बिहीबार, वैशाख १३, २०८१
13:33 | १८:१८

बेलायतमा एकैदिन २६ हजार बढी संक्रमित

एक सय ९१ जनाको मृत्यु

नेपाली लिङ्क अक्टोबर २१, २०२०

लन्डन । बेलायतमा कोरोना संक्रमितको संख्या पछिल्लो २४ घन्टामा २६ हजार नाघेको छ । यो संख्या विगत पाँच महिनायताकै सबैभन्दा बढी हो । २४ घण्टाभित्र थप २६ हजार ६८८ जना नयाँ कोरोना संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ ।

अघिल्लो दिनको तुलनामा संक्रमित संख्या पाँच हजारले बढी छ । सरकारी तथ्याँक अनुसार जुन पहिलो सातापछि संक्रमित हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो । यससंगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८९ हजार २२९ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा बेलायतमा थप एक सय ९१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृतक संख्या भने मंगलबारको तुलनमा कम छ । मंगलबार २ सय ४१ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । यो संख्या पनि गत जुन पछिकै सबैभन्दा बढी हो । बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४ हजार १५८ पुगेको सरकारी तथ्याँकमा उल्लेख छ ।

कोरोना संक्रमण र मृत्युदर बढेसँगै दैनिक अस्पताल भर्ना हुने बिरामीको संख्या पनि दिनहुँ बढ्दै गएको छ । हाल बेलायतका अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितको संख्या ६ हजार ४७९ रहेको छ भने ६ सय २९ जनाको भेन्टिलेटर बेडमा राखेर उपचार भैरहेको छ । कोरोना संक्रमणका कारण गएको २४ घन्टामा थप ९९६ जना अस्पताल भर्ना भएका छन् । यो संख्या अघिल्लो दिनको तुलनामा एक सय भन्दा बढी छ ।

वैज्ञानिकहरुले दिएको जानकारी अनुसार आगामी क्रिसमस र अंग्रेजी नयाँ वर्षमा कोरोना संक्रमण उत्कर्ष विन्दुमा पुग्ने बताइएको छ । संक्रमण नियन्त्रणका लागि सरकारले तीन तहको लकडाउन घोषणा गरिसकेको छ । जसअनुसार अहिले नर्दर्न आयरल्याण्ड, लिभरपुल, म्यानचेष्टर, वेल्स, ल्यांकाशायर तथा दक्षिणी योर्कशायर लगायत भूभाग कोरोना संक्रमणको उच्च जोखिम अन्तर्गत छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू