शनिबार, वैशाख ८, २०८१
00:17 | ०५:०२

नेपालमा लकडाउन ज्येष्ठ २० सम्म लम्ब्याउने निर्णय

नेपाली लिङ्क मे १७, २०२०

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठक । तस्वीर- चन्द्रकला क्षेत्री-रासस

काठमाडौं । नेपालमा कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउन ज्येष्ठ २० सम्मका लागि थप हुने भएको छ । आइतबार साँझ सम्पन्न मन्त्रीपरिषद बैठकले लकडाउन दुई हप्ता थप गर्दै ज्येष्ठ २० सम्म लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि २ साताको लागि थपिएको लकडाउन यही ज्येष्ठ ५ गते सोमबार सकिंदै थियो ।

यसअघि कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले बन्दाबन्दी (लकडाउन) को समय थप गर्न सरकारलाई सिफारिस गरेको थियो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको उक्त समितिको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बसेको बैठकले वर्तमान अवस्थामा बन्दाबन्दी नै प्रभावकारी माध्यम भएकाले बढाउनुपर्ने निष्कर्षसहित सरकारलाई सिफारिस गरेको थियो ।

समितिको निर्णयबारे जानकारी दिँदै समितिका सदस्य–सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले कोभिड–१९ कल्पनै नहुने गरी बढ्ने अवस्था रहेकामा बन्दाबन्दीकै कारण सङ्क्रमण रोक्न सफल भएकाले थप गर्नु नै उपयुक्त र सही छ भन्ने निष्कर्ष समितिको रहेको बताए ।

नेपालमा पछिल्ला दिनमा कोरोना भाइरस संक्रमणका नयाँ केस तीव्र दरमा बढ्दै गएको र दुई जनाको मृत्यु भइसकेको अवस्थामा लकडाउन बढाउने निर्णय आएको छ ।

यसअघि नेपालमा चैत ११ बाट शुरु भएको लकडाउनलाई सरकारले पटकपटक म्याद थप गर्दै आएको थियो ।

हालसम्म नेपालभरमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु हुनाका साथै २ सय ९५ जना संक्रमित भएका छन् । निको भएर उपचारपछि घर फर्किनेको संख्या ३६ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू