बिहीबार, वैशाख ६, २०८१
15:16 | २०:०१

बिदामा नेपाल गएकालाई कोरिया ल्याइने

रासस अप्रिल २८, २०२०

सउल । कोरोना महामारीअघि बिदा लिएर दक्षिण कोरियाबाट नेपाल पुगेका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीलाई नेपाल एयरलाइन्सको ‘चार्टर्ड’ विमानमार्फत कोरिया फर्काउन सहयोग गरिने भएको छ ।

एनआरएनए केन्द्रीय कमिटी र नेपाल एयरलान्सबीच सोमबार यसबारे एक सम्झौता भएको एनआरएनए कोरियाका महासचिव डा विमल सुवेदीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा अप्रिल ३० तारिखमा उडान हुनेछ । जसमा भिसा सकिन लागेकालाई प्रथमिकता दिइ उडाइनेछ ।

विशेषगरी ‘लकडाउन’ हुनुअघि दक्षिण कोरियाबाट छोटो अवधिको बिदा लिएर नेपाल पुगेका नेपाली श्रमिक समयमै फर्किन नसक्दा भिसा नै रद्द हुने हो कि भन्ने चिन्ता थपिएको थियो । आफूले काम गरिरहेको कम्पनीले छिटो फर्कन भनिरहने तर ‘लकडाउन’का कारण फर्कन नसक्दा नेपालमा रहेका नेपाली श्रमिक चिन्तित थिए ।

जसका लागि सहयोग गर्न यहाँको एनआरएनए, सामाजिक तथा व्यवसायी संगठनहरूले नेपाल सरकारलाई अनुरोध गरेका थिए । अनुरोधबमोजिम नेपाल सरकारले मन्त्रिपरिषद्को बैठकबाटै ‘लकडाउन’ अवधिमा भए पनि कोरिया सरकारसँग छलफल गरी फर्कनुपर्ने नेपालीलाई कोरिया फर्कन मिल्ने निर्णय गरेको थियो । निर्णयपश्चात एनआरएनए कोरियाले नेपाल एयरलाइन्ससँग विमान ‘चार्टर्ड’ गर्ने सम्झौता गरेको हो ।

यसरी फर्किने श्रमिकले टिकटवापत एक लाख १३ हजार ७ सय ७५ रुपैँया अप्रिल २९ तारिख दिउँसो २ बजेभित्र बुझाउनुपर्ने हुन्छ । कोरिया फर्केपछि अनिवार्यरूपमा १४ दिनसम्म ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुपर्छ ।

‘सेल्फ क्वारेन्टाइन’ को व्यवस्था गर्न नसक्नेहरूले ‘इन्छन एयरपोर्ट’ को ‘हेल्प डेस्क’ मा सम्पर्क गरी दिनको एक लाख कोरियन वन तिरेर ‘क्वारेन्टाइन’को सुविधा लिनसक्ने पनि बताइएको छ । कुनै समस्या वा जानकारी लिनुपर्ने भए एनआरएनए कोरियाका प्रतिनिधिसँग सम्पर्क गर्न पनि भनिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू