बिहीबार, चैत १५, २०८०
10:41 | १६:२६

अक्सफोर्डको कोरोना खोप परीक्षण पुनः शुरु हुने

एक स्वयंसेवकमा प्रतिकूल प्रतिक्रिया देखिएपछि परीक्षण स्थगित गरिएको थियो

नेपाली लिङ्क सेप्टेम्बर १२, २०२०

लण्डन । ब्रिटेनमा एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेका कोरोना भाइरस विरुद्धको खोपको परीक्षण फेरि शुरु हुने भएको छ ।

‘यूके मेडिसिन एण्ड हेल्थ केयर प्रडक्ट्स रेगुलेटोरी एजेन्सी’ (एमएचआरए) को सिफारिसमा परीक्षण पुनः सुचारु गरिएको अक्सफोर्डले एक विज्ञप्तिमार्फत जनाएको छ ।

खोप परीक्षणमा सहभागी एकजना स्वयंसेवकमा संदेहास्पद प्रतिकूल प्रतिक्रिया देखिएपछि गत मंगलवार उक्त खोपको अन्तिम क्लिनिकल परीक्षण स्थगित गरिएको थियो ।  

उक्त खोप विश्वभर करिब १८ हजार जनालाई दिइसकिएको र खोप परीक्षणमा कोही सहभागी बिरामी हुने र प्रत्येक सहभागीको सुरक्षालाई ध्यानपूर्वक मुल्यांकन गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।

एस्ट्राजेनेकाले ‘एउटा व्याख्या गर्न नसकिने बिरामी’ का कारण अन्तिम क्लिनिकल परीक्षणमा ‘नियमित’ विराम गरिएको जनाएको थियो ।

ब्रिटेनमा परिक्षणमा सहभागी एकजना स्वयंसेवकमा ढाडको नशा सुनिने ‘ट्रान्सभर्स मिलिटिस’ देखिएको जनाइएको थियो । भाइरल संक्रमणका कारण हुने उक्त बिमारीले मानिसको मेरुदण्डमा असर पुराउन सक्दछ ।

उक्त खोपको अन्तिम अर्थात तेस्रो परीक्षणको नतिजा कस्तो आउंछ भनेर संसारभरि नै निकै उत्सुकताका साथ हेरिएको छ । उक्त खोपको तेश्रो परीक्षणमा संयुक्त राज्य अमेरिका, ब्रिटेन, ब्राजिल र दक्षिण अफ्रीकामा गरि झन्डै ३० हजार व्यक्ति सहभागी भइरहेका छन् । 

तेस्रो चरणमा हजारौं जनालाई खोप दिएर यसको प्रभावकारिता, साइड इफेक्टस् अनि मानवमा सुरक्षित भए/नभएको जाँचिन्छ र यो प्रकृया धेरै बर्ष जान सक्छ । संसारभरि विकास गरिंदै रहेका झन्डै १ दर्जन खोपमध्ये एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेको खोपलाई एउटा बलियो दावेदारको रुपमा हेरिएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू