शनिबार, वैशाख ८, २०८१
15:05 | १९:५०

बेलायतमा पूर्व गोर्खाहरु कोभिड खोपबाट वञ्चित

एनएचएसको पत्र नआउँदा खोप लगाउन पाएनन्

नेपाली लिङ्क जनवरी २५, २०२१

फाइल तस्विर : बेलायतमा बसोबासरत पूरा गोर्खाहरु

लण्डन । कोभिड १९ को महामारीबाट विश्वमै सबैभन्दा बढी प्रभावितमध्येको एक देश हो बेलायत । यहाँस्थित नेपाली समुदायमा समेत कोभिडले ठूलो असर पुरयाएको छ ।

‘कोभिड १९’ संक्रमणबाट बेलायतमा ठूलो संख्याका नेपालीहरुले ज्यान गुमाए । यकिन तथ्यांक नभएपनि हालसम्म मिडियामै सार्वजनिक भएअनुसार बेलायतमा ८० भन्दा बढी नेपालीको कोभिड संक्रमणपछि मृत्यु भएको छ । जसमध्ये अधिकांश पूर्व गोर्खा र उनीहरुका परिवारकै सदस्य छन् । कोभिडकै कारण मृत्यु भएपनि सार्वजनिक नगरिएका केसहरुको संख्या अझै धेरै रहेको आँकलन छ ।

कोरोना संक्रमणबाट अति प्रभावित तथा उच्च जोखिममा रहेका तीनै गोर्खाहरुले अहिले बेलायत सरकारले बाँडिरहेको कोभिड खोप पाउन नसकेको गुनासो बाहिरिएको छ ।

बेलायती पत्रिका द टेलिग्राफले पूर्व गोर्खाहरुले कोभिड खोपको अवसरबाट वञ्चित भएको भनी गुनासो गरेको खबर प्रकाशित गरेको छ । जसमा साउथ इष्ट लण्डनमा मात्रै ४ सय बढी गोर्खाहरु अहिले कोभिड खोपको लागि पालो पर्खेर बसिरहेको जनाइएको छ ।

कोभिड खोप वितरण गर्ने स्थानीय फार्मेसीमा पर्याप्त खोपको स्टक रहँदा रहँदै पनि एनएचएसबाट पत्र नआएका कारण गोर्खाहरुले खोप पाउन नसकेका हुन् । सरकारले ७० वर्ष माथिका मानिसहरुलाई पत्र पठाएर खोपका लागि बुकिंग गर्न आव्हान गर्ने कार्य शुरु गरेपनि सो प्रक्रिया सुस्त र ढिलो भएका कारण गोर्खाहरुको पखाई लम्बिएको हो ।

अहिले ‘कोभिड खोप’ वितरण गरिरहेको साउथ इष्ट लण्डनस्थित वुल्वीच लेट नाइट फार्मेसीका निर्देशक राजन कँडेलले आफ्नो फार्मेसीमा दैनिक ४ सय जनासम्मका लागि खोप दिन सक्ने क्षमता रहेपनि अहिले मात्रै ५० जनाको लागि बुकिंग आएको बताए । उनले भनेका छन्, ‘हाम्रै क्षेत्रमा गोर्खा समुदायका कयौं वृद्धवृद्धा खोपको पालो पर्खिएर बस्न बाध्य हुनुहुन्छ, यता हामीकहाँ भएको खोप फ्रिजमा थन्किएर बसेको छ ।’

ग्रीनवीच गोर्खा एक्स सर्भिसमेन एशोसिएसन (जिगेसा) का उपाध्यक्ष प्रेमजंग शाहीले पनि गोर्खाहरुले चाँडै खोप पाउने व्यवस्था गरिदिन एनएचएसलाई अपील गरेका छन् ।

‘हाम्रो नजिकै खोप थन्किएर बसिरहेको छ । तर, हामी कहिले एनएचएसबाट पत्र आउला र खोप पाउँला भनेर पर्खिरहेका छौं’, गोर्खाहरुको साझा भावना पोख्दै शाहीले भने ।

एनएचएसका एक प्रवक्ताले भने गत सातादेखि ७० वर्ष माथिका मानिसहरुलाई खोपका लागि बुकिंग गर्न भन्दै पत्र पठाउन लागिएकोमा सो उमेरमाथिका गोर्खाहरुलाई पनि पत्र गइरहेको बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू