शुक्रबार, चैत १६, २०८०
05:32 | ११:१७

ट्रम्पद्वारा कोनेलाई सर्वोच्चको न्यायाधीशमा मनोनयन

रासस–एपी सेप्टेम्बर २७, २०२०

वासिङ्टन, ११ असोज–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षीहरुको अनुरोधलाई लत्याउँदै न्यायाधीश एमी कोने ब्यारेटलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि मनोनयन गरेका छन् । ब्यारेटको मनोनयनले आगामी राष्ट्रपतीय चुनावमा पुनः निर्वाचित हुन मद्दत गर्ने अपेक्षा ट्रम्पको छ ।

स्वर्गीय न्यायाधीश एन्टोनीन स्कालियाकी पूर्व सहयोगीका रुपमा समेत कार्य गरेकी ब्यारेटले आफू सर्वोच्च अदालतको न्यायाधीशका रुपमा मनोनयनमा परेकामा अति खुशी भएको बताउँदै आफू स्कालियाको न्यायिक दर्शनबाट प्रभावित समेत रहेको बताइन् ।

४८ वर्षीया ब्यारेट ह्वाइट हाउसको रोज गार्डेनमा आफ्ना पति र सात बालबच्चासहित उपस्थित थिइन् । अमेरिकी माथिल्लो सदन सिनेटले उक्त नियुक्तिलाई सदर गरेमा हालै निधन भएकी सुधारवादी न्यायाधीश रुथ बाडर गिन्सबर्गको स्थानमा ब्यारेट नियुक्त हुनेछिन् ।

रिपब्लीकन राष्ट्रपतिहरुले नियुक्त गरेकी उनी छैटौं न्यायाधीश हुनेछिन् भने राष्ट्रपति ट्रम्प एक्लैले तेस्रो नियुक्ती गर्नेछन् । अमेरिकी सर्वोच्च अदालतमा नौ जना न्यायाधीश हुने व्यवस्था छ ।

राष्ट्रपति ट्रम्पले ब्यारेट उच्चतम बौद्धिक र आचरण रहेको भन्दै प्रशंसा गरेका थिए । आफूले न्यायाधीशका लागि चयन गर्नुअघि ब्यारेटको व्यक्तिगत रेकर्ड राम्रोसँग हेरेको उनले बताए ।

रिपब्लीकन पार्टीका सिनेटरहरुले आगामी नोभेम्बर ३ अघि नै सुनुवाई प्रक्रिया पूरा गर्न आतुर रहेको बताइरहेका छन् । ब्यारेटको मनोनयन पूरा हुन सके सर्वोच्च अदालतको बहुमत दक्षिणपन्थी धारमा जाने भन्दै चौतर्फी विरोध र आशंका व्यक्त गरिएको छ ।

राष्ट्रपति ट्रम्पले भने ब्यारेटको मनोनयनलाई सिनेटले अनुमोदन गरे आफूलाई राष्ट्रपति निर्वाचित गर्न ठूलो मद्दत पुग्ने विश्वासमा छन् ।

सन् २०१६ मा रिपब्लीकन पार्टीको बहुमत रहेको सिनेटले तत्कालीन राष्ट्रपति बाराक ओबामाले प्रस्ताव गरेका न्यायाधीश मरिक गार्लान्डलाई चुनावी वर्ष भन्दै अनुमोदन गर्न अस्वीकार गरेको थियो । तर, यसपटक रिपब्लीकनको त्यही अडान फेरिएको छ । अर्थात् ४२ दिनभन्दा छोटो अवधिमा न्यायाधीश नियुक्तीलाई सदर गर्न सिनेटमा तयारी हुँदैछ ।

सिनेटमा बहुमत पार्टीका नेता मिच म्याककोनेलले सिनेटले आगामी सातामा ब्यारेटको नियुक्तीलाई सदर गर्ने दृढता व्यक्त गरेका छन् ।

डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले ट्रम्प र रिपब्लीकन पार्टीले बेइमानी गरेको आरोप लगाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू