बुधबार, वैशाख १२, २०८१
09:22 | १४:०७

बिरामी न्यून भएपछि लण्डनको कोरोना अस्पताल बन्द गर्ने तयारी

केहि महिनासम्म 'स्ट्याण्डबाई' मा राखिने

नेपाली लिङ्क मे ४, २०२०

अप्रिल ३ तारिखदेखि सञ्चालनमा आएको यो अस्पतालले शुरुका तीन सातामा मात्रै ५१ बिरामीको उपचार गरेको छ ।

लण्डन । कोरोना भाइरस संक्रमण भएका बिरामीहरुको उपचारका लागि भनेर स्थापित लण्डनको ‘एनएचएस नाइटिंगेल अस्पताल’ लाई अब बन्द राख्ने तयारी गरिएको छ ।

पूर्वी लण्डनको एक्सेलस्थित उक्त अस्पतालमा नयाँ बिरामी भर्ना नगर्ने तर आउँदो दिनमा संक्रमण फेरि बढ्दै गएको अवस्थालाई भने ‘तम्तयार’ राखिने बताइएको छ ।

लण्डनमा कोरोना संक्रमणका नयाँ केसका साथै अस्पतालहरुमा बिरामीको चाप पनि बिस्तारै घट्दै गएका बेला कोरोना संक्रमितकै उपचारका लागि सञ्चालनमा ल्याइएको अस्पतालमा नयाँ भर्ना नगरिने खबर आएको हो ।

अस्पतालका ‘चिफ एक्जुकेटिभ’ ले सोमबार बिहान अस्पतालमा कार्यरत स्टाफहरुलाई इमेल पठाएर आवश्यकताअनुसार जुनसुकै बेला फेरि सञ्चालन गर्न सकिने गरी आउँदो केहि महिनासम्मको लागि ‘स्ट्याण्डबाई’ मा राख्ने योजनाबारे जानकारी गराएका थिए ।

यसअघि गत अप्रिल ३ तारिखदेखि सञ्चालनमा आएको यो अस्पतालले शुरुका तीन सातामा मात्रै ५१ बिरामीको उपचार गरेको छ । यो अस्पतालमा ४ हजार शैयासम्मको क्षमता छ ।

अस्पतालमा भर्ना हुन आउने बिरामीहरुको संख्या अपेक्षाभन्दा निकै कम भएका कारण अब अस्पताललाई ‘स्टयाण्डबाई’ मा राख्न लागिएको बुझिएको छ । अहिले अस्पतालमा रहेका केहि बिरामीहरुलाई पनि आउँदो केहि दिनभित्रै लण्डनका अन्य अस्पतालमा सार्ने योजना छ ।

‘भिडियो कन्फरेन्स’ मार्फत युवराज चार्ल्सले उद्घाटन गरेको यो अस्पतालको निर्माण केहि दिनमै पूरा गरिएको थियो । बेलायती सेनामा कार्यरत गोर्खा सैनिकहरु समेत अस्पतालको निर्माण कार्यमा खटिएका थिए ।

बेलायत सरकारले कोरोना महामारीलाई ध्यानमा राख्दै लण्डनसहित बेलायतका विभिन्न क्षेत्रमा ५ वटा विशेष नाइटिंगेल अस्पताल सञ्चालनमा ल्याएको थियो ।

यी सबै असपतालमा भर्ना हुने बिरामीहरुको संख्या निकै न्यून रहेको बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू