बुधबार, वैशाख १२, २०८१
07:11 | ११:५६

बेलायतमा १३ सय नेपाली संक्रमित, अधिकांश निको भइसके

संक्रमित ६४ जनाको मृत्यु

नेपाली लिङ्क मे १८, २०२०

लण्डन । एनआरएनए यूकेले कोरोना भाइरसको महामारीबाट प्रभावित बेलायतका नेपालीहरुसम्बन्धी पछिल्लो तथ्यांक सार्वजनिक गरेको छ ।

सोमबार जारी तथ्यांकले हालसम्म बेलायतमा झण्डै १३ सय जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएको देखाएको छ ।

अहिलेसम्म संक्रमित कुल १२ सय ९८ छन् । जसमध्ये करिब साढे ११ सय जना निको भइसकेका छन् ।

कोरोनाको संक्रमणका कारण उपचारका लागि बेलायतको अस्पतालमा भर्ना हुने नेपालीको जम्मा संख्या १ सय ४० छ । जसमध्ये ६४ जनाको उपचारकै क्रममा मृत्यु भएको छ ।

१५ जना संक्रमित नेपाली अझै पनि उपचारका लागि अस्पतालमै छन् भने बाँकी ६१ जना निको भएर घर फर्किएका छन् ।

संक्रमणपछि घरमै आइसोलेसनमा बसेकाहरुको संख्या ११ सय ५८ छ । उनीहरुमध्ये १ हजार ८५ जना निको भइसकेका छन् भने ७३ जना अहिले पनि आइसोलेसनमै छन् ।

एनआरएनए यूकेले सञ्चालन गरेको हेल्पलाइन र देशैभर छरिएका आफ्नो कार्यसमितिका पदाधिकारीको सहयोगमा तथ्यांक संकलन गरेको हेल्पलाइनका संयोजक एवम् एनआरएनए यूके सचिव जीत रानाभाटले बताए ।

तथ्यांकमा सहयोग वितरण

एनआरएनए यूकेले कोरोना महामारीको कारण विभिन्न समस्यामा परेका बेलायतस्थित नेपालीहरुको लागि विभिन्न राहत तथा सहयोग वितरणको अभियान जारी रहेको बताएको छ ।

अहिलेसम्म करिब ६ हजार जनालाई मास्क, स्यानिटाइजर, पञ्जासहितको स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । लण्डन र आसपासका शहरहरुसंगै मिडल्याण्ड, वेल्स, स्कटल्याण्ड र नर्दन आयरल्याण्डमा समेत स्वास्थ्य सुरक्षा सामग्री बाँडिएको बताइएको छ ।

त्यसैगरी, एनआरएनए यूकेले हालसम्म बेलायतस्थित ४३ जना नेपाली विद्यार्थीलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको बताएको छ ।

हेल्पलाइनमार्फत संस्थाको सम्पर्कमा आउने १ सय ६७ विद्यार्थीमध्ये अन्य १३ जनालाई खाने तथा बस्ने व्यवस्था मिलाइएको, २७ जनालाई रोजगारीका लागि सहयोग गरिएको, १ सय ४ जनालाई आवश्यक परामर्श दिइएको र ११ जनालाई एनआई, हार्डसिप फण्ड लगायतको आवेदन गर्न सहायता गरिएको एनआरएनए यूकेले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू