शुक्रबार, चैत १६, २०८०
09:25 | १५:१०

बेलायतमा कोरोनाका मृतक बढ्दै, सरकारद्वारा कडा नीति लागू

नेपाली लिङ्क सेप्टेम्बर ९, २०२०

 

लन्डन । बेलायतमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गइरहेको छ । गत शनिबार संक्रमितको संख्या मे २२ यताकै सबैभन्दा बढी भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ । शनिबारको तथ्याँक अनुसार संक्रमित हुनेको संख्या २ हजार ९ सय ८८ पुगेको थियो ।

यसैगरी मृत्युदर पनि केहि दिन यताको तुलनामा मंगलबार दश गुणाले वृद्धि भएको छ । युरोपमा कोरोनाको संक्रमण बढ्न थालेसंगै बेलायतमा पनि कोरोनाको दोस्रो लहर आउन सक्ने प्रधानमन्त्री बोरिस जोन्सनले यसअघि नै चेतावनी दिएका थिए । स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले पनि कोरोना संक्रमित र मृतक संख्यामा भएको वृद्धिले दोस्रो लहरको संकेतको चेतावनी दिएका छन् ।
अहिले कोरोना संक्रमण अप्रत्यासित वृद्धि भएपछि यसलाई नियन्त्रण गर्ने सम्बन्धमा बुधबार प्रधानमन्त्री बोरिस जोन्सनले नयाँ नियमको रुपरेखा प्रस्तुत गर्ने भएका छन् । इंग्ल्याण्डमा यसअघि ३० जनासम्मको जमघट गर्न पाउने व्यवस्था भएकोमा आगामी सेप्टेम्बर १४ बाट बढीमा ६ जनासम्म मात्र जमघट गर्न पाइनेछ । तर स्कुल, कार्यकक्ष वा कोभिड सुरक्षित विवाह, अन्त्येष्टि र संगठित टीम खेलमा भने सो नियम लागू हुने छैन् ।

नयाँ नियमअनुसार ठूलो संख्यामा आउटडोर या इन्डोर कुनै पनि स्थानमा भेला हुन बन्देज गरिएको छ । यस नियमको उल्लंघन गर्नेलाई प्रहरीले तत्काल एक सय पाउण्ड जरिवाना गर्न सक्नेछ । तर पटक पटक नियम उल्लंघन गरेमा जरिवाना पनि बढीमा ३ हजार २ सय पाउण्डसम्म हुन सक्नेछ ।

हाउसहोल्ड र सपोर्ट बब्बललाई नयाँ नियमले असर गर्ने छैन् । यो नियम हाल इंग्ल्याण्डमा मात्र लागू हुनेछ । स्कटल्याण्ड, नर्दर्न आयरल्याण्ड र वेल्स्मा भने उनीहरु आफैंले आवश्यकता अनुसार नियम लागू गर्नेछन् । हाल स्कटल्यान्डमा छुट्टा छुट्टै पाँच परिवारका १५ जनासम्म जम्मा हुन् सक्नेछन् ।

वेल्स्मा ३० जनाको समूहमा एक आपसमा भेटघाट गर्न पाइने छ । यसैगरी नर्दर्न आयरल्याण्डमा पनि आउटडोर भेटघाट ३० जनाबाट १५ जनामा घटाइएको छ । यसका साथै इन्डोर मिटिंग, घर तथा पब लगायतका ठाउँका लागि त्यहाँ छुट्टाछुट्टै नियम छन् ।

इंग्ल्याण्डको जनजीवन सहज पार्दै कोरोना संक्रमण नियन्त्र गर्न प्रधानमन्त्रीले आज बुधबार विस्तृत रुपमा जानकारी गराउने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । कोरोना संक्रमितको संख्या अत्यधिक बढेपछि सरकारका चिफ मेडिकल अफिसर तथा चिफ साइन्टिफिक एड्भाइजरले तत्काल आवश्यक प्रक्रिया अपनाउन संयुक्त रुपमा सहमति जनाएका छन् ।

बेलायतमा कोरोना संक्रमणका कारण मंगलबारसम्म ४१ हजार ५ सय ८६ जनाको ज्यान गइसकेको छ । सोमबार तीन जनाको मृत्यु भएको थियो भने मंगलबार मृतक संख्या दश गुणाले बढेर ३२ पुगेको छ । हालसम्म बेलायतमा ३ लाख ५२ हजार ५ सय ६० जना संक्रमित भएका छन् ।

विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ लाख भन्दा बढी पुगेको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अडानोमले कोरोना महामारीका कारण थलिएको विश्वलाई विश्वलाई अर्को महामारीका लागि पनि तयारी अवस्थामा बस्न आह्वान गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू