शुक्रबार, वैशाख १४, २०८१
01:59 | ०६:४४

भारतमा लकडाउन दुई साता थप

रासस-एएनआई मे १, २०२०

नयाँ दिल्ली । भारतमा लागू भइरहेको ‘लकडाउन’ को अवधि फेरी दुई हप्ता थप गरिएको छ ।

भारतको केन्द्रीय गृह मन्त्रालयले यही मे ४ देखि गणना हुनेगरी थप दुई हप्ता ‘लकडाउन’ लम्ब्याउने निर्णय भएको शुक्रबार घोषणा गरेको हो ।

भारतमा यसअघि घोषणा गरिएको ‘लकडाउन’ को अवधि यही मे ३ तारिखका दिन सकिने तय भएको थियो ।

प्रकोप व्यवस्थापन ऐन २००५ अनुसार ‘लकडाउन’ को अवधि बढाउने निर्णय भएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

सरोकारवाला र विज्ञहरुसँग गरिएको छलफलमा लकडाउन बढाउनुको विकल्प नरहेको सुझाव आएपछि सरकारले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

‘लकडाउन’ को परिणाम अहिलेसम्म सन्तोषजनक देखिएको र ‘लकडाउन’ अन्त्य गरेमा कोरोनाभाइरसको संक्रमण व्यापक रुपमा फैलिन सक्ने अधिकांशको निश्कर्ष रहको बताइएको छ ।

सरकारले ‘लकडाउन’ लम्ब्याउने निर्णय गरेपनि केही खुकुलो भने बनाएको छ । देशलाई कोरोनाभाइरसको संक्रमणको अवस्थाका आधारमा विभिन्न तहमा विभाजन गरेर त्यसैका आधारमा ‘लकडाउन’को खुकुलो अवस्थालाई पनि निर्धारण गरिएको अधिकारीहरुको भनाइ छ ।

भारतमा केन्द्रीय सरकारले कोरोनाभाइरसको संक्रमणबाट अति प्रभावित, कम प्रभावित र प्रभाव नरहेको क्षेत्र भनेर वर्गिकरण गरेको छ ।

निश्चित क्षेत्रमा दैनिक उपभोग्य अत्यावश्यक सेवाका पसलहरु खोल्न दिने, साईकल, रिक्सा, अटोरिक्सा, ट्याक्सी लगायत साना सवारी साधनहरु चल्न दिनेलगायतका व्यवस्थाहरु पनि ‘लकडाउन’ लम्ब्याउने निर्णयमा उल्लेख गरिएको छ ।

शुक्रबारसम्म भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या ३५ हजार ४३ भन्दा बढी भएको छ भने मृत्यु हुनेको संख्या एक हजार १४७ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मात्रै मृत्यु हुनेको संख्या ७७ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू