शुक्रबार, चैत १६, २०८०
11:39 | १७:२४

अमेरिकामा कोभिडविरोधी खोप परीक्षणको प्रारम्भिक नतिजा उत्साहजनक

नेपाली लिङ्क मे १९, २०२०

न्यूयोर्क । अमेरिकामा कोभिड १९ विरुद्धको एक खोप ( भ्याक्सिन) परीक्षणको प्रारम्भिक नतिजा निकै उत्साहजनक आएको छ । अमेरिकाको बायोटेक कम्पनी ‘मोडेर्ना’ ले पहिलो ‘क्लिनिकल टेस्ट’ को नतिजा निकै उत्साहजनक आएको सोमबार बताएको छ ।

उक्त कम्पनीले पहिलो चरणमा केही स्वयमसेवकहरुमा भ्याक्सिनको परीक्षण गरेको थियो । भ्याक्सिन दिइएका आठ जनामा इम्युन रेस्पोन्स उत्पादन गरेको बताइएको छ । एमआरएनए १२७३ नामको उक्त भ्याक्सिनले इम्युनको विकास गरेको पहिलो चरणको तथ्यांकमा देखिएको छ ।

मोडेर्नाका प्रमुख मेडिकल अफिसर टाल ज्याक्सले यो परीक्षणबाट कोभिड १९ रोगलाई निरोध गर्नसक्ने सम्भावना उजागर भएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त समाचारको स्वागत गरेका छन् ।

मोडेर्ना झण्डै ९ वर्ष अगाडि स्थापना गरिएको कम्पनी हो । कम्पनीले यो भ्याक्सिन सुरक्षित र राम्ररी सहन सकिने खालको रहेको बताएको छ । भ्याक्सिन लगाउँदा सामान्य रुपमा चसक्कमात्र हुने र लगाएको ठाउँमा सामान्य रातो हुने जनाइएको छ ।

यसबारे मोडेर्ना कम्पनीको वक्तव्यको पूर्णपाठ-

अमेरिकी सरकारले मोडेर्नाको भ्याक्सिन क्यान्डिडेट विकासका लागि झण्डै ५ सय मिलियन डलर लगानी गरेको छ । यो भ्याक्सिन एन्थोनी फौजी नेतृत्वको नेशनल इन्स्टीच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजसँगको सहकार्यमा विकास गरिदैछ ।

अहिलेसम्म १८ देखि ५५ वर्षसम्मका १५ बिरामीहरुलाई भ्याक्सिनका तीन भिन्न डोज दिइएको छ । प्रारम्भिक नतिजा उत्साहजनक रहेपनि पूरै नतिजा भने आएको छैन ।

दोश्रो चरणमा अगाडि बढ्नका लागि मोडेर्नाले एफडीएबाट स्वीकृतिको ‘ग्रिन सिग्नल’ पाइसकेको छ । जुन ६ सय जनामा परीक्षण गरिनेछ । तेश्रो चरणको परीक्षण निकै बृहत हुनेछ भने यो परीक्षण जुलाईमा सुरु हुनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी जनवरीसम्म आफूले ३ सय मिलियन भ्याक्सिनको डोज चाहेको बताएका छन् । ट्रम्प प्रशासनले त्यसका लागि मोडेर्ना, जोन्सन एण्ड जोन्सन र फ्रान्सको सानोफीलाई कोष उपलब्ध गराएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू