शनिबार, वैशाख ८, २०८१
22:57 | ०३:४२

इंग्ल्याण्डका स्कुलहरु मार्चअघि नखुल्ने, लकडाउन कहिले हट्ने अनिश्चित

नेपाली लिङ्क जनवरी २७, २०२१

लन्डन । कोरोना महामारी नियन्त्रणको प्रयासमा बन्द इंग्ल्याण्डका स्कुलहरु आउंदो मार्च महिनाअघि नखुल्ने भएका छन् ।  

स्कुलहरु खोल्न सरकारमाथि दबाब बढिरहेका बेला प्रधानमन्त्री बोरिस जोन्सनले भने मार्चअघि स्कुलहरु संचालन गर्न सम्भव नरहेको स्पष्ट पारेका छन् । अहिले लागू लकडाउन पनि त्यसअघि नहट्ने संकेत उनले गरे ।  

‘हाफ टर्म ब्रेकपछि आउंदो महिना नै स्कुल खोल्न सम्भव देखिंदैन । तर म आशा गर्छु कि मार्च महिनाको ८ तारिखबाट सुचारु हुनेछन्’, बेलायती संसदमा सांसदहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भनेका छन् ।  

स्कुलहरु नखुल्ने खबरले विद्यार्थी, शिक्षक-शिक्षिका र अभिभावक वर्गमा निराशा ल्याउनेबारे आफू सचेत रहेको तर स्कुल संचालनका लागि सुरक्षित वातावरण बन्न बाँकी रहेको उनको भनाइ छ ।  

प्रधानमन्त्री जोन्सनले अहिले लागू लकडाउन कहिलेबाट हटाउने भन्नेबारे पनि केही भन्न सकिने अवस्था बनिनसकेको बताए ।  

लकडाउन हटेर जनजीवन सामान्य बन्ने क्रमको शुरुवातमै स्कुलहरु संचालन गरिने उनले बताएका छन् ।  

कोभिड खोपको प्रभावकारितासम्बन्धी तथ्यांक फेब्रुअरी अन्तिम साता उपलब्ध हुने भन्दै प्रधानमन्त्रीले त्यसपछि मात्रै खोपबाट मिल्ने सुरक्षा, संक्रमण र अस्पताल भर्नाका केसहरुमा आउने गिरावट लगायतको आधारमा क्रमिक रुपमा लकडाउन खोल्दै जाने रणनीति तय गरिने बताए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू