शुक्रबार, चैत १६, २०८०
09:55 | १५:४०

एभरेष्ट इन ग्रुपबाट स्वास्थ्यकर्मीलाई खाना, वृद्धवृद्धाका लागि किनमेल

नेपाली लिङ्क मे १४, २०२०

लण्डन । बेलायतका विभिन्न शहरहरुमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएको ‘एभरेष्ट इन ग्रुप’ ले कोभिड १९ विरुद्ध खटिएका स्वास्थ्यकर्मीहरुलाई निशुल्क खाना वितरण गरेको छ ।

लण्डनको ब्ल्याकहिथ, केन्टको आसफोर्ड, हाइथ र स्कटल्याण्डस्थित आफ्नो ४ वटा शाखाबाट अहिलेसम्म करिब १ हजार जना ‘फ्रन्टलाइनर’ लाई खाना वितरण गरिएको ग्रुपका निर्देशक यादव भण्डारीले बताए ।

स्थानीय अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मी, केयर होममा रहेका वृद्धवृद्धा, काउन्सिलमा कार्यरत कर्मचारी लगायतलाई ‘एभरेष्ट इन’ ले खाना वितरण गर्दै आएको छ । केयर होमहरुमा रहेका अशक्त वृद्धवृद्धालाई खानेकुरा र आवश्यक सामग्री किनमेल गरेर पुर्याउने काम समेत गर्दै आएको निर्देशक भण्डारीले बताए ।

विहीबार साउथ ईष्ट लण्डनको ‘क्वीन एलिजावेथ अस्पताल’ मा कार्यरत ५० जना स्वास्थ्यकर्मीलाई एभरेष्ट इनबाट खाना वितरण गरियो ।

‘एभरेष्ट इन ग्रुप’ का निर्देशकद्धय पशुपति भण्डारी र यादव भण्डारी, ब्ल्याकहिथ शाखाका हेड सेफ राम भण्डारी, आयुष भण्डारीसहितको टिमले ५० जना स्वास्थ्यकर्मीलाई पुग्ने खाना अस्पतालमै पुर्याएर प्रदान गरेको थियो ।

यसअघि ‘एभरेष्ट इन’ ले विश्व नर्सिङ दिवसको अवसर पारेर गत मंगलबार मात्रै सोहि अस्पतालमा कार्यरत ३५ जना स्वास्थ्यकर्मीलाई खाना वितरण गरेको थियो ।

क्वीन एलिजावेथ अस्पतालमा ‘स्पेसलिस्ट नर्स’ का रुपमा कार्यरत नेप्लिज नर्सिङ एशोसिएसन यूकेकी पूर्व अध्यक्ष सुशिला कार्कीले महामारीका बेला ‘एभरेष्ट इन ग्रुप’ ले प्रदान गरेको स्नेह र हौसलाप्रति खुशी व्यक्त गरिन् । ‘एभरेष्ट इन’ सहित अन्य नेपाली व्यवसायी तथा समुदायबाट देखाइएको सद्भावका लागि अस्पतालका सबै कर्मचारी कृतज्ञ रहेको उनले सुनाइन् ।

‘एभरेष्ट इन ग्रुप’ का निर्देशक एवम् एनआरएनए आइसिसी मानार्थ सदस्य पशुपति भण्डारीले महामारीविरुद्ध अग्रमोर्चामा खटिनेहरुप्रति सम्मान व्यक्त गर्न खोजिएको बताए ।

‘अहिलेको अफ्ठेरो समयमा पनि आफ्नै स्वास्थ्यको जोखिम मोलेर समुदाय र देशको सेवामा खटिनेप्रति हामी सच्चा सम्मान व्यक्त गर्न चाहन्छौं’, निर्देशक भण्डारीले भने, ‘उनीहरुको योगदानलाई हौसला र धन्यवादस्वरुप हामीले सक्दो सहयोगको कोशिस गरेका हौं ।’

महामारीको बेला ‘एभरेष्ट इन’ ले गर्दै आएको सहयोगका लागि स्थानीय मेयर समेतले सन्देश पठाएर धन्यवाद ज्ञापन गरेको निर्देशक यादव भण्डारीले सुनाए ।

बेलायतमा नेपालीहरुद्धारा सञ्चालित रेष्टुरेन्टमध्येमै लोकप्रिय र स्थापित छ ‘एभरेष्ट इन’ । लकडाउनपछि केहि साता बन्द गरिएका यो ग्रुपका रेष्टुरेन्टहरुबाट अहिले भने आवश्यक उच्च सतर्कतासहित ‘टेकवे’ सेवा उपलब्ध गराइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू