोर्खासहितका नेपालीको लागि कोभिड खोप लिने प्रक्रिया जटिल बनेको हामीले महशुस गर्यौं । एनएचएसले पठाएको पत्र पढेर बुकिङ गर्नुपर्ने प्रक्रिया झन्झटिलो हुँदा कयौं नेपाली खोपबाटै वन्चित हुन्छन् कि भन्ने चिन्ता हामीलाई भयो’, आसन्न स्थानीय निर्वाचनमा अल्डरसटका काउन्सिलर उम्मेद्वार समेत रहेका बेल्वासेले भने, ‘खोप लिने क्रममा नेपाली समुदायले झेलेको समस्या अब कम हुन्छ भन्ने आशा छ ।’

बेल्वासेका अनुसार खोप लिनको लागि ७० वर्ष उमेर कटेका नेपालीहरु बिहान ११ बजेदेखि दिउँसो ४ बजेभित्रै लाइनमा बसिसकेको हुनुपर्नेछ । खोप केन्द्रमा जांदा आफ्नो नाम्, जन्म मिति, ठेगाना र आफूले खाइरहेको औषधिको नामका साथै आफ्नो पासपोर्ट समेत लिएर जानुपर्नेछ ।

अहिले आगामी साताको लागि मात्रै निर्धारण गरिएपनि पछि यो सुविधा लम्ब्याउन पहल गरिने बेल्वासेको भनाइ छ ।

नेपालीहरुको समस्यालाई सम्बोधन गर्न विशेष व्यवस्था मिलाउने स्थानीय खोप वितरण संयोजकहरुलाई बेल्वासेले धन्यवाद ज्ञापन गरेका छन् ।

‘उहाँहरुले पहिलेदेखि नै नेपाली समुदायसंग नजिक रहेर काम गर्दै आउनुभएको थियो । हाम्रो आग्रहलाई स्वीकारेर नेपालीका लागि विशेष व्यवस्था नै गर्नुभएकोमा हामी आभारी छौं, उनले भने ।

अल्सरसट क्षेत्रका नेपालीहरुलाई कोभिड खोपको सहज पहुंच गराउनका लागि स्थानीय ग्रेटर रश्मोर नेपाली कम्युनिटीले स्वयंसेवक परिचालन लगायतको कार्य गर्दै आएको छ ।

अध्यक्ष रामधन राई, महासचिव प्रमिला लाबुङ राईसहितको सिंगो कार्यसमिति, सल्लाहकारहरु साथै स्थानीय अन्य नेपाली संघसंस्थाका प्रतिनिधिले पनि स्वयंसेवकका रुपमा काम गर्दै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू