मंगलबार, वैशाख ११, २०८१
06:32 | ११:१७

पीसीआर रिपोर्ट नहुँदा लन्डन एअरपोर्टबाट नेपाली धमाधम फिर्ता

आइतबार आधा दर्जन यात्रु फर्किए

नेपाली लिङ्क सेप्टेम्बर ६, २०२०

लन्डन । कोभिड महामारीपछि जारी लकडाउनका कारण बेलायतमा रोकिएर बसेका केही नेपाली पीसीआर टेष्ट समयमै नआउंदा लन्डन हिथ्रो एअरपोर्टबाटै फर्किन बाध्य भएका छन् । 

बन्दाबन्दीको पाँच महिनापछि सेप्टेम्बर १ तारिखदेखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णयले हर्षित बनेका नेपाली दुःखी हुँदै फर्कनु परेको छ ।

यात्रुले उडान भर्नु अघि कोरोना संक्रमण परीक्षण गरेको पीसीआर टेष्टको नेगेटिभ प्रमाण अनिवार्य पेश गर्नुपर्ने भएकोले समयमै पीसीआर नतिजा नहुँदा उनीहरु यात्रा गर्नबाट बन्चित भएका हुन् । यात्रुले उडान गर्न ७२ घण्टाभित्र कोरोना परिक्षण नेगेटिभ भएको प्रमाण पेश गर्नु पर्नेछ, अन्यथा उडान भर्न पाउने छैनन् ।

सामान्यतया बेलायतमा पीसीआर परिक्षण गरेको अर्को दिन र बढीमा ७२ घण्टाभित्र इमेल तथा फोन म्यासेजमार्फत रिजल्ट प्राप्त हुने बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले उल्लेख गरेको छ । ७२ घन्टाभित्र रिपोर्ट प्राप्त नभए कोरोना भाइरस टेष्टिङ कन्ट्याक्ट सेन्टरको 119 वा 0300 303 2713 (स्कटल्याण्ड) मा फोन गर्न एनएचएसले अनुरोध गरेको छ । यसरी प्राप्त हुने रिजल्ट तीन किसिमको हुन्छ- नेगेटिभ, पोजिटिभ र अस्पष्ट, बोर्डरलाइन वा अनिश्चित ।

तर, कतिपयको पीसीआर परीक्षणको परिणाम ५४ घन्टाभित्र पनि नआएका कारण यात्रु थप मारमा परेका छन् । लकडाउनका कारण विगत ६ महिनादेखि पटक-पटक टिकट सार्दै बेलायतमा नै बस्न बाध्य भएका आत्माराम शर्मा र उनकी श्रीमती बिष्णु शर्मा यस्तै मारमा परे ।

गत शुक्रबार नै पीसीआर परिक्षण गराएका शर्माको २४ घन्टासम्म पनि रिजल्ट नआएपछि शनिबार दिउँसो पुन परीक्षण गराएका थिए । त्यो पनि समयमै प्राप्त नहुँदा आइतबार दिउँसो ३ बजेको फ्लाइटमा लन्डन हिथ्रोबाट काठमाण्डौ उड्न विमानस्थल पुगेका शर्मा दम्पति घर फर्किन बाध्य भए ।

शर्माले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्- ‘सबै कुरा बेलायतमै ठिकठाक हुन्छ भन्ने होइन रहेछ । कयौ कुरा नेपालमै राम्रा पनि हुने रहेछन् । कोभिड टेस्टको नतिजा समयमा नआउंदा बिमानस्थलबाट फर्किनु परयो । नेपालमा भएको भए भनसुन गरेर भए नि नतिजा हात लाग्ने थियो । बोलिको सुनुवाई हुन्थ्यो नेपालमा, यहाँ न सुनुवाई न दया माया ।  यो कान नसुन्ने बहिरो देश हो ।’

शर्मा जस्तै अन्य आधा दर्जन यात्रु पनि पीसीआर टेष्ट उपलब्ध नभएकै कारण एअरपोर्टबाट फर्किएका छन् । 

लण्डनको एउटा ट्राभल एजेन्सी ट्राभल कन्सोलका निर्देशक बिराज भट्ट भन्छन्- ‘७२ घण्टाभित्र भन्ने समयसीमा निकै जटिल छ । कहिलेकाहिं १२ घन्टामा नै रिपोर्ट आउँछ, कहिले ७२ घन्टासम्म पनि लाग्ने भएकोले कति समय अगाडि परीक्षण गराउने भन्ने नै निस्चित नहुँदा समस्या हुने पाइएको छ ।’

पीसीआर टेष्ट नभएका यात्रु लिएर जान एअरलाइन्सलाई पनि ठूलो ‘रिस्क’ रहेको भट्टले बताए । यदि संक्रमण देखिएको खण्डमा सम्पूर्ण फ्लाइटका यात्रुलाई नै होटलमा राख्ने व्यवस्था एअरलाइन्सले गर्नुपर्ने भएकाले पीसीआर परिक्षण अनिवार्य भएको उनले बताए ।

नेपाल सरकारले पिसीआर परीक्षण सहज भएका मुलुकहरु भन्दै मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङकङ, अष्ट्रेलिया, अमेरिका, क्यानाडा र युरोपेली मुलुकमा नियमित उडान शुरु गरेको हो ।

उता, चार्टर्ड फ्लाइटमा भाडा महँगो भएको भन्दै सर्वत्र विरोध भएपनि यात्रुहरु नियमित उडानमा चार्टर्ड फ्लाइट भन्दा बढी भाडा तिर्न बाध्य छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू