बुधबार, वैशाख १२, २०८१
06:53 | ११:३८

हजारौंले मिस गर्नेछन् ‘गोर्खा कप’

मे २४ मा तय थियो १८ औं गोर्खाकप

नेपाली लिङ्क मे २१, २०२०

फाइल तस्विर

लन्डन । तमुधिं यूकेले वर्षेनी गर्ने बेलायतकै सबैभन्दा ठूलो नेपाली इभेन्ट ‘गोर्खा कप’ यही आइतबार (२४ मे) हुनुपर्ने थियो । तर, दुर्भाग्य कोभिड १९ का कारण आइपरेको विषम परिस्थितिले यसपटक इभेन्ट रद्द गर्न वाध्य भए आयोजक ।

गोर्खा कपको १८ औं संस्करण थियो यो । ‘तमुधिं यूकेको इतिहासमै यो दुःखद क्षण भएको छ’, कोभिड १९ कै कारण दिवगंत आफ्ना आजीवन सदस्य एवं सल्लाहकारको अन्त्येष्टी सकेर फर्किएका अध्यक्ष नन्दजंग गुरुङले नेपाली लिंकसंग भने, ‘आर्थिक क्षति भन्दा पनि बेलायतवासी नेपाली र खेलप्रेमीहरुले पर्वका रुपमा मनाउंदै आएको इभेन्ट रोकिंदा सबैलाई दुःखी तुल्याएको छ । आइतबार क्वीन्स एभिन्यू मैदानबाटै म प्रत्यक्ष लाइभमार्फत दर्शकहरुलाई सन्देश दिन आउने छु ।’

कम्तीमा १० हजारले अवलोकन गर्ने यूकेको सबैभन्दा ठूलो फुटबल प्रतियोगितामा बेलायतका प्राय शहरबाट ओइरिन्थे नेपाली । पाका मानिसलाई पुराना दौंतरी भेट्न, गफिन र तन्नेरीलाई ‘डेट’ गर्न उपयुक्त मानिन्छ गोर्खा कप । स्थानीय रसमोर बरो काउन्सिलले उक्त इभेन्टलाई आफ्नो वार्षिक क्यालेन्डरमै राखेको छ । इभेन्टकै कारण स्थानीय व्यापार समेत प्रवर्धन हुने ठानिन्छ ।

बेलायती नेपाली डायस्पोराको सबैभन्दा वृहत इभेन्ट गोर्खा कपले नेपाली युवा खेलाडीलाई अवसर प्रदान गर्नुका साथै नेपाली कला, संस्कृति, खाना, वेशभूषाको समेत प्रवर्धन गर्ने विश्वास आयोजकलाई छ । विगतमा खाना तथा हस्तकलाका स्टल, प्यारा डिस्प्ले, राफल ड्र, सांस्कृतिक प्रस्तुति मुख्य आकर्षण हुने गरेका थिए ।

भोलिपल्ट बैंक होलिडे पर्ने भएकाले तमुधिं यूकेले हरेक वर्ष मेको अन्तिम आइतबारमै गोर्खा कप गर्ने गर्छ । ‘यसलाई हामीले नेपाली समुदायबीच एकताको सन्देश दिने पर्वका रुपमा लिएका छौं’, अध्यक्ष गुरुङले भने, ‘यसपटक नेपालबाट समेत राष्ट्रिय टिम र भेट्रानको सहभागिता हुने योजना थियो । सबै चकनाचुर भयो ।’

गत वर्ष खेल आयोजनाबारे मिडियालाई जानकारी दिंदै आयोजक ।

इंग्ल्याण्ड सी टिम र नेपाली राष्ट्रिय टिमबीच हुने मैत्रीपूर्ण खेलमा सहभागी हुन आउंदा नेपाली टिमले गोर्खा कपमा खेल्ने तय गरेको थियो । गत वर्ष जस्तै हल्याण्ड, आइसल्याण्ड, बेल्जियम, आयरल्याण्ड, हङकङबाट समेत टिम आउने निश्चित थियो ।

गत वर्ष ३२ मेन र १० भेट्रान गरि ४२ टिमबीच प्रतिष्पर्धा भएको थियो । निवेदन अत्यधिक पर्ने भएपनि तमुधिं यूकेले सिमित समय र जनशक्तिका कारण सबै टिमलाई सहभागी गराउंदैन् ।

उता, तमुधिं यूकेले कोभिड १९ महामारीमा आफ्ना केही आजीवन सदस्य एवं सल्लाहकारहरु गुमाउनु परेको छ । संस्थाले तमुधिं लन्डन इकाइका वरिष्ठ उपाध्यक्ष चेतप्रसाद गुरुङ, आजीवन सदस्य लक्षिन गुरुङ, आजीवन सदस्य तथा सल्लाहकार नारायण कोन्मे गुरुङ आदिलाई गुमाएको हो । ‘जसले संस्था र समाजका लागि ज्यान दिनुभयो, उहांहरुको अन्त्येष्टीमा समेत सहभागी हुन नपाउंदा मन खिन्न हुने रहेछ’, अध्यक्ष गुरुङ भावविव्हल बने ।

इभेन्ट नहुंदा अहिले तमुधिं यूकेलाई आफ्नो भवन सम्हाल्न पनि कठिन भएको छ । ‘मोर्गेज फ्रि’ भइसकेपनि अन्य खर्च सदस्यहरुबाटै उठाएर चलाइएको छ । लकडाउनका कारण स्थानीय काउन्सिलले पनि केही हेरविचार गर्ने आश्वासन दिएको अध्यक्ष गुरुङ बताउंछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू