शुक्रबार, वैशाख ७, २०८१
20:56 | ०१:४१

बेलायती कूटनीतिज्ञ मोरिसको औपचारिक सनाखत

नेपाली लिङ्क सेप्टेम्बर १६, २०२०

लण्डन । नेपालका लागि बेलायती पूर्व राजदूत रिचार्ड मोरिसको शव औपचारिक रुपमै सनाखत भएको छ । बेपत्ता भएको ४ महिनापछि दुई साताअघि फेला परेको मोरिसको शवको औपचारिक सनाखत गरिएको हेम्पसायर प्रहरीले जनाएको छ । 

आफ्नो घरबाट दौड्न निस्कने क्रममा मोरिस गत मे ६ तारिख बिहान देखि हराएका थिए । लामो खोजीपछि प्रहरीले गत ३१ अगस्तका दिन मोरिसको शव एलिस होल्ट जंगलमा भेटेको थियो ।

पूर्व राजदूत मोरिसको निधनबाट विक्षिप्त उनको परिवारले उनलाई एक माया गर्ने, बफादार बाबु एवम् श्रीमानको रुपमा सम्झिएका छन्।   

‘आफ्ना कूटनीतिक सहकर्मीहरुमाझ उहांको एक रमाइलो, दयालु र प्रतिभाशाली छवि थियो’, परिवारले भनेको छ, ‘आफ्नो ३० वर्ष लामो करियर उहांले पूर्ण इमान्दारी र निष्ठापूर्वक बिताउनुभयो ।’ 

मोरिसले नोभेम्बर २०१५ देखि नोभेम्बर २०१९ सम्म नेपालमा ब्रिटिश राजदूतको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए ।

ब्रिटिश सरकारले उनलाई फिजी गणतन्त्रका लागि गत जुलाइ महिनादेखि कार्यभार सम्हाल्ने गरि उच्चायुक्त तोकेको थियो ।

उनी श्रीमती र तीन बालबच्चाका साथमा बस्दै आएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू